गण्डकीमा यस्तो आयो कांग्रेस र एमालेको साझा न्युनतम कार्यक्रम

समाधान संवाददाता २०८१ असोज १३ गते १३:१८
फाइल तस्बिर

पोखरा ।
नेपाली कांग्रेस र नेकपा (एमाले)को आइतबार न्युनतम साझा कार्यक्रम तयार भएको छ । गत असार १७ गते कांग्रेस र एमालले बिच भएको ७ बुँदे सहमतिकै आधारमा कार्यक्रम बनाइएको हो ।

Advertisement


नागरिकको सर्वोपरी हित र सेवामा समर्पित प्रदेश सरकार सञ्चालन गरिने कार्यक्रमा उल्लेख गरिएको छ । सहकारीमा देखिएका अनियमितता तथा अपचलनलाई रोक्न प्रभावकारी अनुगमन र नियमन गर्दै बचतकर्ताको बचत सुरक्षित गर्न गम्भिरतापूर्वक कार्य गरिने बताइएको छ ।


‘कोरलादेखि त्रिवेणीसम्मको सडक निर्माणलाई उच्च प्राथमिकतामा राखी काम अगाडी बढाइनेछ । व्यापारिक प्रयोजनका लागि आवश्यक पूर्वाधार सहित छिमेकी राष्ट्रसँगको सिमा नाका सुचारु गर्न विशेष पहल गरिनेछ ।’ कार्यक्रमा भनिएको छ ।


डायलासिस सेवाका लागि प्रतिक्षारत बिरामीलाई सुन्यमा राखिनेछ । प्रदेशका ११ वटै जिल्ला अस्पतालको क्रमशः क्षमता बिस्तार गर्दै लगिनेछ । सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याइनेछ । सरकारद्वारा निशुल्क उपलब्ध हुने औषधीको कमी हुन नदिई बितरणलाई प्रभावकारी बनाइनेछ ।


गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूति सहित पूर्ण संस्थागत सुत्केरीयुक्त प्रदेश बनाउने अभियानमा जोड दिइनेछ ।
पर्यटनको समग्र विकासमार्फत आर्थिक विकास र रोजगारी वृद्धिमा टेवा पर्‍याउने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण र नयाँ पर्यटकीय गन्तव्यको खोजी, व्यवस्थापन एवम् प्रचार प्रसार गरिनेछ ।

Advertisement


पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको सन्दर्भमा पोखरा जाऔं प्रकृति र संस्कृतिसँग रमाऔं भन्ने मुल मर्मका साथ पर्यटन पूर्वाधार विकासमा विशेष जोड दिइनेछ ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय उडानलाई सुचारु गर्नुका साथै आन्तरिक उडानका सेवालाई सबै प्रदेशमा विस्तार गर्न आवश्यक पहल र समन्वय गरिनेछ ।

तपाईको प्रतिक्रिया