पोखरा २० मा ६ करोड १३ लाख बजेट

पोखरा ।
पोखरा महानगरपालिकाको वडा नम्बर २० ले सार्वजनिक सुनुवाइ गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को योजना तथा कार्यक्रमको समीक्षा गर्दै यस चालु आर्थिक वर्ष २०८१/०८२ को योजना तथा कार्यक्रमको वडा नम्बर २० ले सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा वडा अध्यक्ष गंगाबहादुर खत्रीले वडाको विकासका लागि आफ्नो र वडाको तर्फबाट विकास निर्माणका काममा सधैं लागिरहने बताए । कार्यक्रममा उपस्थित वडाबासीले चालु आर्थिक वर्षमा सडक, बत्ती, सुरक्षा, स्वास्थ्य, शिक्षा, सार्वजनिक जग्गा सुरक्षा लगायत विविध विषयमा जिज्ञासा राखेका थिए ।
नागरिकबाट प्रस्तुत जिज्ञासाका बारेमा स्पष्ट पार्दै वडाअध्यक्ष गंगाबहादुर खत्रीले समग्र वडाको विकासको लागि वडाबासीको पनि उत्तिकै हात हुने हुँदा सबै मिलेर नै वडालाई समृद्ध बनाउन सकिने भएकाले विकास निर्माणका कार्यमा सबैको सहयोगको लागि अपिलसमेत गरे ।
वडाध्यक्ष खत्रीले वडा कार्यालय निर्माणका लागि टेण्डर प्रक्रिया सकेर पनि काम अगाडि बढिसकेको जानाकरी गराए । आफ्नो टोलमा सरसफाइ गर्न स्वयं टोलवासीको पनि जिम्मेवारी भएको बताउँदै खत्रीले यस आर्थिक वर्षमा वडाभित्र रहेका आमा समूह, टोल विकास संस्था, युवा क्लव लगायत सामाजिक संघसंस्थालाई अभिमुखीकरण गराएर मात्रै बजेट कार्यान्वयन गर्न खत्रीले अनुरोध गरे ।
वडाध्यक्ष खत्रीले वडाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी र वडाबासी सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताउँदै सबैलाई एकजुट भएर लाग्न र विकासलाई राजनीतिसँग नजोड्न खत्रीले आग्रह गरे ।
कार्यक्रममा वडासचिव हरिकृष्ण आचार्यले गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरु वडाबाट सम्पादन भएका सेवा प्रवाह र विकास निर्मणको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आव २०८०/०८१ मा वडा नम्बर २० मा वडास्तरीय बजेट १ करोड ५९ लाख १७ हजार, महानगरस्तरीय बजेट २ करोड ५१ लाख र क्रमागत गत वर्षबाट सरेको २ करोड ३ लाख ७२ हजार गरी बजेट ६ करोड १३ लाख ८९ हजार भएको जानकारी दिए । जस अन्तर्गत महानगरको मात्रै ४ करोड ५४ लाख ७२ हजार छ । वडाभित्र शिक्षातर्फ वडा अध्यक्षसँग बालबालिका कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम, छात्रवृत्ति प्रदान, वडा बालसञ्जाल गठन लगायत कार्यक्रम सम्पन्न भएका छन् ।
उक्त अवसरमा पर्यटन तथा संस्कृति संरक्षणका विभिन्न कार्यक्रमहरु, सामाजिक विकास तर्फका कार्यक्रमहरु, वडाको सेवालाई चुस्त दुरुस्त बनाउने एकद्वार प्रणाली मार्फत सेवा प्रवाह, नागरिक बडापत्र, गुनासो पेटिकाको व्यवस्था, जनप्रतिनिधि र कर्मचारीसहितको घरदैलो कार्यक्रमका विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको सहजीकरण पब्लिक फोरके टेलिभजनले गरेको थियो । सञ्चालन सञ्चारकर्मी अमृतकुमार भट्टराईले गरेका थिए ।
तपाईको प्रतिक्रिया