नैतिकता सिकाउन पोखरा–१२ का विद्यालयमा ‘संस्कार शिक्षा’
कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुराकै ज्ञानको कमी

पोखरा ।
‘अहिलेका बच्चाले आफ्ना बुवा–आमालाई ड्याडी–मम्मी भन्छन्, हजुरबुवा हजुरआमालाई बा–आमा भन्छन् । हजुरबुवा, हजुरआमा शब्द नै अहिलेका बाबुननीले उच्चारण गर्दैनन्,’ पोखरा–१२ का दिवाकर बास्तोला सुनाउँछन्, ‘पढ्न जानेरमात्र हुँदैन । अहिलेका बच्चालाई सबैभन्दा बढी पढाउनुपर्ने विषय नै नैतिक शिक्षा हो । जसको अभावमा नयाँ पुस्ता संस्कृति, समाज र नैतिकताबाट टाढा जाँदै छ ।’
यो चिन्ता दिवाकरकोमात्रै होइन, पोखरा–१२ कै बाबुराम अधिकारीको पनि छ । समाज र परिवारसँग बच्चाहरुले गर्ने व्यवहार उसले पाएको नैतिक शिक्षाको उपज भएको उनी बताउँछन् । नमस्कार गर्नेदेखि मर्यादाअनुसार आशीर्वाद लिनेसम्मको संस्कार पनि अहिलेको पुस्तामा नभएको चिन्ता अभिभावकहरु छ ।
अभिभावकै चाहानाअनुसार पोखरा महानगरपालिका वडा नम्बर १२ ले विद्यालयमा ‘संस्कार शिक्षा’ को पढाउने नीति लिएको छ । पोखरा–१२ को शीतलादेवी र अमरसिंह माविमा संस्कार शिक्षा पठनपाठन नै सुरु भएको छ भने निजी विद्यालयहरुले संस्कार शिक्षा पढाउन रुचि देखाएका छन् । कक्षा ६, ७ र ११ का लागि थप विषयका रुपमा ‘संस्कार शिक्षा’ पढाउन लागिएको हो ।
‘अहिलेका बच्चामा कोसँग कस्तो व्यवहार गर्ने भन्ने कुराकै ज्ञानको कमी देखिन्छ । हाम्रा सम्बन्ध र सामाजिक मूल्य मान्यताका महत्व नै सिकाउनुपर्ने देखियो । संस्कृतदेखि संस्कारसम्मका ज्ञान विद्यालय शिक्षाले दिन सकिरहेको छैन,’ पोखरा–१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले भने, ‘त्यसैले हामीले पोखरामै पहिलो पटक विद्यालयमै संस्कार शिक्षा पढाउने नीति लिएका हौं ।’
डा. स्वामी केशवानन्दले तयार पारेको संस्कार शिक्षा पाठ्यपुस्तकमा संस्कृतका श्लोक, विभिन्न मन्त्रदेखि चाडपर्वका महत्वदेखि मानवीय मूल्यमान्यतासमेत समावेस गरिएको छ । नीतिगत रुपमै सबै सामुदायिक र निजी विद्यालयमा पनि संस्कार शिक्षा सुरु गर्न स्थानीयले माग गरेका छन् ।
पोखरा–१२ ले शुक्रबार गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले सबै विद्यालयमा संस्कार शिक्षालाई अनिवार्य गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न माग गरेका हुन् । पोखरा–१२ का डिरामराम लामिछानेले भने, ‘समाज, संस्कृति, रहनसहनलाई कसरी जीवनोपयोगी बनाउने, संस्कार के हो र यसको महत्व बुझाउने गरी पाठ्यक्रमको विकास गरौं र सबै विद्यालयमा अनिवार्य गरौं ।’
वडाध्यक्ष बास्तोलाले सबै सामुदायिक विद्यालयमा अहिले संस्कार शिक्षा पढाउन थालिएको र क्रमश सबै निजी विद्यालयमा पनि पठनपाठन हुने बताए । नागरिकसँग प्रत्यक्ष जोडिएको शिक्षा र स्वास्थ्यलाई वडाको तहबाट सुधार्ने अभियानमा आफू रहेको बास्तोलाले सुनाए । निजी तथा सामुदायिक विद्यालयमा ३५ प्रतिशतसम्म छात्रवृत्ति दिलाइएको, सितलादेवी विद्यालयमा स्मार्ट बोर्ड जडान गरी प्रविधिको माध्यमबाट पठनपाठन गर्ने कक्षाकोठा बनाइएको उनले बताए ।
अमरसिंह माविमा आइसिटी क्लासका लागि प्रोजेक्टर जडान गरेको वडाले सूचना तथा प्रविधिको पढाइ गर्ने विद्यार्थीलाई इन्फरमेटिक कलेजमा ५० प्रतिशत छात्रवृति प्रदान गरेको हो ।
पोखरा–१२ मा स्थायी रुपमा बसोबास गर्ने विद्यार्थीका परिवारलाई निशुल्क स्वास्थ्य विमान गरिएको बास्तोलाले सुनाए । अमरसिंह माविअन्तर्गतको जग्गा सस्तो मूल्यमा भाडामा दिइएकोमा खारेज गरेर सार्वजनिक जग्गा संरक्षणको प्रयत्न भइरहेको उनले बताए ।
मणिपाल शिक्षण, फिस्टेल अस्पतालसँग सम्झौता गरी डाक्टर शुल्क, उपचार खर्च र औषधीमा सहुलियत दिने प्रवन्ध मिलाएको बास्तोलाको भनाइ छ । तत्सम् मिडियाले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले पोखरा–१२ मा सबैभन्दा बढी नहर र बाढीको समस्या सुनाए ।
नहरको जग्गा अतिक्रमण भएको, नहरमा फालिएको फोहोरले दुर्गन्ध फैलिएको, काहुँबाटसमेत आउने बाढीले सितलादेवी क्षेत्र डुबानमा पर्ने गरेको, ढल नियन्त्रण नभएकोजस्ता गुनासो नागरिकको थियो । अपांगमैली संरचना निर्माणमा जोड दिन वडासँग स्थानीयको माग थियो । वडाले बनाउने समिति, उपसमितिमा विज्ञताका आधारमा छनोट गरेर बनाउन स्थानीय इन्दिरा पन्तले आग्रह गरिन् । गणेश तिमिल्सिनाले विपन्न र गरिब परिवारलाई जिविकोपार्जनमा जोड्न आग्रह गरे ।
वडा सचिव महेश्वर अर्यालले वडा तहबाट गरिने विकासले वडाबासीको ससाना आवश्यकता पूरा गर्ने तथा सीप, ज्ञानको विकास र रोजगारीमा जोड दिइएको बताए । डा. अनिल सुवेदीले भौतिक पूर्वाधार निर्माणलाईमात्र विकास सम्झिन नहुने बताए । अबको लगानी सामाजिक तथा मानवीय विकासमा गर्नुपर्ने सुवेदीको भनाइ थियो ।
तपाईको प्रतिक्रिया