बिहिबार, ०७ चैत २०७५
samadhannews
kings

साहित्यले डोर्‍याउँछ राजनीतिलाई

बुधबार, १८ पुष २०७५

रवीन्द्र अधिकारी
गण्डकी क्षेत्रको नेपाली साहित्यमा विशेष स्थान रहेको यथार्थसँग हामी सबै सुपरिचित छौं । आदिकवि भानुभक्त आचार्य, कविशिरोमणि लेखनाथ पौड्याल, लोककवि अलि मियाँ, जनकवि केशरी धर्मराज थापा, सशक्त कवि भूपि शेरचनदेखि लोक गायिका हरिदेवी कोइराला तथा लेखक सरूभक्त जस्ता सर्जकहरुका कालजयी सिर्जनाले नेपाली साहित्यलाई अतुलनीय गुण लगाएका छन् । नेपाली भाषा र साहित्यको विकास र समृद्धिको लागि पोखरा र समग्र गण्डकी क्षेत्र अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाको कारण विशेष छन् । प्रकृति र साहित्य एक आपसका परिपुरक हुन् । बेलायती कवि वर्डस्ओर्थ प्रकृतिलाई साहित्यको जननी मान्दछन् भने ग्रीक दार्शनिक एरिस्टोटललाई कला–साहित्यको माध्यमबाट प्रकृति अझ सुन्दर र पूर्ण हुन्छ भन्ने लाग्छ । जेहोस् यी दुवै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् ।
साहित्य र समाजको सम्बन्ध र यसका बहुआयामिक पक्षहरूको बारेमा सताब्दिऔँदेखि थुप्रै विवेचना तथा समालोचनाहरू हुँदै आएका छन् । साहित्य तथा कलालाई मिमेटिक, प्रागमेटिक, एक्सप्रेसिभ तथा अब्जेटिभ जुनसुकै रुपमा परिभाषित गरे पनि यसको प्रभाव बहुआयामिक र दूरगामी छ । समय परिवर्तन हुने क्रममा यसमा पनि विविध पक्षहरु समेटिने अथवा हट्ने अवस्था रहन्छ । कुनै समय कला साहित्यका दृष्टिकोणले निकै टाढा र असम्बन्धित जस्तो लाग्ने शैली, सिजना तथा विषयवस्तुहरू अर्को समयमा कला साहित्यको अभिन्न अंगको रुपमा विकास भएका हुन्छन् । विज्ञान, प्रविधि, नविनतम् खोज, राजनीतिक सामाजिक परिदृष्य र मानवीय रुची इत्यादिका कारणले पनि वर्तमान समयमा साहित्यको परिधि पैmलिएको मात्र छैन, साहित्य मानव जीवनयापनको हिस्सा बनिसकेको छ ।
आज म विशेष खुसी हुनुमा अर्को महत्वपूर्ण पक्ष पनि छ । यो क्षेत्रको शिक्षामा अतुलनीय योगदान पु¥याउनु हुने जर्ज जोन र एलियाम्मा जोनको उपस्थितिले यो उत्सवलाई अझ विशेष बनाएको छ । पृथ्वीनारायण क्याम्पस जसले यो क्षेत्रका जनतामा शिक्षाको नयाँ क्षितीज खोलेको थियो त्यो क्याम्पसको शैक्षिक तथा भौतिक विकासको लागि आफ्नो जीवनको सबैभन्दा उर्जाशील समय, ज्ञान र विद्वता उपयोग गरी यस क्षेत्र मात्र नभई समग्र मूलुककै शिक्षा क्षेत्रमा योगदान गर्नुभएका आदरणीय जर्ज जोन र एलियाम्मा जोनलाई हार्दिक सम्मान गर्न चाहन्छु र उहाँहरूको विशिष्ट योगदान प्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । त्यसैगरी यस महोत्सवमा अर्को सुखद् संयोग परेको छ । एकै पटकको जीवनमा ३ वटा जीवन (क्यान्सर पूर्वको जीवन, क्यान्सर संग दृढरुपमा लड्दाको जीवन र क्यान्सरलाई पराजित गरि आफू मुक्त भएपछिको जीवन¬) बाँचेकी आज विश्वभरिनै उत्साह र प्रेरणाको श्रोत बनेकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आफ्नो अनुभवलाई अक्षरका माध्यमबाट अभिव्यक्त गरिएको कृति ‘हिल्ड’ पनि विमोचन भएको छ ।
यस फेस्टिभलमा साहित्य, कला, संस्कृति, पर्यटन, पत्रकारिता, लैंगिक समानता, आर्थिक सामाजिक स्वतन्त्रता लगायत विविध पक्षहरुमा छलफल, अन्तरक्रिया, विवेचना हुने कार्यक्रम रहेकोबाट साहित्यको दायरा र प्रभाव कति फराकिलो र उदार बनेको छ भन्ने प्रष्ट हुन्छ । यस मञ्चको माध्यमबाट नेपालमा रहेका सांस्कृतिक विविधताले विभिन्न शैलीद्वारा अभिव्यक्त हुने र साहित्य सिर्जनाद्वारा देशको साहित्य भण्डारलाई थप समृद्घ बनाउने अवसर प्राप्त गरेको मैले बुझेको छु ।
कला साहित्यको भूमिका इतिहासदेखि नै राजनीतिमा अझ प्रष्ट र सशक्त छ । कैयौं साहित्यिक कृति राजनीतिक तथा कयौं राजनीतिक दस्तावेज साहित्यिक भएका उदाहरण हामी माझ छन् । दार्शनिक प्लेटोले लेखेको रिपब्लिकजस्ता कृतिहरु जति राजनीतिक थिए, त्यतिकै साहित्यिक पनि । सन् १७७६ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले लेखेको दी ‘डिक्लरेसन अफ इन्डिपेन्डेन्ट’ विश्वकै महत्वपूर्ण १ राजनीतिक दस्तावेज हो भने उक्त निबन्धले साहित्यमा उत्तिकै सशक्त उपस्थिति जनाएको छ । हाम्रो मुलुक पनि गोपालप्रसाद रिमालको ‘आमा’, महाकवि देवकोटाको ‘पागल’, डायमन समसेरको ‘सेतोबाघ’, कृष्णलालको ‘मकैको खेती’ लगायत कयौं कृतिहरू जति साहित्यिक छन्, त्यतिकै राजनीतिक पनि । देशको समुन्नत विकासका लागि साहित्य र राजनीति नङ र मासु जस्तै घनिष्ट छन् । हाम्रो देशमा साहित्यले राजनीतिक परिवर्तनमा अत्यन्तै ठूलो भूमिका खेलेको छ । सायद साहित्य त्यति सशक्त नभएको भए नेपालमा राजनीतिक परिवर्तत सम्भव हुँदैनथ्यो होला । तसर्थ, एकजना चिनीयाँ लेखकले भने जस्तै– सरकारले साहित्य सिर्जनाको लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्दछ– भन्ने मेरो पनि धारणा छ र यसका लागि नेपाल सरकार प्रतिबद्घ छ । परिस्कृत कला, साहित्यले परिस्कृत संस्कृति, सभ्यता, समाज र देशको परिचय दिन्छ भन्ने मैले राम्ररी बुझेको छु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको हैसियतले यो कार्यक्रमलाई मैले पर्यटकीय र सांस्कृतिक दृष्टिकोणबाट पनि महत्वपूर्ण ठानेको छु । यस्ता प्रकारका कार्यक्रमको आयोजनाले यस क्षेत्रको पर्यटनलाई प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्दछ भने यहाँबाट विमोचन भएका वा विवेचना भएका कृतिका माध्यमबाट पनि यो क्षेत्रको पर्यटन प्रवद्र्धन हुन जान्छ । साहित्यमा प्रस्तुत हुने सेटिङ, प्लट, क्यारेक्टरको माध्यमबाट पनि उक्त स्थान तथा संस्कृति विशेषको प्रवर्धन भएको पाईन्छ । उदाहरणका लागि, ब्राजिलका लेखरक पाउलो कोहेलोको पुस्तकमा वर्णित नेपालको सन् ६० र ७० को दशकको हिप्पिको सन्दर्भले धेरै पाठकलाई नेपालबारे कौतुहलता सिर्जना गरेको पाईन्छ । यसबाट पनि गन्तब्यकोबारे जानकारी प्राप्त हुनसक्छ । त्यसो त सबै सन्दर्भहरू सकारात्मक हुन्छन् भन्ने छैन, हरेक चीजका सकारात्मक तथा नकारात्मक पक्षहरू रहेका हुन्छन् । हामीले कम्तीमा पनि राम्रा पक्षहरूको उपयोग गर्न सक्नु पर्छ । प्रसिद्घ लेखिका मञ्जुश्री थापाको ट्युटर अप हिस्ट्री, सम्राट उपाध्याय, प्रज्ज्वल पराजुली लगायत अन्य नयाँ पुस्ताका लेखक साहित्यकारका अंग्रेजी भाषामा देखिएका पुस्तकले नेपाल र नेपालीप्रति विश्व समुदायमा १ प्रकारको छाप छोड्न सफल भएका छन् भने नेपाली भाषामै लेखिएका अद्भुत पुस्तकले नेपाल र नेपाली स्रष्टाहरुलाई विश्वमा चिनाउन सफल भएका छन् ।
मलाई आशा छ, यस फेस्टिभलमा छलफल हुने र भएका विषयवस्तुले नेपालको सांस्कृतिक पहिचान र सम्बृद्धिलाई टेवा पु¥याउने छन् । र यस्ता प्रकारका कार्यक्रमहरूले नेपाली सांस्कृतिक पर्यटनको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्नेछन् । प्रसिद्ध भारतीय कवि रविन्द्रनाथ टैगोरले ‘साहित्यले विषम्ता र शत्रुताको पर्खाललाई हटाई विश्व बन्धुत्वको भावना जागृत गर्छ’ भने जस्तै यो साहित्यिक उत्सवले सम्पूर्ण नेपालीहरूलाई प्रेम र एकताको सूत्रमा वाध्नका लागि सहयोग गर्ने छ भन्ने विश्वास लिएको छु । र यसबाट नविन विचार र शैलीको विकासमा समेत टेवा पुग्नुका साथै नयाँ नयाँ सिर्जनाकालागि उत्प्रेरणा जाग्ने छ भन्ने मलाई लागेको छ ।
अब पोखरा प्राकृतिक र पर्यटकीय सहर मात्र नभई सांस्कृतिक र साहित्यिक सहरको रुपमा समेत स्थापित हुने विश्वास लिएको छु ।
हामीले सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउन गइरहेका छौं । २० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्य अनुरुप मनाउन लागिएको भ्रमण वर्षलाई यहाँहरूको तर्फबाट पनि उल्लेखनीय सहयोग पुग्ने छ भन्ने आशा लिएको छु । नयाँ पुस्तकका साथ लेखिकाको रुपमा पनि आफूलाई स्थापित गरेकोमा सुशीला कार्की, मनिषा कोइराला, शिवानीसिंह थारु लगायत सबै लेखक लेखिकाहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । यसबाट नेपालमा नयाँ सर्जकको अभ्यूदय भएकोमा मलाई खुसी लागेको छ ।

पोखरामा शनिबार सुरु नेपाल लिटरेचर फेस्टिभलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मन्तव्य ।

सम्बन्धित खबर