सोमबार, ०६ फागुन २०७५
samadhannews
kings

सारंगी मान्छेः जो धुन खोज्दै समुन्द्रपारबाट नेपाल आइपुगे

सोमबार, २८ माघ २०७५

विकास रोकामगर

थियटरको अँध्यारो कोठा । बीचबीचमा बल्ने उज्यालो दृश्य । झल्याक झुलुक बल्ने बत्तीमा स्टेजमा देखिन्छ पुरानो शैलीका माटाका घर । कोठाभरि लुङ्दर । हेर्दा आकासैमा टाँगिएजस्तो । घरको अघिल्तिर केही विशिष्ट व्यक्तिका पोट्रेट फोटो छन् । जस्तो कि अरुणा लामा, नारायण गोपाल, स्रमाट अशोक आदिआदि ।

स्टेजमा उक्लिए खैरो वर्णका एकजना विदेशी नागरिक । तर उनले हातमा समाएका थिए – नेपाली वाद्ययन्त्र सारंगी । विस्तारै आफ्नो परिचय दिए – ‘नमस्कार सबैलाई । मेरो नाम एरिक बोङकाम । मेरो घरचाहिँ दक्षिण अमेरिकाको कोलम्बिया हो ।’

पोखरामा लाइभ एफएमले गरेको पोखरा लिट्रेचर फेस्टिबलमा एरिकले सारंगी रेटेर धुनमात्रै बजाएनन्, गन्धर्व जातिबारे तथ्य पनि बाहिर ल्याए । ‘सारंगी एउटामात्रै यस्तो बाजा हो । जसमा एक ठाउँ पनि धातु प्रयोग भएको छैन । मैले देखेकामध्ये सबैभन्दा यही प्राकृतिक नेपाली बाजा हो,’ ढिलो तर सकेसम्म शुद्ध उच्चारण गर्दै उनले भने, ‘यसको विशेषताबारे नेपालीलाई नै थाहा छैन ।’

संगीतमा एरिकले डिग्री गरिसकेका छन् । यसबाट पनि उनलाई संगीतप्रति कति रुचि छ । करिब ४ वर्षपहिले मेक्सिकोमा एकजना भारतीयले सारंगी बजाएको देखेर उनलाई त्यससँग माया बसेको सुनाए । ‘सारंगी मन परेपछि यसबारे खोजी गर्दा नेपालको मौलिक बाजा भन्ने थाहा पाएर आएँ,’ उनले भने, ‘साह्रै प्राकृतिक धुन निस्किन्छ । तर पछिल्लो समय यसको प्रयोग कतै भएको देख्दिनँ ।’

एरिकले आफू पनि अरुले बजाएको देखर प्रभावित भएको बताउँदै नेपाली युवालाई पनि त्यसबारे सिकाउनुपर्ने सुझाव राखे । उनले भने, ‘मैले यहीं आएपछि थाहा पाएँ । यो बाजा गन्धर्व जातिसँग एकदमै नजिकको सम्बन्ध रहेछ ।’ पहिले सारंगी बजाउन नजान्ने गन्धर्वको बिहे नै नहुने गरेको तथ्य बाहिर ल्याउँदै उनले अहिले सो परम्परा हटिसकेको सुनाए ।
फेस्टिबलमा उनले गन्धर्वकोे बिहे व्रतबन्धमा बजाउने धुन र झ्याउरे धुन बजाए । उनले सारंगी बजाउँदा दर्शकदीर्घामा शान्ति छाएको थियो । सबैले उनले सारंगी बजाएको टोलाउँदै हेरिरहेको देख्न सकिन्थ्यो । फेसस्टबलमा दर्जनभन्दा बढी विभिन्न सेसन भए । लेखक सावित्री गौतमले साहित्यभित्र र बाहिर सेसन चलाइन् । उनले धर्मग्रन्थदेखि नै नारीलाई तल्लोस्तरमा राखेको बताइन् ।

सुदूरपश्चिमका नीरज पन्तले सुदूरपश्चिेमी शैलीमै आफ्ना भोगाइ सुनाए । उनले पोखराजस्तै सुदूरपश्चिम पनि प्राकृतिक रुपमा एकदमै धनी भएकाले सबैले घुम्नुपर्ने बताए । ‘पहिले सुदूर थियो । तर अहिले सुन्दर पनि भइसकेको छ,’ उनले भने । ‘मेन्टल हेल्थ’ सेसन चलाएका ह्वाट द बुक क्लबका सदस्यले अभिभावक र सन्तानबीच गहिरो खाडल बन्दै गइरहेको औंल्याए ।

फेस्टिबलमा इतु पाल जोजिजूलाई अरुणा थापा सम्मान र विनोद बानियाँलाई स्वर सम्राट नारायण गोपाल सम्मान दिइएको थियो । भिन्नाभिन्नै सेसन चलाएका उनीहरुले आफूले संगीत सुरु गर्दाताका दिनदेखि आजसम्मको भोगाइ र अनुभव सुनाए ।

‘सानो हुँदा म स्कुलका डेस्क बजाउँथें । भात पकाउँदा गिलास र थाल बजाउँथें । बाटोमा भएका काठका पोल बजाएर संगीतको आनन्द लिन्थें,’ गायक विनोद बानियाले भने, ‘त्यसपछिका दिनमा जागिरे गायक भएछु । अचेल साँझ गाउँदिनँ । १८ वर्षसम्म साँझमा आमासँग बसेर खाना नखाएको रहेछु । अब परिवारलाई समय दिँदैछु ।’ गायिक जोजिजूले सुगमसंगीतको स्तरीयता हराउँदै गएको दाबी गरिन् ।

कार्यक्रममा मञ्जुश्री सेसन, विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले वैकल्पिक राजनीतिमा चुनौतीहरुबारे बोले । नवीन तिवारीले नोम चोम्स्कीको दृष्टिकोणसँग आफ्ना धारणाहरु पनि सुनाए । नेतृ प्रवीणा अधिकारीले महिला अधिकारबारे बोलिन् । भाषामा कविता सेसनमा एक कविले मातृभाषामा कविता वाचन गरेका थिए ।

सम्बन्धित खबर