शान्ति निकेतनमा सम्मान

पोखरा ।
पोखरा वडा नं. ५ पस्र्याङ स्थित शान्ति निकेतन स्कुलले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० विद्यार्थीलाई सम्मान, बधाईसहित शुभकामना दिएको छ । विद्यालयले शनिबार कार्यक्रम आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लासहित सम्मान गरेको हो ।
जिपिए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लासहित सम्मान गरियो । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालासहित बधाई ज्ञापन गरियो भने उनीहरुका अभिभावकलाई दोसल्ला ओढाइएको छ ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई कायम राख्न आग्रह गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै यो पुष्टि गर्ने सुनाए ।
विद्यालयका संस्थापक प्राचार्य डा महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीति अवलम्बन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकाले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको उल्लेख गरे । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।
डा पराजुलीले भने, ‘यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ ।’
४ जिपिए ल्याएकी अदितिले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुत्र्यालले विद्यालयको शैक्षिक उपलब्धिमा स्थानीय र अभिभावकको समेत अपनत्व देख्दा खुसी लागेको जनाए ।
विद्यालयले सधैं लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुत्र्याल, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावकको तर्फबाट भेषराज घिमिरेले बोलेका थिए ।
कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जीव भुत्र्याललाई अमेरिकाबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु/सीतालाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया