आधा बजेट पहुँचकै आधारमा बाँडिन्छः मुख्यमन्त्री पाण्डे

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट पहुँचका आधारमा वितरण भएको स्वीकारेका छन् । प्रदेश नीति तथा योजना आयोगले बिहीबार आयोजना गरेको दोस्रो पञ्चवर्षीय आयोजनाको अवधारणपत्र सार्वजनिकीकरण कार्यक्रमम बोल्दै मुख्यमन्त्री पाण्डेले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट समानुपातिक वितरण गर्न नसकेको स्वीकारेका हुन् ।
उनले योजना बैंक लागु गर्न नसक्दा बजेटको वितरण समानुपातिक नभएको बताए । ‘बजेट पर्दा आवश्यकताको आधारमा भन्दा पहुुँचको अवस्थामा आधा बजेट पर्ने अवस्था छ । त्यस कारण योजना बैंक लागु अत्यावश्यक छ । तर, हाम्रो रानीतिक अस्थिरता जस्ता कारणले गर्दा त्यो लागु गर्न नसकिएको सत्य हो,’ मुख्यमन्त्री पाण्डेले भने ।
जोडजाम गरेर बहुमत पुर्याउँदा त्यस्तो हुन पुगेको उनको स्वीकारोक्ति थियो । जोडजाम बजेट निर्माण गर्दा विगतमा भइरहेको परम्परागत त्रुटि यस वर्ष पनि दोहोरिएको उनको भनाइ थियो । ‘संघ सरकारले पनि सुरुमा ५ करोड रुपैयाँभन्दा तलको बजेट नहाल्ने भन्यो । पछि ३ करोडमा भनियो । प्रदेशको २ करोड भनियो, त्यसलाई १ करोडसम्म भने पनि अखिरमा संघले पनि ५ लाखका बजेट पनि हाल्यो । प्रदेशले पनि ५ लाखसम्मको बजेट हाल्यो,’ मुख्यमन्त्री पाण्डेले भने ।
प्रोजेक्ट बैंक लागु गरेर संघ र प्रदेशले सीमा निर्धारण गरेर बजेट विनियोजना गर्नुपर्ने उनको भनाइ थियो । ‘आयोजना पहिचान गर्न प्रोजेक्ट बैंक समावेश गरेर त्यसलाई तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्छ । जसले आवश्यकताका आधारमा बजेट पर्छ । न कि पहुँचका भरमा,’ उनले भने ।
प्रदेशले गत आर्थिक वर्ष खानेपानीमा उल्लेखनीय प्रगति गरेको पाण्डेले बताए । उनले खानेपानीमा आवश्यकताका आधारमा दिइएको बजेटले उल्लेखनीय काम गर्न सकेको सुनाए । त्यसका लागि स्थानीय तहसँग समन्वय गरेको उनले सुनाए । स्थानीय तहसँगको समन्वयमा काम गर्दा तार्गेट गरिएको क्षेत्रमा प्रगति हासिल गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा बोल्दै नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर कृष्णचन्द्र देवकोटाले अवधारण पत्रले गण्डकीमा गर्नुपर्ने योजनाका बारेमा बोलेको सुनाए । उनले प्रदेशमा दीर्घकालीन योजना र अल्पकालीन योजनाका बारेमा अवधारण पत्रले स्पट पारेको सुनाए ।
‘रानीतिक अस्थिरता जस्ता कारणले योजना बैंक लागु गर्न नसकिएको सत्य हो’
विपद् व्यवस्थापन र न्यूनीकरणमा ध्यान केन्द्रित गरौं
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । सरोकारावालाहरुबिच मुख्यमन्त्री तथा मन्त्रिरपरिपदको कार्यालयमा सोमबार भएको छलफलमा विपद्को जोखिम अझै रहेकाले राहत, उद्धार र पुनस्र्थापनाका लागि सबैले आ—आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनले बताए ।
उनले विगत वर्षभन्दा यस वर्ष धेरै क्षती बेहोर्नुपरेकाले सुनाए । मनसुन अझै सक्रिय रहेको बताउँदै उनले सचेत रहन सर्वसाधारणलाई पनि आग्रह गरे ।
विपद्का कारण क्षती बेहोर्नुपरेका, ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले दिने राहत जिल्ला प्रशासन कार्यालयहरुबाट वितरण भईरहेको र सहज प्रक्रियाबाट तत्कालै वितरण गर्न निर्देशनसमेत दिएका छन् । विपद्का बारेमा सचेतना जगाउँदै सर्वसाधारण नागरिकलाई जागरुक बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले सञ्चार क्षेत्रलाई यस विषयमा केन्द्रित रहेर प्रकाशन प्रशारण गर्न मुख्यमन्त्री पाण्डेले अनुरोध छ ।
बैठकले जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमतिबिना कार्यक्षेत्र नछोड्न निर्देशन दिने निर्णय गरेको हो । सडक, खानेपानी तथा सरसफाई हेर्ने लगायत प्रदेश र जिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने उल्लेख छ ।
विपद्बाट भएकोरको क्षतिलाई तत्काल न्यूनीकरण गर्न आपतकालीन रुपमा प्रयोग गर्नुपर्ने पाईप, तारजाली तथा अन्य सार्वजनिक निर्माण लगायतको विपद् व्यवस्थापनसँग सम्बन्धित कार्यहरुको खरिद प्रक्रिया यथासम्भव उपलब्ध गराउन सहजकरण गर्ने बैठकले निर्णय गरेको छ ।
विपद्का सामग्री वितरण गर्दा सम्बन्धित स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो अनिवार्य समावेश गरेर मात्र वितरण गर्न कार्यालयलाई निर्देशन बैठकले दिने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया