बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना

समाधान संवाददाता २०८१ साउन १७ गते १४:५२

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनस्थित बाराही माविमा गोविन्दप्रसाद–लीलावती कोइराला अक्षयकोष स्थापना गरिएको छ । गोविन्दप्रसादका छोरा, बुहारी र छोरीले ३ लाख ३ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement


गोविन्दप्रसादका जेठा छोराबुहारी सुवास/उमा, माइला छोराबुहारी सुरेशचन्द्र/ज्ञानु, कान्छा छोराबुहारी लक्ष्मण/सीता कोइरालाका साथै छोरी शान्तिकुमारी कोइरालाले अक्षयकोष स्थापना गरेका हुन् ।


छोरा सुवास बाराही माविबाटै २०५१ सालको एसएलसी परीक्षामा सहभागी भई बोर्ड पाचौँ स्थान हासिल गरेका थिए । गोविन्दप्रसाद सामाजसेवी, शिक्षासेवी र धार्मिक व्यक्तित्वकारुपमा परिचित थिए । उनले विद्यालय व्यवस्थापन समिति सदस्य भएर बाराही माविको २८ वर्ष सेवा गरेका थिए । विसं १९९३ सालमा जन्मिएका उनको २०६३ सालमा निधन भएको थियो ।


कोइराला परिवारले पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष निर्मल खत्री र प्रधानाध्यापक शिवप्रसाद भण्डारीलाई रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा वडाध्यक्ष बरालले बाराही स्कुल पोखराकै नमूना विद्यालय भएको भन्दै गुणस्तरीय शिक्षाका लागि कुनै कञ्जुस्याइँ नगरिने स्पष्ट पारे । साथै उनले अक्षयकोष दाता परिवारले शिक्षाक्षेत्रमा उल्लेखनीय भूमिका खेल्दै आएको बताए ।


विद्यालयका प्रधानाध्यापक भण्डारीले अक्षयकोषले विद्यार्थीको अध्ययनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी डा. महेश्वर पराजुली, सहायक प्रधानाध्यापक तुलसीप्रसाद भण्डारी, शिक्षक रामप्रसाद पोखरेललगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा पोखरा ५ का जनप्रतिनिधि हरिमाया विक, कल्पना भुवाई, मणिराम बराल, गोविन्द पराजुली, विद्यालयका पूर्वप्रधानाध्यापक हेरम्बप्रसाद कोइराला, सोमनाथ भूत्र्याल, पूर्वजनप्रतिनिधि पुष्पराज बराल, शिक्षासेवी भरतराज पौडेललगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया