रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन् : मुकुल ढकाल

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका छन् ।
रास्वपाले महामन्त्री र केन्द्रीय सदस्यसहितका पदबाट कारबाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,’ उनले भने ।
उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रीय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।
सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई हाइज्याक गरेर क्लबमा परिणत गरेको उनको भनाइ थियो । सभापतिमाथि नै प्रश्न उठेपछि आफू वाध्य भएर जनतामा गएको ढकालले बताए । सहकारी प्रकरणमा रास्वपाले पनि छानविन गर्नुपर्ने उनले माग गरे ।
‘सर्वोच्च अदालतले पनि फैसला गरिसकेको छ । पार्टीभित्रबाट स्वतन्त्र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्यो,’ उनले भने, ‘छानबिन समितिमा रवि लामिछानेका गोजीबाट होइन स्वतन्त्र व्यक्तिहरु राख्नुपर्यो ।’
तपाईको प्रतिक्रिया