सोमबार, ०६ फागुन २०७५
samadhannews
kings

‘कम्युनिष्टका किताब पढी पढी कांग्रेस बनें’

शनिबार, २६ माघ २०७५

समाधान सम्वाददाता

स्कुले जीवनमा असाध्यै किताब पढें, त्यो पनि राता किताब । कांग्रेसको राजनीति गर्छ, अनि राता किताब पढें भन्दा अचम्म लाग्ला । मैले कम्युनिस्ट किताब नपढेको भए कांग्रेस नै हुने थिइन् । जुनसुकै पार्टीको राजनीति गर्न पनि अध्ययन चाहिन्छ । अध्ययन नगरी आफ्नो विचार बन्दैन । विचारबिनाको मान्छे, मान्छे बन्दैन ।

किताब अध्ययनका पनि किस्सा छन् । मेरो घर पछाडि भीर छ । त्यही भीरको बाटो हाम्रो घरबारीसम्म बाँदर उक्लिन्थ्यो । मेरो काम खेतीपातीको चौकीदारी थियो । बिदाका दिन र साँझबिहान बाँदर कुर्ने थियो । त्यो बेला बाँदर कुरुवा भएर खुब कम्युनिस्ट किताब पढें । वेदप्रकाश शर्मा, सुरेन्द्र मोहनहरुका हिन्दी उपन्यास पनि त्यतिबेलै पढें । मेरा बाल्यकालका केही याम भारततिरै बित्यो । हिन्दी किताब पढ्थें । हिन्दी नै बोल्थें । नेपाली पछिमात्रै सिकें ।

पछि पोखरा फर्केर बाटुलेचौरको विन्ध्यवासिनी मावि हुँदै पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पढ्न पुगें । म त्यहाँको पहिलो ब्याच हुँ । इन्जिनियर क्याम्पस नेवि संघको संस्थापक सभापति र स्ववियुको पनि संस्थापक सभापति बनें । त्यतिबेला खुब विद्यार्थीबीच खुब बहस चल्थ्यो । तर्क दिन र बहसमा भाग लिन तिनै कम्युनिस्ट किताबको अध्ययनले सहयोग गथ्र्यो । पहिले कम्युनिस्ट विचार धारामा के छ भनेर नपढी त्यहाँ म नेवि संघका लागि बहस र तर्क गर्न सक्दिनथें । कम्युनिस्ट किताबहरु सके जति, पाए जति पढें । लेलिनका किताबहरु खोजीखोजी पढें ।

इन्जिनियरिङ पढ्न पुल्चोक क्याम्पस पुगें । त्यतिबेला २ पैसा, ५ पैसा, १०, २० पैसामा कम्युनिस्ट विचारधाराका किताब पढ्न पाइन्थ्यो । माक्र्सको दास क्यापिटलको ३ वटा भोलुम एक सय रुपैयाँमा किनें । कलेजले त्यतिबेला भत्ता दिन्थ्यो । भत्ता किताब किन्नमै लगाएँ । रसियन साहित्यकार टोल्स टोयदेखि गोर्खीसम्मका किताबहरु ८, १० रुपैयाँमा ८, १० वटै पाइन्थ्यो । मसँग त्यतिबेला ७, ८ सय किताब थिए । त्यसमा अधिकांश कम्युनिस्ट विचारधारका किताब थिए ।

पछि म बेलायत हानिएँ, यता माओवादी संशत्र संघर्ष चक्र्यो । त्यो बेला घरमा कम्युनिस्ट किताब हुनु भनेको ठूलो जोखिम थियो । सेनाले दुख दिने डरमा बुबाआमाले जलाइदिनु भयो । राता किताब आगोको रातो ज्वाला बनेर सकियो ।

पहिले कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु मकहाँ पुगेर किताब लैजान्थे । पछि लामाचौरमा लाइबे्ररी खुल्यो । त्यहाँ मैले १५ सय किताब दिए । पछि त्यो लाइबेरी चलेन, बन्द भयो । त्यहाँका किताब लाइब्रेरी चलाउनेहरुको घरघरमा पुगे ।

पहिले मैले पढ्ने किताब साहित्यका पनि थिए । अहिले मैले पढ्ने आख्यानभन्दा गैरआख्यान किताब हुन् । किताब समातेपछि सकेरमात्रै छोड्ने बानी थियो । थुप्रै पटक किताब पढ्दा पढ्दै निदाएको छु, कहिले पढ्दापढ्दै उज्यालो हुन्थ्यो ।

सेक्सपियर, पाउलो कोइल्यो, लियो टोल्सटाय, चाल्स डिकन्स, मार्क टोयनका किताबहरु मन पर्थे । सबैभन्दा मन परेको किताब हो, चाहिँ वार एन्ड पिस । नेखनमा चाहिँ धु्रवचन्द्र गौतमको लेखन मन पथ्र्यो । बिपीलाई पनि पढें । मान्छेले राजनीतिमा भन्दा उनको साहित्यमा उचाई अग्लो हो भन्छन् । तर, मलाई त्यस्तो लाग्दैन । सफल साहित्यकार होलान्, मान्नु पनि पर्छ । तर सिगमन्ड फ्रायडको शैली र तरिका बिपीले सुम्निमामा ल्याएका छन् । त्यो एउटा आँट हो त्यो बेला एउटा राजनीतिज्ञको लागि ।

उनका कतिपय साहित्य विदेशी किताबमा पढिसकेजस्तो लाग्छ । को अभिप्रेरित हो भन्ने थाहा भएन । विशेष गरी रसियन राइटरका विषयसँग मेल खाएजस्तो पनि लाग्छ, लाग्न नपाउने कुरा भएन । यो मेरो निजी बुझाइ हो ।

म विशेष अचेल गैरआख्यान किताब पढ्ने भएकाले केही पछिल्लो पटक आएका आत्मकथाको कुरा गर्छु । पछिल्लो पटक दुर्गा सुवेदी र सुशीला कार्कीको किताब रुचिकर मानेर पढें । यति ठोकुवा गरेर भन्छु, सुशीला कार्कीको किताबमा धेरै नै बनावटी छ । आत्मरतिमा रमाउने, आफूलाई भयंकर ठान्ने । त्यत्रो सेवा अवधिमा कुनै पनि गल्ती र कमजोरी नै नहुने भन्ने हुन्छ त ? हुँदैन ।

आफूलाई दोषरहित नायकका रुपमा प्रस्तुत गर्न अचेल आत्मकथा लेखिन्छ । सुशीला कार्कीले गरेका कतिपय कामका हामी साक्षी नै छौं । धेरै हदसम्म हेरेर, पढेर जानेका, देखेका पनि हौं । किताबमार्फत आफूलाई हिरोइजममा राख्ने प्रवृति दोहो¥याइन सुशीलाले पनि । कटुवाल भन्नुस्, चाहे विवेक शाह । विजयकुमारको खुसी त झन् कुरै नगरौं । सबैमा आत्मरति छ । दुर्गा सुवेदी चाहिँ सत्य र इमान्दारिताको नजिक छन् । आत्मकथामा आफू सेवारत रहँदा गरेका काम ठिक थियो भनेर जस्टीफाई गर्न शब्द खर्चियो भन्ने मेरो बुझाइ हो ।

आत्मकथामा कथामात्रै भयो, आत्म भएन । आफ्ना नकारात्मक र केही गल्ती कमजोरी नलेख्ने पनि आत्मकथा हुन्छ त ? लुकेका, नआएका पाटो आउने हो भने पो रोचक र नयाँ कुरा पनि थाहा पाइन्थ्यो ।

आजकाल अलिकति किताबको समय युट्युब र अनलाइनले खाइदियो । १ देखि २ बजे युट्युब र अनलाइनमै भुल्ने भएको छु । समाचार पढ्न छुटाउँदिन । १ राउन्ड चल्तीका अनलाइनमा आँखा दौडिन्छन् । किताबले सकारात्मक किरणमात्रै छोड्दैन असीमित ज्ञान भर्छ । भाषण गर्ने, बहस गर्नेहरुका लागि भाषा बनाउँछु भन्नेले किताब नपढी हुँदै हुँदैन ।
अमृत सुवेदीसँगको कुराकानीमा आधारित

सम्बन्धित खबर