आइतबार, ०६ माघ २०७५
samadhannews
nisann

स्ववियु निर्वाचनकाे २ वर्षमा पनि मतगणना भएन

मङ्गलबार, २४ पुष २०७५

निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै १० मतपत्र भेटिएपछि नेवि संघले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो


वालिङ

वालिङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको झण्डै २ वर्ष हुँदा पनि मतगणना हुनसकेको छैन ।

विसं २०७३ फागुन १८ गते स्ववियु निर्वाचन भएको थियो । निर्वाचनपछि मतगणनामा विवाद भएकाले गणना स्थगन गरिएको हो । ‘मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न भएको थियो,’ इलाका प्रशासन कार्यालय वालिङका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत दामोदर शर्माले भने, ‘मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखतका विषयमा विवाद भएपछि स्थगन गर्नु परेको हो ।’

मतगणनाका क्रममा निर्वाचन अधिकृतको दस्तखत नभएका पहिलो मुठामै १० मतपत्र भेटिएपछि नेवि संघले विरोध गरेको थियो भने अनेरास्ववियुले मतगणना गर्न माग गरेको थियो । ‘मेरो संयोजकत्वमा छानबिन समिति गठन गरी प्रतिवेदन दिन अगाडि बढ्यौं,’ प्रमुख निर्वाचन अधिकृत शर्माले भने, ‘क्याम्पसमा तत्कालै परीक्षाको समय भएको र छलफल निष्कर्षमा नपुगेकै कारण मतगणना हुन सकेन ।’

स्ववियुको अर्को निर्वाचनको मिति पनि अब नजिकै आउन थालेकाले पुन मतगणना हुने सम्भावना कम रहेको शर्मा बताउँछन् । क्याम्पसभित्रको समस्याका बारेमा क्याम्पस सञ्चालक समितिमा पटक–पटक यही विषयमा छलफल भएकोले अब छिट्टै विद्यार्थीसँग बसेर निष्कर्षमा पुगिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले बताए ।

‘गणना र पुन निर्वाचनले द्वन्द्व सिर्जना गर्ने अवस्था देखिने ठान्यौं,’ उनले भने, ‘छलफल गरी निचोडमा पुग्छौं ।’ त्रिविले तोकेको समयमा नयाँ संरचनाअनुसार नयाँ नेतृत्वका लागि निर्वाचन गरी समाधानको बाटो अँगाल्ने विषयमा सञ्चालक समितिमा छलफल भइरहेको रेग्मीको भनाइ थियो । मतपेटिका हालसम्म पनि वडा प्रहरी कार्यालय वालिङमा शिलबन्दी गरी राखिएको छ । रासस

सम्बन्धित खबर