सोमबार, १८ साउन २०७८
samadhannews
Sanima Bank New year offer

उचाईमा सपना देख्ने सुन्दरी

आइतबार, २० माघ २०७५

जमुना वर्षा शर्मा

समाजमा अझै पनि महिलाको क्षमता र दक्षतालाई सहजै स्वीकार्यको पाइंदैन । यद्यपि, समाजले सोचिरहेको परिधिलाई पार गरेर फरक क्षेत्रमा आफूलाई स्थापित गर्न केही अपवाद बाहेक महिला पिँजडाबाट स्वतन्त्र हुँदैछन् । जसको उदाहरण, ‘प्याराग्लाइडिङ पाइलट’ बनेको छ ।
‘सफल बन्न हरेक दिन नयाँ सपना देख्नुपर्छ । देखिएका सपना मध्ये आफ्नो रुचि र सन्तुष्ट मिल्ने सपनालाई पूरा गर्न मेहेनत गर्नुपर्छ ।’ प्याराग्लाइडिङ पाइलट प्रतिभा भुजेलले आफ्नो व्यवसाय र चाहनाको समीश्रणलाई व्यक्त गर्दै भनिन्, ‘आकाशमा उडेको सपना देख्थे त्यही पूरा गर्न मेहेनत गरे सफल हुँदै गए ।’

पोखरा लेकसाइडकी उनी चरा उडेका दृश्य देखिरहँदा मनभरी त्यस्तै सपना देख्दै हुर्किइन् । पूरा गर्न कुनै कसुर बाँकी राखिनन् । अन्तत फरक क्षेत्रमा आफूलाई स्थापित गर्न सफल भइन् । समाजमा अझै पनि महिलाको आत्मविश्वास र क्षमतालाई सहजै स्वीकार्न सक्ने अवस्था बनिसकेको छैन । तर, अवसर र क्षमताले जस्तो सुकै चुनौती र साहासिकपूर्ण क्षेत्रमा पनि महिलाले गर्न सक्छन् र सफल हुन्छन् भन्ने उदाहरणका पात्र मध्य कि एक हुन्, भुजेल । बुबा कालिबहादुर भुजेल र आमा देउमाया भुजेलकी ४ सन्तान मध्ये जेठी प्रतिभाले सन् २००९ बाट प्याराग्लाइडिङ उडानका लागि तालिम लिइन् । २०१२ बाट व्यावसायिक उडान सुरु गरिन् ।

प्रतिभा भुजेल

ब्लु स्काई कम्पनीबाट उडानको प्रशिक्षण लिएकी ३३ वर्षीय भुजेलले सोलो हुँदै टेन्डम उडान गरेकी हुन् । भुजेल टेन्डम उडान गर्ने नेपालकै पहिलो व्यावसायिक महिला प्याराग्लाइडर पाइलट हुन् । सुरुमा उनको यो रुचिप्रति परिवारको समर्थन रहेन तर रहर र इच्छाबीच झागिंएको आत्मविश्वासमा परिवार बाध्य भएर समर्थन गर्नु पुगे । आज उनको कामप्रति परिवार खुसी छन् ।

पहिलो उडान गर्दाको अनुभवबारे भुजेल भन्छिन्, ‘पहिलो उडान त रोबर्ट जस्तै वाकिटकीको सहारामा प्रशिक्षकको निर्देशनमा मात्रै केन्द्रित भयो । मजा लिने अवसर नै मिलेन । त्यसपछिका दिनहरुमा भने आकाशमा रमाउने बानी भयो ।’ साढे ४ घन्टासम्म आकाशमा उड्दाको खुसीका पलहरु सुनाउँछिन् । संस्मरण रहोस्, भुजेल एसियाड गेममा महिला टोलीको नेतृत्व गरेकी प्यारापाइलट हुन् ।

लेकसाइडकै त्रिसाको पनि सपनाको उचाई निकै माथि छ । त्यसो त पारिवारिक साथ र प्रेरणाबाट आफ्नो लक्ष्यको उचाई बढाएकी त्रीसा श्रेष्ठ नेपालमा प्याराग्लाइडिङ भित्र्याउने पाइलट विरु बमजनकी बुहारी हुन् । बुबा ज्ञानबहादुर र आमा सीता मायाकी सन्तान त्रीसा प्याराग्लाइडिङ पाइलट श्रीमान् राजेश बमजनको प्रेरणा र साथले सफल भएको बताउँछिन् । ३० वर्षीय श्रेष्ठ ग्राफिक्स डिजाइनर पनि हुन् । सन् २००७ मा श्रीमान्ले सिक्ने हो भनेर ख्यालख्यालमा भनेको स्मरण गर्दैै भन्छिन्, ‘त्यही शब्दले नै रहरलाई स्थापित गरिदियो ।’

उनले सनराइज प्याराग्लाइडिङबाट १५ दिनको कोष गरिन् र ६ वर्ष सोलो र ४ वर्ष टेन्डम गरिन् । आकाशमा उड्दा बढेको आत्मविश्वासले जीवनलाई सधैं प्रफुल्लित बनाइरहेको उनको अनुभूति छ । त्रीसाले नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपमा पहिलो पल्ट तेस्रो स्थान र दोस्रो पल्ट दोस्रो स्थान हासिल गरेकी थिइन् । इन्डोनेसियाको बाटुमा एकुरेसी वल्र्ड कपमा पनि श्रेष्ठ सहभागी भएकी थिइन् ।

किसु पौडेल पनि पोखरा लेकसाइडकी बासिन्दा हुन् । हरेक दिन आकाशमा उडिरहेका प्याराग्लाइडिङ देख्दा उनीमा पनि नजानिंदो किसिमले रुचि बढ्दै गयो । तत्कालीन समयमा विदेशी प्यारापाइलट महिलाले निर्धक्कका साथ उडेको देख्दा उनको मनमा पनि गरे सकिंदो रहेछ भन्ने सोच पलायो । ‘विदेशबाट आएर हाम्रो भूगोलमा यति आनन्दले उडिरहेका छन् । हामीले पनि त गर्न सक्छौ नि ।’ त्यही दिनदेखि उनलाई आकाशमा उड्ने रहर बढ्यो । सन् २००९ मा उनले प्याराग्लाडिङ गरिन् । आनन्द महसुस गरिन् । त्यसको ३ वर्षपछि उनले आफै प्याराग्लाइडर पाइलट बन्ने सोच बनाइन् र तालिम लिन सुरु गरिन् । ब्लु स्काइ कम्पनीबाट १५ दिने सैद्धान्तिक र सोलो उडानको व्यवहारिक अभ्यास पूरा गरिन् । त्यसपछि आफ्नो सपना उचाइमा देख्न थालिन् ।

किसु पौडेल

व्यवस्थापनमा स्नातक उत्तीर्ण २७ वर्षीय किसु बुबा होमनाथ र माता रुपा पौडेलकी चौथो सन्तान हुन् । जीवनमा खुसीका रंगहरु मेहेनतले मात्रै भर्न सकिन्छ भन्ने सोच राख्ने पौडेल, पर्यटकीय नगरी पोखरामा साहासिक खेलको रुपमा विकास भएको प्याराग्लाइडिङको स्कोप राम्रो भएको र आर्थिक रुपमा सबल हुन सक्ने सम्भावना देख्छिन् । उडानमा पर्यटकले महिला–पुरुष पाइलट भनेर रोज्दैनन् तर मुस्लिम महिलाले महिला पाइलट बढी खोज्ने गरेको पौडेलको अनुभव छ । किसु भन्छिन्, ‘पर्यटक उडानपछि खुसीका साथ धन्यवाद दिन्छन् । बेग्लै अनुभूति हुन्छ ।’

कतिपय क्षेत्रमा महिला र पुरूषबीच पारिश्रमिकमा विभेद रहे पनि यो क्षेत्रमा त्यस्तो भेदभाव नरहेको उनले गर्वका साथ सुनाइन् । तर, बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण यो पेसा पहिला जस्तो आकर्षक नरहेको उनको भनाई छ । पोखरामा प्रमुख पर्यटकीय आकर्षणका रूपमा साहसिक खेल प्याराग्लाइडिङको विकास भएको २ दशकभन्दा बढी भइसकेको छ तर उचित व्यवस्थापनको अभाव प्याराग्लाइडिङ पाइलटहरु भने सन्तुष्ट हुन सकेका छैन । अझ महिला पाइलटहरु जुन उत्साहले यस क्षेत्रमा प्रवेश गर्छन् तर त्यो अनुसारको वातावरण हुँदैन । अनि सिक्ने र रहर पूरा गरेर अर्को पेसा– व्यवसाय तिर लाग्ने गरेको उनीहरुको भनाई छ ।

पोखरामा ५० कम्पनीले व्यावसायिक प्याराग्लाडिङ उडान गर्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका महासचिव वसन्त दवाडि बताउँछन् । झन्डै ३ सय हाराहारीमा पाइलट छन् । १०÷१५ जनामात्रै महिला छन् । व्यावसायिक उडान गर्ने महिला जम्मा ५÷६ जना छन् । बाँकी सोलो उडान गरिरहेका छन् । विदेशी पर्यटकले भने महिला पाइलटसँग बढी सुरक्षित महसुस गर्ने गरेको दवाडि बताउँछन् ।

सन् २००९ मा महिला पाइलट एउटा उत्साहका साथ यस क्षेत्रमा प्रवेश गरे । तत्कालीन समयमा महिलाले पनि प्याराग्लाडिङ उडाउन सक्छन् भनेर आशंका र अविश्वासको नजरले हेरेका महिला आज हरेक दिन उडान भरिरहेका छन् । व्यावसायिक रुपमा पनि निकै सफल भइरहेका छन् । दवाडि भन्छन्, ‘उनीहरु साहसी महिला हुन् । नेपाली समाजका नमुना महिला हुन् ।’

सम्बन्धित खबर