‘संविधान कार्यान्वयनबाट समृद्धि’

समाधान संवाददाता २०८१ असोज ४ गते १२:१५

पोखरा ।
गण्डकी प्रदेश सरकारले संविधान दिवस २०८१ तथा राष्ट्रिय दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । संविधान दिवसको सन्दर्भमा सहिदचोकमा रहेको सालिकमा माल्यापर्ण गरी नेपाली सेना, सशस्त्र प्रहरीका ब्यान्ड, विभिन्न बाजागाजा झाँकीसहित सुरु भएको प्रभातफेरी राष्ट्र बैंकचोक, रत्नचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगी मुल समारोहमा परिणत भएको थियो ।

Advertisement


कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको सफल कार्यान्वयनमार्फत् मुलुकले समृद्धि हासिल हुने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मान्यता र मूल्य प्रणालीलाई स्थापित गर्न संविधानको कार्यान्वयन अपरिहार्य भएको उल्लेख गरे ।


‘वर्तमान संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सुत्रमा आवद्ध गर्ने परिकल्पना गरेको छ,’ उनले भने, ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना साकार बनाउन समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ ।’


उनले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारहरुको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा, सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने बताए । भट्टले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरी राख्न आवश्यक रहेकोमा जोड दिए ।


मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपालको विविधताको सम्बोधन गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवाद निर्माणको परिकल्पना गरेको बताए । उनले समृद्ध राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प संविधानले लिएको उल्लेख गरे ।

Advertisement

संशोधनको बहस चलिरहेका बेला गण्डकीमा सरकार र दलहरुका प्रमुखले संविधान कार्यान्वयबाट समाजवादसम्म पुगिने औंल्याएका छन्


अब मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै उनले संविधानमा व्यवस्था भए अनुसार संघ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाडफाँट गर्दै संघीय प्रणालीलाई संस्थागत गर्नुपर्ने प्रमुख दायित्वलाई पूरा गर्नुपर्नेमा जोड दिए ।


मुख्यमन्त्री पाण्डेले संविधानले निर्दिष्ट गरेका कार्यसूची बमोजिम प्रदेशवासीप्रतिको जिम्मेवारी र दायित्वलाई कर्तव्यबोध गरी आफ्नो स्रोत, साधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रूपमा उपस्थित भएको दाबी गरे ।


मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त बमोजिम संघीयता कार्यान्वयन गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको जनाए । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले नेपालको संविधान कार्यान्वयनका लागि धेरै कानुन बनाउनुपर्ने तर्क गरे । उनले संविधान कार्यान्वयनका लागि निर्माणका सरोकारवालाहरु एकाकार बन्नुपर्नेमा जोड दिए ।


गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले गणतन्त्रलाई अधुरो स्वरमा चुनौती दिन नसक्ने गरी संविधानको कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे । केन्द्रको प्रभावले गण्डकी प्रदेश निरन्तर रुपमा अस्थिरताको मारमा परेको जानकारी दिदै उनले अस्थिरताको कारण पहिचान गर्नुपर्ने बताए । उनले राष्ट्रिय एकतालाई खल्बलाउनेलाई नचिन्ने र आफैंभित्र समस्या देख्ने परिपाटी गलत भएको टिप्पणी गरे ।


कार्यक्रममा गण्डकी प्रदेश सभाका प्रतिपक्षी दलका नेता हरिबहादुर चुमानले संविधान दिवस संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न प्रतिबद्धता गर्ने दिन भएको बताए । उनले अहिले सबैभन्दा निराशाको क्षणमा संविधान दिवस मनाएको टिप्पणी गरे । समारोहमा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कलाकारहरुले विभिन्न सांस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया