गण्डकी विश्वविद्यालयमा भदौ १६ देखि एआई पढाइ हुने

पोखरा । वारेन बफेटले भनेका छन्, ‘कृत्रिम बौद्धिकता आणविक ऊर्जापछिको दोस्रो महत्वपूर्ण आविश्कार हो ।’ मानिसले नै आविश्कार गरेको कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्ट (एआई)सँग सबैभन्दा त्रसित पनि मानिस नै छ ।
गोल्डम्यान स्याक्सले हालै प्रकासन गरेको एउटा प्रतिवेदनमा अहिले मानिसहरूले गरेका सम्पूर्ण कामको झन्डै एकचौथाइ भाग सामग्री उत्पादनमा सक्षम एआईले गर्न सक्ने उल्लेख छ । युरोपेली युनियन र अमेरिकामा ३० करोड रोजगारी यसका कारण गुम्न सक्ने प्रतिवेदनमा जनाइएको छ । एआईले अवसर खोस्ने मात्र होइन अवसर प्रदान पनि गर्छ । विश्वमै ठूलो हलचल ल्याएको एआईका बारेमा दक्षिण एसियाका मुलुकहरुमा औपचारिक पढाइ हुँदैन । नेपालमा त हुने कुरै भएन ।
यहि शून्यतालाई चिर्दै गण्डकी विश्वविद्यालयले नेपाल र दक्षिण एसियामै पहिलोपल्ट स्नातकोत्तर तहमा एआई विषय पढाउने भएको छ । यसका लागि विश्वविद्यालयले पाठ्यक्रम समेत तयार पारेको छ । एमआइटी एआईको पाठ्यक्रम बुधबार आयोजित कार्यक्रममा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सार्वजनिक गरेका छन् ।

विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीले विश्वमै हलचल ल्याएको एआईको औपचारिक पढाइ थाल्नु आफैमा चुनौतीपूर्ण रहे पनि आफूहरुले आँट गरेको बताए । नेपालमा पर्यटन क्षेत्रबाट भन्दा आइटीबाट धेरै आम्दानी गरिरहेको तथ्य पेस गर्दै त्यहि अनुसारको जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले पहल थालेको भनाइ राखे ।
दक्ष जनशक्ति उत्पादन गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने, नेतृत्व विकास गर्ने जीवनोपयोगी शिक्षा प्रदान गर्ने र पढाइ सकेलगत्तै कामका अवसरका लागि यो विषयको पढाइ थाल्न लागिएको जानकारी उनले दिए । सेप्टेम्बर १ अर्थात् भदौ १६ गतेबाट विश्वविद्यालयले यसको पढाइ थाल्ने छ । प्राकृतिक विज्ञान मात्र नभई समाज विज्ञानसँग जोडेर यसको पढाइ गरिने बढी व्यावहारिक हुने उनको दाबी छ । अहिले पढाउनका लागि दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै उनले राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी पढाइ सञ्चालन गरिने सुनाए ।
४ सेमेस्टेर अर्थात् २ वर्षमा यसको पढाइ सकिने छ । क्यालेन्डर अनुसार कार्यक्रम सञ्चालन गरिने भएकाले तोकिएकै समयमा विद्यार्थीले सर्टिफिकेट हात पार्न सक्छन् । विज्ञान प्रविधिमा स्नातक उत्तीर्णहरुले यो विषय पढ्न सक्नेछन् । प्रति सेमेस्टर २० जना विद्यार्थी प्रवेश परीक्षामार्फत् छनोट गरिनेछ ।
कार्यक्रममा मन्त्री बिन्दुकुमार थापाले युग सुहाउँदो दक्ष जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले थालेको कदम अनुकरणीय रहेको बताए । यस्तै कामका लागि प्रदेश सरकारले विश्वविद्यालयलाई अनुदान प्रदान गरेको भन्दै अझै प्रभावकारी र जीवनोपयोगी पाठ्यक्रम बनाएर अगाडि बढ्न उनले सुझाव दिए । उक्त अवसरमा मन्त्री थापासहितको टोलीले विश्वविद्यालयको ल्याब, कक्षाकोठा, खेलमैदानको समेत अवलोकन गरे ।
विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले लामो समयको प्रयासपछि एआईको पाठ्यक्रम तयार भएको भन्दै प्रभावकारी विषयको पाठ्यक्रम बनाएर लागु गर्न आफूहरु लागिरहेको बताए । उनले भने, ‘गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिँदै कुनकुन मोडलमा अध्यापन गराउन सकिन्छ त्यसबारे विश्वविद्यालय गम्भीर भएर अगाडि बढ्नेछ ।’ प्रदेश सरकारले नै स्थापना गरेको विश्वविद्यालयप्रति सरकारको व्यवहार एकनास हुनुपर्ने उनको भनाइ थियो । न्यासिक परिषद रहेको स्वायत्त संस्थालाई सरकारले सीधै अनुदान दिनुपर्नेमा मन्त्रालयमार्फत् रकम पठाउँदा असहज भएको उनले मन्त्री थापालाई सुनाए ।
विश्वविद्यालयका उपकुलपति प्राडा. नवराज देवकोटाले नेपालका अरु विश्वविद्यालयभन्दा अब्बल दर्जाको बनाउन लागि टिम हरसमय खटिइरहेको बताए । प्रदेशमा आइटी पार्कको आवश्यकता र सम्भावना पनि रहेकाले त्यसका लागि जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले मेहनत गरिरहेको उनले सुनाए । विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै प्राडा देवकोटाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जानसक्ने गरी जनशक्ति उत्पादन गरिने प्रतिबद्धता जनाए ।
विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनाले राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुसँगको लामो छलफलपछि पाठ्यक्रम तयार पारिएको बताए । उनका अनुसार यसका लागि अलग्गै प्रयोगशाला बनाउन लागिएको छ ।
विश्वविद्यालयले ४ वर्षको अवधिमा ५ सय ७६ रोपनी जग्गा प्राप्त गरी स्नातक तहका आइटी, फार्मेसी, बिबिए, स्पोर्ट्स म्यानेजमेट र कानुन संकाय गरी ५ कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले ५२ जिल्लाका ४ सय ७६ छात्र–छात्राले विश्विद्यालयका विभिन्न कार्यक्रममा अध्ययनरत छन् । रजिस्ट्रार डा. तिमिल्सिनाले विश्वविद्यालयको आफ्नै आविश्कार केन्द्र, सुविधा सम्पन्न प्रयोगशाला र पुस्तकालय रहेको जानकारी गराए ।
कार्यक्रमका बीच गण्डकी विश्वविद्यालय स्र्पोट्स म्यानेजमेन्टका संयोजक डा. मधुसुदन सुवेदीलाई सम्मान गरिएको सहायक प्रशासक डोलराज सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया