कास्की कांग्रेसमा पर्यटन विशेषज्ञ वृत्त गठन

पोखरा । नेपाली कांग्रेस कास्कीको निर्णयानुसार कास्कीमा विशेषज्ञ वृत्त बनाउने निर्णय गरे बमोजिम नेपाली कांग्रेस कास्कीलाई आवश्यक राय, सल्लाह तथा सुझाव दिन निर्माण गरिएको विशेषज्ञ वृत्तमा समाजको विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तित्वहरुलाई समेटिएको नेपाली कांग्रेस कास्कीले जानकारी दिएको छ ।
जीवनको महत्वपूर्ण समय, ज्ञान, सिप र अनुभवले खारिएका व्यक्तित्वहरुको उपस्थिति र सक्रियताले कास्की कांग्रेस थप ऊर्जाशील वन्ने अपेक्षा लिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । विगतमा सामाजिक क्षेत्रमा क्रियाशिल रही समाजमा सम्मानित जीवन बनाएका उनीहरुको अनुभवले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने अपेक्षा सभापति बरालको छ ।
पार्टीले राजनीति, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण, योजना, उद्योग वाणिज्य, सुशासन तथा प्रशासन, साहित्य, कला तथा संगित क्षेत्रलाई समेटेर विशेषज्ञ वृत्त निर्माण गरेको हो । ‘समाजको विविध क्षेत्रमा रहेर उहाँहरुले आर्जन गर्नुभएको ज्ञान, अनुभव र विज्ञताको खाँचो र आवश्यकता पार्टीलाई सदैव छ, त्यसैले उहाँहरुको मूल्यावान समय र साथलाई फेरि पनि पार्टीले लिन चाहेको हो,’ सभापति बरालले भने ।
कास्की कांग्रेसले आइतबार निर्माण गरेको पर्यटन विशेषज्ञ वृत्तमा गणेश वहादुर भट्टराई, टिकाराम सापकोटा, सञ्जयकान्त सिग्देल, सोम थापा र दामोदरभक्त थापालाई मनोनित गरिएको छ । यसभन्दा अगाडि राजनीतिक विशेषज्ञ वृत्त निर्माण गरिसकिएको छ ।
अन्य विशेषज्ञ वृत्तहरु क्रमशः गठन गर्दै लैजाने जानकारी पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए । कास्कीको सामाजिक क्षेत्रमा अमूल्य समय र जीवन दिएका उनीहरुको उपस्थितिले पार्टीमा नयाँ उत्साह सञ्चार गर्ने नेपाली कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले दाबी गरे । अन्य वृत्तका विशेषज्ञहरु पनि छिट्टै निर्माण गर्ने तयारीमा रहेको कास्की कांग्रेसले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया