
म्याग्दी ।
पर्वतको जलजला गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मंगलबार गाउँकार्यपालिकाको कार्यालयमा कार्यालय समयमा गाउँपालिकाकै जिम्मेवार केही जनप्रतिनिधि (वडा अध्यक्ष र कार्यपालिका सदस्य)बाट कर्मचारीहरुले आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै बुधवारदेखि आन्दोलन सुरु गरेका हुन् ।
कार्यालय समयमा जिम्मेवार पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी नेमप्लेट र सूचना अधिकारीको बोर्ड समेत कार्यालय परिसर बाहिर फाल्ने, अमर्यादित र धम्कीपूर्ण शब्दहरुको प्रयोग गरी तथानाम गालीगलौज गर्ने तथा अन्य शाखाहरुका कर्मचारीहरुलाई समेत धम्काउने जस्ता अनुशासनहिन क्रियाकलापहरु भएकाले कर्मचारीले आन्दोलन गर्नुपरेको कर्मचारीहरुको भनाइ छ ।
केही समय अघि स्वास्थ्य शाखामा कर्मचारीको पदपूर्तिको विषयलाई लिएर गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यबाट कर्मचारीमाथि गलत क्रियाकलाप भएकाले कार्यालयमा रही काम गर्न उचित वातावरण नभएकाले कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण नबन्दासम्म गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक कामबाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।
‘कार्यालयको नियमित काम सञ्चालन गर्दैगर्दा ४ नम्बर वडाध्यक्षज्यू, ३ नम्बर वडाध्यक्षज्यू, २ नम्बर वडाध्यक्षज्यू र कार्यपालिका सदस्य भीमसेन विश्वकर्मा कार्यालयको कार्यकक्षमा प्रवेश गरी ४ नम्बरको वडाध्यक्षज्यूले तनाथाम गालीग्लौज गर्नुभयो ।’ अचार्यले भने । लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति भएर आएपछि दुईजना करारका कर्मचारीको सम्झौता रद्द गरेर पदपूर्ति पदस्थापना गरेको भन्दै जनप्रतिनिधिले दुब्र्यवहार गरेको कर्मचारीको भनाइ छ ।
यता जलजला ३ का वडाध्यक्ष एकेन्द्र केसीले भने आफू गाउँपालिकाको कार्यालयमा पुग्दा विवाद सामान्य भैसकेको बताउँदै करारका कर्मचारीलाई दशैँसम्म राखेर अध्यक्ष फर्किएपछि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको बताउँछन् ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया