एमाले गण्डकीको दोस्रो बैठक
प्रचण्डको प्रस्तुति अराजनीतिकः एमाले महासचिव पोखरेल
एमालेलाई बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको दोस्रो बैठक शुक्रबार पोखरामा भएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको बताए ।
एमालेका नेता, कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडि बढाउन भूमिका खेल्ने पोखरेलले सुनाए । जनयुद्धका नाममा माओवादीका कार्यकर्ता मात्रै मारिएनन् एमालेसहित अन्य दलका कार्यकर्तासमेत मारिएको स्मरण गर्दै पोखरेलले हिंसालाई शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको दाबी गरे ।
महासचिव पोखरेलले आन्तरिक प्रतिस्पर्धाले पार्टी एकता बलियो बनाउनुपर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्वाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४ को तयारीमा लाग्न आग्रह गरे । उनले एमालेलाई बहुमत प्राप्त पहिलो पार्टी बनाउन मिसन ८४ को अभियान भएको सुनाए । महासचिव पोखरेलले कांग्रेस एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार भएको र यो समीकरण जनतामा आशाको सञ्चार जगाउन भएको उल्लेख गरे ।
नेकपा एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी र जनतालाई जोड्ने प्रतिफलमुखी कार्यक्रम अबको आवश्यकता भएको औंल्याए । सूचना, सञ्चार तथा प्रविधिमन्त्री समेत रहेका उप–महासचिव गुरुङले सरकारलाई असफल हुने छुट नभएको विचार राखे । सरकार सफल हुन पार्टीसहित सबै जनसंगठनहरू सक्रियरूपले परिचालित हुनुपर्ने उनले उल्लेख गरे ।
गण्डकी प्रदेश कमिटीका निवर्तमान इन्चार्ज तथा केन्द्रीय कमिटी सचिव गोकर्ण बिष्टले अत्यन्त जटिल अवस्थामा नेकपा एमालेले सरकारको नेतृत्व लिएको बताए । प्रदेश कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेको कार्यक्षेत्र जनताको चाहना भएको हँुदा जनताका आवश्यकता र सरोकारका विषयमा केन्द्रित हुन आग्रह गरे ।
गण्डकी प्रदेश सभामा एमाले संसदीय दलका नेता स्थायी कमिटी सदस्य खगराज अधिकारीले पार्टी छिट्टै प्रदेश सरकारमा जाने तयारी सुरु भएको जानकारी दिए । अधिकारीले परम्परागत भन्दा परिष्कृत र आधुनिक शैलीको सुसंगठित पार्टी निर्माणमा लाग्न आग्रह गरे ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले प्रदेश कमिटीका गतिविधि र कार्यक्रमको जानकारी दिँदै आगामी कार्ययोजनाका बारेमा चर्चा गरे । बैठकले पार्टीका सांगठनिक सहित, जनसरोकार र जनजीविकाका सवालमा बार्षिक कार्ययोजना निर्माण गरेको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सचिव धनञ्जय दवाडी, गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरूसहितले आफ्नो जिल्ला कमिटीका गतिविधि सम्बद्ध रिपोर्ट प्रस्तुत गरेको उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख मञ्जु अधिकारीले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया