माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा बैंक, मिडिया र उडान प्रभावित

समाधान संवाददाता २०८१ साउन ४ गते १७:३४

प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । अस्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ । 

Advertisement

यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको छ । त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेको छैन । यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ ।

यसैगरी, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल र संसदको कम्युटर प्रणालीमा व्यवधान उत्पन्न भएको छ । सोही समस्याका कारण जापान र भारतका हवाइ उडानमा समेत समस्या आएको छ । भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तलिखित सूचना टाँसिएको छ । त्यसकै आधारमा यात्रुहरूले उडान गर्न थालेका छन् ।

बेलायतमा रेल कम्पनीहरूकव अपरेशन रोकिएको छ । एक प्रमुख रेल कम्पनीले ठूलो प्राविधिक समस्या झेल्नु परेको जनाएको छ। यसका कारण रेल सञ्चालनमा असर पर्न सक्ने कम्पनीले जनाएको छ।

आईटी प्रणाली ठप्प हुँदा बर्लिन एयरपोर्टमा चेक-इनका क्रममा समस्या भएको छ । स्पेनका सबै विमानस्थलमा पनि आइटी प्रणालीको समस्याले सताएको छ।

Advertisement

बेलायतमा स्काई न्यूज च्यानल अफ एयर भएको छ। अस्ट्रेलियामा टेलिकम्युनिकेशन ग्रुप टेलस्ट्राको सेवामा समस्या आएको छ।

अस्ट्रेलियाको सिड्नीमा विमानको उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा रोकेको छ । लण्डनमा स्टक एक्सचेन्जमा प्राविधिक समस्या देखिएको छ ।

अमेरिकाको अलास्कामा आपातकालीन फोन सेवामा पनि असर देखिएको छ । अलास्काको पुलिसले फेसबुकमा पोस्ट गर्दै पूरा राज्यमा यस फोन सेवासँग सम्बन्धित सबै कल सेन्टरको काम बन्द भएको छ।

भारतमा राजधानी दिल्लीको एयरपोर्टले ट्विट गर्दै विश्वभर आएको समस्याका कारण केही सेवामा असर परेको जनाएको छ ।

दिल्ली एयरपोर्टका अनुसार यात्रुहरूलाई कुनै पनि समस्या आउन नदिन सबै साझेदारहरूसँग नियमित सम्पर्क भइरहेको छ ।

एयर इन्डियाले पनि यस संकटबारे ट्विट गरेको छ। माइक्रोसफ्टको सर्भर खराबी आउँदा आफूहरूको प्रणालीमा असर परेको एयर इन्डियाले उल्लेख गरेको छ। एयर इन्डियाले यात्रीसँग माफी मागेको छ । बिबिसी 

तपाईको प्रतिक्रिया