सहकारी ठगी प्रकरण

रवि लामिछानेको फाईल बोकेर कास्की प्रहरीका एसपी र डिएसपी अदालतमा !

समाधान संवाददाता २०८१ कार्तिक २ गते १५:३४
फाइल तस्बिर

पोखरा ।

Advertisement

रास्वपाकाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नु पर्ने कारण सहितको फाईल बोकेर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख र उपप्रमुख जिल्ला अदालत कास्कीमा गएका छन् ।

हातमा २ वटा फाइलसहित एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा अदालत भित्र प्रवेश गरेका छन् । श्रोतले उनीहरुले बोकेको फाइलमा रवि लामिछानेलाई पक्राउ गर्नका लागि अदालतमा पुर्जी जारी गराउन आवश्यक पर्ने कागजात समावेश छन् ।

जिल्ला अदालत कास्की दशैको विदापछि आजैदेखि खुलेको छ । अदालतमा रहेका ७ मध्ये ६ न्यायाधिश विदामा छन् । एक जना न्यायाधिश कृष्णजंग शाह ढिलो गरी अदालतमा हाजिर भएका छन् । न्यायाधिश आउनासाथ कास्की प्रहरीका प्रमुख र उपप्रमुख दुवै जना अदालत भित्र प्रवेश गरेका हुन् ।

आज विहानै देखि रवि विरुद्ध पक्राउ पुर्जी जारी हुने हल्ला चले पनि प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रुपमा बोलेका छैनन् । कास्की प्रहरीका एसपी ‌‌‍ओलियाले समाधानको फोन उठाएका छैनन् ।

Advertisement

सूर्य दर्शन लगायतका सहकारीको रकम दुरुपयोग गरेको आरोपमा रवि माथि छानविन हुन लागेको हो ।

आजै विपक्षी दलकी बैठक राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछाने पक्राउ पर्ने संकेत दिएका थिए ।

आजै कास्की प्रहरीले सोही ठगी प्रकरणमा मुछिएका रवि र जिबीका अर्का व्यवसायिक साँझेदार छविलाल बन्जाडेलाई पनि अदालतमा हाजिर गराएको छ । उनलाई म्याद थप गर्नका लागि अदालत लगिएको हो ।

तपाईको प्रतिक्रिया