दसौं राष्ट्रिय खेलकुद

गण्डकीमा खेलाडी छनोटको विवाद के हो ?

सञ्जय रानाभाट २०८१ असार २२ गते ११:३४

सञ्जय रानाभाट, पोखरा ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तोकेको समय परिवर्तन नभए आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म सुर्खेतमा हुनेछ । यद्यपि राखेपले हालसम्म प्रतियोगितामा कतिवटा खेल खेलाउने र कहिलेसम्म खेलाडी छनोट गरिसक्ने निर्णय गरेको छैन ।

Advertisement


राखेपले दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गरिसक्ने मितिबारे प्रदेशहरुलाई कुनै सर्कुलर गरेको छैन । तर, गण्डकी प्रदेशमा भने खेलाडी छनोटको विषयलाई लिएर विवाद चर्किएको छ । गण्डकी प्रदेश खेलकुद परिषद्ले धमाधम खेलाडी छनोट गरेको भन्दै स्थानीय खेलकुद विकास समिति, खेल संघ र खेलाडीले विरोध गरेका हुन् । उनीहरुले प्रदेश खेलकुद परिषद्प्रति लक्ष्य गर्दै समाजिक सञ्चालमा स्टाटस लेखेर विरोध गरेका छन् ।


खेलाडी संघ कास्कीका अध्यक्ष राजन पौडेलले स्थानीय स्तरबाट खेलाडी नल्याई सीधै छनोट गरिएको भन्दै विरोध गरेका छन् । ‘राखेपले कुन/कुन खेल समावेश गर्ने भनेर निर्णय नगर्दै गण्डकी प्रदेश खेलकुद परिषदले छनोट खेलहरु सञ्चालन गर्दै छ । कि प्रदेशमध्ये प्रथम हुन खोजेको हो, गण्डकी ?,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘स्थानिय तह हुँदै जिल्ला छनोट हुने प्रावधान खारेज भएको हो कि नयाँ संरचनामा गर्न नपर्ने हो ?’


उनीजस्तै अन्य विभिन्न विधाका खेल संघ र खेलाडीहरुले विरोध गरेका हुन् । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुदीप आचार्यले प्रदेश खेलकुद परिषद्को पछिल्लो गतिविधिप्रति अब सबै खेलाडीहरुलाई रंगशालामा विरोध/हडताल गर्नुको विकल्प नभएको बताए । उनले खेलकुदमा मनमौजी शासन भइरहेको बताएका छन् ।

‘हिजो नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा सहभागी भएकालाई मात्र छनोट गरेर तीनै पूराना अनुहारलाई दोहोर्‍याउने काम भएको छ । यो समयमा पालिकामा पुगेर प्रतिस्पर्धा गराएर नयाँ खेलाडीलाई अवसर दिने हो । तर, कुनै सूचना दिइएको छैन । उनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने भन्ने हुन्छ र ? नयाँलाई अबसर कहिले दिन ?,’ उनले भने ।

Advertisement

प्रतिस्पर्धाबाट बाहिर राखेको र कुनै जानकारी नदिइएको भन्दै खेलाडीहरु असन्तुष्ट


नवौं राष्ट्रिय खेलकुदमा स्क्वासका स्वर्ण पदक विजेता अमृत थापा काम विशेषले अहिले विदेशमा छन् । उनलाई समेत जानकारी नदिई प्रदेश खेलकुद परिषद्ले नयाँ खेलाडी छनोट गरेको छ । स्वर्णपदक विजेता उनलाई पनि प्रतिस्पर्धाबाट बाहिर राखेको र कुनै जानकारी नदिइएको भन्दै खेलाडीहरु असन्तुष्ट जनाएका छन् ।

‘जानकारी दिनुपर्ने मान्छेलाई पनि जानकारी दिइएको छैन । कम्तीमा खेलाडीलाई जानकारी दिनुपर्छ नि । त्यो नयाँ पूराना सबै हुनुपर्‍यो । विदेश भएको खेलाडी प्रतिस्पर्धामा भाग लिन नेपाल आउन सक्छ भन्ने सामान्य जानकारी पनि लिइएको छैन । आफ्नो स्वार्थ अनुसार चलेको छ । समिति बनाएर भत्ता कसरी लिनेबाहेक अरु ध्यान प्रदेश परिषद्ले सोचेको छैन,’ आचार्यले भने ।


कास्की जिल्ला फुटबल संघका पूर्वअध्यक्ष धरम लामिछानेले आफूले गण्डकीलाई पटकपटक मेडल र पदक दिलाए पनि जिल्ला खेलकुद संघ प्रदेश खेलकुद संघबाट केही हौसला नपाएको बताए । उनले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलमा सोझै प्रदेश परिषद्ले जवर्जस्ती खेलाडी छनोट गरेको भन्दै विरोध गरेका छन् ।

पोखरा रंगशालामा आउने खेलाडी साथीलाई यस्तो हर्कतको विरोध गर्न अनुरोध उनको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले आफूहरुलाई अहिलेसम्म खेलाडी छनोट गर्न कुनै सूचना नभएको बताए । उनले संघीयता लागू भएपनि खेलाडीको क्षेत्रमा यस्तो नभएको बताए ।


‘पोखरा महानगरमा कति नयाँ खेलाडी उत्पादन भए । पूराना कति सक्रिय हुनुहुन्छ । पहिल खेलाडी प्रतिस्पर्धा गर्ने थलो त पालिका होला नि । तर, अहिलेसम्म प्रदेश परिषद् र जिल्ला खेलकुद समितिले पोखरा महानगरपालिकालाई खेलाडी छनोटको विषय केही भनेको छैन,’ उनले भने ।

गण्डकी प्रदेश खेलकुद परिषद्ले भने अहिले खेलाडीलाई ‘नोटिस’मा मात्र राख्न छनोट गरेको जनाएको छ । प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले अहिले भइरहेका प्रतियोगिताहरु केबल खेलाडीलाई नोटस गर्ने र प्रदेशको पूर्वतयारी मात्र भएको बताए । ‘अहिले विभिन्न प्रतियोगिता गरेर भइरहेको छनोट केबल गण्डकी प्रदेशको पूर्व तयारी मात्र हो । यो छनोट नै अन्तिम छनोट होइन,’ उनले भने । खेल संघ र जिल्ला खेलकुद विकास समितिहरुलाई गरिएको परिपत्रबाट अहिले खेलाडी छनोट भएको उनको भनाइ छ ।


‘अहिले तोकिएकै मितिमा खेल हुन्छ भन्ने पनि छैन । केन्द्रबाट सर्कुलर आएपछि फेरि छनोट त भइहाल्छ,’ सदस्य सचिव शर्माले भने, ‘अहिले कोहीँ खेलाडी विदेश हुनुनुहुन्छ होला । कोही बिरामी हुनुहुन्छ होला । उहाँहरुलाई समावेश गराइन्छ । अहिले राम्रो खेलाडी कति छन् भनेर छनोट गरिएको हो ।’


प्रदेश परिषद्ले स्थानीय पालिकालाई खबर गर्ने भनेर कतै उल्लेख नभएको पनि उनले सुनाए । ‘हामीले जिल्लालाई खबर गर्ने हो । स्थानीय तहलाई खबर गर्ने भन्ने कहिँकतै उल्लेख छैन,’ उनले भने, ‘साथीहरुले विरोध गरेपछि परिषद्को समीक्षा बैठक पनि बोलाएको छु ।’


कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवहाक अध्यक्ष केशव थापाले खेलाडी छनोटको विषय आफूलाई थाहा नभएको जानकारी दिए । ‘प्रदेश परिषद्ले सीघै विभिन्न विधाका संघलाई नै खेलाडी छनोटको विषय भनेको छ । जिल्ला खेलकुद विकास समितिलाई थाहा छैन । केही सूचना आएको छैन,’ उनले भने ।


पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका बेला खेलाडी छनोट दुई चरणमा गरिएको थियो । विभिन्न चरणबाट सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्राइयाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलाडी छनोट भएका थिए ।


पोखरामै भएको नवौं राष्ट्रिय खेलकुद पोखरा रंगशालासहित प्रदेशका ८ जिल्लामा ३६ खेल ९६ इभेन्ट भएका थिए । सात प्रदेशमध्ये गण्डकी उत्कृष्ट भएको थियो । गण्डकीले ३२ स्वर्णसहित १२० पदक जितेको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया