पोखराको मणिपाल बन्यो नेपालकै सबै भन्दा ठूलो सघन उपचार क्षमताको अस्पताल
थप ७२ वेडको अत्याधुनिक सघन कक्ष उद्घाटन, काठमाण्डु वा दिल्ली जान नपर्ने दावी

पोखरा ।
पोखराको मणिपाल शिक्षण अस्पताल नेपाल कै सबै भन्दा धेरै सघन उपचार कक्ष (आइसियु) भएको अस्पताल बनेको छ । शुक्रबार ७२ वटा सुविधा सम्पन्न आईसियु कक्षको उद्घाटन भएपछि मणिपाल क्रिटिकल केयरमा नेपाल कै ठुलो अस्पताल बनेको हो ।
यसअघि विभिन्न वार्डहरुमा गरि मणिपाल सघन उपचारका लागि ९४ वेड थिए । तर ति कक्ष अहिलेका जस्ता अत्याधुनिक र सुविधा सम्पन्न थिएनन् । गण्डकीका बिरामीहरु सुविधा सम्पन्न सघन उपचार कक्षका लागि राजधानी वा देश बाहिर जानु नपर्ने गरी नयाँ आइसियु कक्ष निर्माण गरिएकाे मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्द बतासले बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच ७२ शैया क्षमताको एडभान्स लेभल ३ भनिने मल्टिडिसिपिनरी आइसियु कक्षको उद्घाटन गरे । यो कक्षमा २ वटा नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याविन समेत छन् । नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविनमा द्रुतगतिमा सर्ने बिरामीको उपचार गरिन्छ । यो क्याविनबाट अन्य बिरामीलाई रोग सर्ने सम्भावना रहदैन् ।
सुविधा सम्पन्न यो आइसियु कक्षमा एक जना बिरामीका लागि एक जना नर्ससहित विशेषज्ञ डाक्टरहरुकाे टिम नै सकृय रहने मणिपाल अस्पतालका निर्देशक डाक्टर अभिषेक मास्केले बताए । डा मास्केका अनुसार आइसियुमा उपचार गर्नु पर्ने एउटै बिरामी धेरै प्रकारका राेगबाट संक्रमित हुन सक्ने भएकाले धेरै विशेषज्ञले एकै चोटी सल्लाह गरेर उपचार गर्दा बिरामी छिटो निको हुन सक्छ ।
सघन कक्षको उद्घाटनपछि गण्डकी सरकारका मुख्य मन्त्री पाण्डेले अब काठमाण्डुबाट पनि बिरामीहरु पोखरा रेफर भई उपचारकालागि आउने अपेक्षा गरेका छन् । उनले आज अस्पतालको महत्वपूर्ण युनिट उद्घाटन गर्न पाउदा आफुले पुण्य कमाएकाे महसुस गरेको बताए ।
मुख्यमन्त्री पाण्डेले मृगौलाका बिरामीका लागि डाइलाइसिस सेवा बिस्तार गरि प्रदेश सरकारको डाइलाइसिस सेवा प्राप्त नगर्नेको बिरामी संख्या शुन्यमा झार्ने अभियानलाई सघाउन अनुरोध गरे । लगत्तै बोल्दै अस्पतालका अध्यक्ष बतासले हाल ११ वटा डाइलाइसिस मेशिन रहेको जानकारी दिँदै ३ महिनाभित्र थप १० वटा थपिने योजना सुनाए ।
गण्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री बिन्दुकुमार थापाले सुबिधा सम्पन्न आइ सि यु युनिट संचालनमा ल्याएकोमा बधाई ज्ञापन गरे । उनले हस्पिटललाई थप सेवा बिस्तारकालागि आग्रह गर्दै गर्दै आवश्यक सहयोगको प्रतिबद्दता व्यक्त गरे ।
मणिपाल अस्पतालका प्राध्यापक डाक्टर सिपी आचार्यले यसअघि सुविधा सम्पन्न आइसियुकी अभावमा क्रिटिकल बिरामीलाई काठमाण्डु रेफर गर्न परेको सुनाउदै अबबाट त्यो समस्या हटेको दावी गरे । यो सघन उपचार कक्ष बनेपछि मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरको संख्या नै ३४ पुगेको छ ।
काेभिड महामारीताका भेन्टिलेटर कै अभावमा कैयौंले ज्यान गुमाउनु परेको पिडा महसुस गरेर सघन उपचार कक्षमा प्रयाप्त भेन्टिलेटरको व्यवस्था गरेकाे अस्पतालका निर्देशक नारायण पौडेलले बताए ।
तपाईको प्रतिक्रिया