कास्की कांग्रेसमा विशेषज्ञ वृत्त निर्माण

समाधान संवाददाता २०८१ भदौ १४ गते १३:५९

पोखरा ।
नेपाली कांग्रेस कास्कीको गत ५ गते बसेको जिल्ला कार्य समिति बैठकले नेपाली विशेषज्ञ वृत्त वनाउने निर्णय गरेको छ ।
पार्टीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिन विशेषज्ञ वृत्तमा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई समेटिएको कास्की कांग्रेसले जानकारी दिएको छ ।

Advertisement


ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिती र सक्रियताले पार्टीमा थप उर्जाशिल बन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । पार्टीको विभिन्न तहमा रहि समाजमा सम्मानीत जीवन बनाएका उनीहरुको अनुभवले पार्टीमा नयाँ रक्तसंचार गर्ने अपेक्षा सभापति बरालको छ ।


पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो ।


‘उहाँहरुको ज्ञान, अनुभव र विज्ञताको आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो,’ सभापति बरालले भने ।


कांग्रेसको राजनीति विशेषज्ञ वृत्तमा अग्रज राजनीतिज्ञहरु अशोक पालिखे, भोला थापा, तीर्थ श्रेष्ठ, विश्व सिग्देल, शंकर देवकोटा र सकुन्तला गुरुङलाई मनोनित गरिएको छ ।

Advertisement


राजनीतिमा अमूल्य समय र जीवन दिएका उनीहरुको उपस्थितीले पार्टीमा नयाँ उत्साह संचार गर्ने नेपाली कांग्रेस कास्कीका सहसचिव नविन सिग्देलले दावी गरे । अन्य वृत्तका विशेषज्ञहरु पनि छिट्टै निर्माण गर्ने तयारीमा रहेको कास्की कांग्रेसले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया