सिद्धि सेतुली स्मृति प्रतिष्ठानको १७९ विद्यार्थीलाई छात्रवृत्ति सहयाेग

पोखरा ।
सिद्धि सेतुली स्मृति प्रतिष्ठानले पोखराका विभिन्न विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री, ज्ञानभूमि शान्तरत्न जेहेन्दार पुरस्कार तथा नगद छात्रवृत्ति वितरण गरेको छ ।
प्रतिष्ठानले ‘बाल शिक्षा कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि १२ सम्मका १ सय ७९ बिपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति प्रदान गरेको संस्थापक संरक्षक विश्वरत्न शाक्यले बताए । कक्षा ११ र १२ मा अध्ययनरत ४६ विद्यार्थीलाई ६ हजारका दरले नगद दिइएको छ ।
१० वटा बिद्यालयका १ सय १८ जनालाई ब्यागसहित शैक्षिक सामग्री र सहारा आधारभूत विद्यालयका १५ जनालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । पोखराका कन्या क्याम्पस, कन्या मावि, बाल मन्दिर मावि, नवप्रभात मावि, सिर्जना बहिरा मावि, अमरसिंह मावि, ज्ञानभूमि आधारभूत विद्यालय, महेन्द्र मावि, कुँडहर आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत विद्यालय र सहारा आधारभूत विद्यालयका विद्यार्थीबाट छनोट गरी सहयोग गरिएको हो ।
कार्यक्रममा प्रतिष्ठानका मानार्थ सम्मानित सदस्य ड अनिल सुवेदीले छात्रवृत्ति पाउनु ठूलो कुरा नभई सदुपयोग ठूलो भएको उल्लेख गरे । छात्रवृत्ति पाउने विद्यार्थी अरुभन्दा अब्बल र सक्षम हुनुपर्नेमा उनको जोड छ । विद्यार्थीको पढाइलेखाइ विद्यार्थीमा मात्र भर नपर्ने भएकाले अभिभावक र शिक्षक पनि चनाखो हुनुपर्ने उनले औंल्याए ।
प्रतिष्ठानका संस्थापक संरक्षक शाक्यले प्रतिष्ठानले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएको बताए । उनले शैक्षिक सामग्री १ लाख १५ हजार ४ सय २ रुपैयाँ र स्कुल ब्याग ६४ हजार ४ सयको वितरण गरिएको जनाए । नगद छात्रवृत्ति २ लाख ५२ हजारसमेत ४ लाख ३१ हजार ८ सय २ रुपैयाँका शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरिएको हो ।
संस्थाका पूर्व अध्यक्ष एवं संरक्षक सदस्य नरेन्द्रमान लालचनले सिद्धि सेतुलीले समाजसेवामा समर्पित भएर काम गरेको जनाए । प्रतिष्ठानका सहयोगी संरक्षक क्या मनबहादुर गुरुङले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन छात्रवृत्ति प्रदान गरिएको बताए । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले प्रतिष्ठानको कार्यमा वडाले सहयोग गर्ने वाचा गरे ।
बाल मन्दिर माविका प्रधानाध्यापक सुशील बस्नेतले छात्रवृत्तिले विद्यार्थीको शैक्षिक विकासमा सहयोग, प्रेरणा र हौसला मिल्ने बताए । कन्या क्याम्पसकी विद्यार्थी यसोदा पुर्जा पुन र सिर्जना बहिराका यमुना खत्रीले छात्रवृत्तिले पढाइमा सहयोग गर्ने उल्लेख गरे ।
प्रतिष्ठान अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रमिला तझ्या र सचिव ईन्द्रकमल मानन्धरले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया