अपांगताको क्षेत्र प्राथमिकतामा छः मुख्यमन्त्री

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपांगताको क्षेत्र गण्डकी सरकारको प्राथमिकतामा रहेको बताउँदै यस विषयमा सरकार संवेदनशील रहेको बताएका छन् । लक्षित वर्गलाई समेट्न गरी नीति, कार्यक्रममा सरकारले विषेश ध्यान दिएको उनले बताए ।
‘प्रादेशिक अपांगता नीति निर्माण भएर कार्यन्वयन भईरहेको छ, अपांगताको क्षेत्र केन्द्रित भएर काम गर्ने गरी अपांगता निर्देशन समिति छ,’ बिहीवार राष्ट्रिय अपांग कोषले आयोजना गरेको ह्विलचेयर वितरण कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘अपांगता सम्बन्धी ऐनको तयारी भइरहेको छ ।’
प्रदेश सरकारले निर्माण गर्ने संरचना अपांगमैत्री हुनुपर्ने नीति लिइएको बताउँदै उनले कार्यान्वयनका लागि प्रदेश सरकार मातहतका सबै निकायलाई निर्देशन दिइएको बताए ।
‘यसअघि बनेका पुराना संरचना धेरैजसो अपांगमैत्री छैनन्, अब बन्ने संरचना अपांगमैत्री बनाउने नीति सरकारको छ ।’ अपांगता भएका व्यक्तिहरुको संरक्षण, सशक्तीकरण, क्षमता विकास, सहायता सामग्री वितरण लगायतका काम सामाजिक विकास तथा युवा खेलकुद मन्त्रालय मार्फत प्रदेश सरकारले गरिरहेको उनले बताए ।
‘सबै खालको अपाङ्गता भएकाहरुलाई समेट्ने गरी अपांगता निर्देशन समितिमा १० प्रकारको अपाङ्गता प्रतिनिधित्व गर्नेहरु हुनुहुन्छ’ मुख्यमन्त्री पाण्डेले भने ‘यो समितिले नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनमा सरकारलाई सहयोग गर्नेछ ।’
जिल्लास्थित सामाजिक विकास कार्यालय मार्फत अपांगता क्षेत्रमा सहयोग पुग्ने गरी हक अधिकारलागि बहस, पैरवी, समुदायमा आधारित पुनःस्थापना, बिउ पुँजी वितरण लगायतका कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री पाण्डेले अनुरोध गरे ।
प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, व्यवशाय सञ्चालन लगायत कार्यक्रम र अपांगता भएकालाई प्राथमिकता दिने गरी नीतिगत व्यवस्था गरेको बताउँदै उनले भने ‘सरकारको साधन स्रोत, क्षमताले भ्याउँदा सम्म सहयोग थप्दै लगिनेछ ।’ यस क्षेत्रमा काम गर्ने दातृ निकाय, विभिन्न संघ संस्थासँगको सहकार्यमा सरकारले समन्वय र नीतिगत सहजीकरण गर्दै जाने उनले बताए ।
राष्ट्रिय अपांग कोषले दैनिक आवश्यक पर्ने सहायक सामग्री कृतिम हात खुट्टा, क्यालिपर, बैशाखी, वाकर, एल्वो, सेतो छडी ह्विलचेयर जस्ता विकासात्मक सहायक सामग्री उत्पादन गरी वितरण गर्दै आएको सभापति डेकराज भट्टराईले बताए ।
बिहीबार कोषले विषेशज्ञबाट नापजाँच एवं तालिम सहित ओम हङ गिल ह्यूमन फाउण्डेशनसँगको समन्वयमा उपलब्ध गराइएको ह्विलचेयर मुख्यमन्त्री पाण्डेले ३२ जनालाई बितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया