आइतबार, ०६ माघ २०७५
samadhannews
nisann

—सम्पादकीय— प्रदेश सभामा टीठलाग्दो भाषण

बुधबार, २५ पुष २०७५


प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो दिन २३ पुसमा प्रदेश सभामा ४ दलका अगुवा नेताले भाषण गरे । त्यो भाषण सुन्दा प्रदेश सभाले संघीयताप्रति आशा जगाउन सकेन बरु टीठ जगायो । विचरा नेताहरु भन्ने अवस्था उनीहरुकै भाषणले देखायो । कठै तिनको बौद्धिक स्तर ! प्रदेश सभा कसरी अगाडि बढ्ने र आगामी दिन कसरी जालान् भन्ने छेकछन्द तिनका भाषणमा आएन । सत्तारुढ दल नेकपाको संसदीय दलका सचेतक मायानाथ अधिकारी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, जनमोर्चाका कृष्ण थापा र नयाँ शक्तिका हरिशरण आचार्यलाई भनाइ राख्न दिएर सोमबारको पहिलो बैठक अन्त्य सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । सोमबारै बसेको अर्काे बैठकले दिवंगत सांसद टेकबहादुर घर्तीप्रति श्रद्धाञ्जलीसहित शोक प्रस्ताव पारित गर्‍यो ।

मर्निङ सोज द डे भने झैं प्रदेश सभाको अधिवेशनको पहिलो दिनले केही आशा जगाउला भन्ने आशा राख्नु कदाचित अन्यथा थिएन । असोज ८ गते दोस्रो अधिवेशन सकेर ३ महिनापछि प्रदेश सभा आएका सांसदमा कुनै जोश, जाँगर र इच्छाशक्ति प्रतीत भएको भएन । झन् तिनैका अगुवाहरुले प्रेरणा भर्न नसक्दा कठै भन्नुको विकल्प रहेन । मायानाथ अधिकारीले झन्डै २४ मिनेट भाषण गरे । तर त्यो लामोमात्रै थिएन, अत्यन्तै पट्यारलाग्दो थियो । कृष्णचन्द्र नेपालीले पनि त्यतिकै समय बोले । उनको पनि उस्तै झर्काे लाग्दो । कृष्णचन्द्रले त बिपीदेखि सुशील कोइरालासम्मका नाम लिँदामात्रै ५ मिनेट समय खर्चिए । बरु जनमोर्चाका कृष्ण थापाले आफूलाई प्रष्ट संघीयताको विपक्षी बताए, खर्चिलो व्यवस्था भयो भने । मन्त्री र सांसदहरु धेरै भयौं भने । गण्डकी प्रदेश सरकारले गाउँपालिकापिच्छे हस्पिटल खोल्ने कार्यक्रम ल्याउँदा १२ हात उफ्रिएर समर्थन गरेकोमा आज आएर काम अगाडि नबढ्दा निराश बनेको सुनाए । हरिशरण आचार्यले संघीयता पक्षधरहरु नै यसको भक्षकजस्तो बनेको बताए ।

संघीयता कार्यान्वयन गर्नुपर्छ, संघीयता विरोधी आवाजको विरोध चिर्नुपर्छ भनेका मायानाथ अधिकारीका शब्दमा न कुनै तर्क थियो, न दम । उनीबाट ज्ञानगुनपूर्ण भाषण आउला भन्ने आशा गर्नु नै गलत सावित हुने उनकै भाषणले पुष्टि गरिहेको थियो । व्यवस्था बदल्यौं, संरचना बदलौं भन्ने टाइपका सुगा रटाइमै त्यतिका समय खर्च गर्दा सुन्ने सांसदहरु झन्डैझन्डै निदाउन लागेको पनि भेउ नपाउनु मायानाथ सँगै कृष्णचन्द्र नेपालीको पनि कमजोरी थियो । कांग्रेसका नेता नेपालीले ३६ मिनेट लामो भाषणमा प्रदेश सरकार र प्रदेशका मुद्दाबारे ५ मिनेट पनि बोल्न सकेनन् । धन्न पोखराका टेलिभिजनहरुले प्रदेश सभा बैठकको लाइभ कास्ट गर्दैनन् र । उनीहरुका टीठलाग्दा भाषण आमजनताले झेल्नुपरेन । भाषण कस्तो हुनुपर्छ कांग्रेसहरुले बिपी कोइरालाबाटै सिकेको भए हुने । कम्युनिस्टहरुले मदन भण्डारीबाट सिकेको भए हुने । छिमेक पुग्ने हो भने जवारलाल नेहरुबाट सिकेको भए हुने । अझै टाढा जान मन लागे विन्स्टन चर्चिलबाट प्रेरणा लिए हुने । होइन केही पनि गर्न सकिन्न भने लम्बेतानबाहेक कमजोरी बिर्सेर आफ्नै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मात्रै पछ्याउन सकेमात्रै पनि यहाँका सांसदको भाषणको स्तर बढ्ने थियो ।

सम्बन्धित खबर