सोमबार, ०६ फागुन २०७५
samadhannews
kings

हिउँ खेल्न काठेखोला शिवधुरी

सोमबार, २८ माघ २०७५

तारा चापागाई

पोखरामा बसेर सूर्यको किरणसँगै माछापुच्छ्रे हिमाललाई नियालिरहेकी हुन्थे । अरुले हिउँसँगै रमाएका तस्विर सामाजिक सञ्जालामा पोस्टिदाको दृश्यले मलाइ पनि लोभ्याउँथ्यो । मलाई भने त्यो अवसर आएकै थिएन ।

हिउँमा खेल्ने र रमाउने रहर सपनाजस्तै थियो । सानै भए पनि हिउँमा खेल्ने सपना मनभित्र गुम्स्याएर बसिरहेकी थिएँ । मनमा कहिलेकाही लाग्थ्यो, मनभित्र गुम्सिएको सपना मनभित्रै निमोठिने त होइन ? ‘खुला आँखाले देखाएको सपना पूरा हुन्छ,’ यही भनाइ सम्झिँदै सपनालाई मर्न भने दिएकी थिइनँ ।

सायद, त्यसैले होला एकाएक यो अवसर मेरोसामु उभियो र मलाई सोध्यो, ‘तँ हिउँमा खेल्न जान्छस् ?’ मलाई पनि के खोज्छस् … आँखो’ भनेझैं भयो । मैले त्यो अवसर स्वीकार नगर्ने कुरै थिएन । अवसरले मलाई खोजेको हो वा होइन भन्ने निक्र्योल नै नगरी मैले एकाएक स्वीकार गरिदिएँ । अवसरले मलाई बागलुङ लैजाने निश्चित भयो । लामो समयदेखि रुघाखोकीले ग्रस्त, अस्वस्थ शरीर, तैपनि मैले अस्वस्थभन्दा अवसरलाई महत्वपूर्ण ठानें । घुम्न असाध्यै मन पराउने म अस्वस्थ भए पनि अवसर र साथीभाइको आग्रहलाई स्वीकार गर्दै म बाग्लुङ जानका लागि तयार भएँ ।

सरिता तिमिल्सिना दिदीले जाऊँ है भन्नुभयो । मैले आफ्नो अस्वस्थबारे दर्साउँदै सबै बेलिविस्तार लगाए । केही बिरामी थिएँ, चिसोले खोकी लागिरहेको थियो, अघिल्लो दिन स्वास्थ्य जाँच गरेर औषधि खाइरहेको थिएँ । डाक्टरले चिसोमा नहिड्न भन्दै दिएको सल्लाह दिदीलाई सुनाउनमात्र थालेकी थिएँ, उहाँले भन्नुभयो मरिँदैन, औषधी बोकेर हिँड । गाउँतिर झन् आगो ताप्न पाइन्छ, रमाइलो हुन्छ । त्यो रुखो तर माया भरिएको जवाफ सुन्दै मैले पुनः दिदीको आग्रहलाई स्वीकार गरें । अनि मलाई पनि त नयाँ ठाउँ घुम्ने, रमाउने गर्नुपर्छ भनेर मैले तुरुन्तै उत्तर दिए, ‘हुन्छ म जान्छु’ ।’

पोखराबाट ७२ किलोमिटरको दूरी पार गरेर पुगिने बागलुङबाट करिब २२ किलोमिटर सडक पार गरेपछि रमणीय गाउँ काठेखोला शिवधुरी (ब्युहुँ)का लागि विन्ध्यावासिनीबाट हामी ३ जना पत्रकार महिला गाडी चढ्यौं । हामी चढेको माइक्रोमा पत्रकार दाजुहरु पनि हुनुहुन्थ्यो । एउटै पेशामा आवद्ध भएर होला दाइहरुलाई देखेपछि अपनत्व महसुस भयो । गाडीमा पुरुषमात्रै देखें, अनि सोधें, ‘महिला पत्रकारहरु खै त ?’ मेरो प्रश्न नसक्किँदै १ जना दाइले तुरुन्तै जवाफ दिनुभयो, ‘किन चाहियो हामी पनि त छौं नि ।’

हामी विस्तारै सराङकोटतर्फ उकालो लाग्यौं । केही परिचित त केही अपरिचित अनुहार, नबोली बस्न मनै लागेन । यात्रामा बोल्ने, रमाउने मेरो बानी छ । बोलिरहें, केही राजनीति त केही व्यक्तिगत रमाइला गफ चल्दै यात्रा अघिअघि बढिरह्यो । बागलुङ पुग्ने बेलासम्म लगभग सबैसँग परिचय भइसकेको थियो ।

गन्तव्यसम्म पुग्दा हामीलाई सिमसिम पानीले स्वागत गरिरहेको थियो । उकालो बाटो सिमसिम पानी, त्योसँगै हाम्रो स्वागतमा बाजा फूलमालासहितको समूह हातमा माला लिएर स्वागतको पखाइमा बसेका थिए । हल्का बिरामी, पुस महिनाको जाडो थप बिरामी पो पर्ने हुँ कि भन्ने मनमा खुसी र रमाइलोसँगै चिन्ता पनि लागिरहेको थियो । त्यहाँको आतिथ्यता कुनै कमी थिएन । स्थानीयसँगै बाहिरबाट आएका पर्यटन व्यवसायी र हामीबीच परिचयात्मक कार्यक्रमपछि खाना खाएर हामी सुत्ने स्थानतिर लाग्यौं । शिशिर ऋतु सिमसिम पानीमा भिजेकाले होला असाध्यै जाडो भइरहेको थियो ।

काठमाडौंबाट आएको टोली बाटोमा गाडी फसेर अलपत्र परेको खबर आयो । उनीहरुलाई व्यवस्थापन गर्न टोली खटिइसकेको थियो । हामी भने आगो ताप्ने भन्दै बास बस्ने घरमा घरबेटीलाई आगो बाल्न लगायौं । मकै, भटमास, दूध खाएर केही समय त्यस ठाँउका बारेमा घरबेटी आमासँग कुराकानीपछि हामी सुत्यौं । अरु साथीहरु मस्त निद्रामा परे पनि मलाई भने रातभर निद्रा परेन । बिहानी उज्यालोको पर्खाइमा रातभर जाग्रामजस्तै रहें । कति बेला उज्यालो होला, अनि कार्यक्रम सकेपछि पोखरा फर्काैला भनेर सोचिरहें । आखिर प्रकृतिको नियम न हो, रातपछि उज्यालो हुनै थियो ।

हामी बास बसेको घरमा सारै प्यारी लाग्ने सानी नानी थिइन् । बुबाआमा जापानमा भएकाले उनी हजुरआमाको अभिभावत्वमा हुर्किरहेकी थिइन् । हामी त्यहाँ पुगेदेखि नै हामीसँग नजिएकी थिइन् । हजुरबुबा र हजुरआमासँग बस्दै आएकी उनले हामीलाई देखेपछि आमाको याद आएको हामीले महसुस गरेर उनलाई अझ नजिक बनायौं । बिहान उठेर उनै नानीले भनिन्, ‘उठनू न, बाहिर हिउँ परेको छ ।’ उनले त्यसो भनेपछि म एकाएक बाहिर निस्के । वाह, क्या मनोरम दृश्य !’ जुन मैले पहिलोपटक देखेको थिए । पर्यटकीय सम्भावना बोकेको सुन्दर ठाउँ अनि अग्ला हिमालमा हिउँ परेको दृश्य देख्दा कसको मन नरमाउला र ?

त्यसपछि त के थियो, हिउँले ढाकिएको वरपरका डाडाँलाई नियाल्दै फोटो खिच्न लाग्यौं । खुसीको सीमा थिएन । सबै कुरा बिर्सेर केवल हिउँले ढाकेको रमणीय दृश्यमा रमाउन मन लाग्यो । डाँडाकाँडा हिउँले ढाकिएको दृश्य साच्चिकै मनै लोभ्याउने थियो । म ती दृष्यलाई क्यामेरामा कैद गर्दै थिए । गिलासमा चिया ल्याउँदै घरबेटी आमाले भन्नुभयो, ‘तपाईहरु भाग्यमानी, धेरै वर्षपछि यति राम्रो हिउँ परेको हो ।’ फोटो खिच्न तँछाडमछाड गर्दै थुप्रै फोटो क्यामरामा कैद गर्दै हामी कार्यक्रम स्थलतर्फ लाग्यौ ।

गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको उपस्थितिमा काठेखोला बिहुँमा होमस्टे उद्घाटन, त्रिपुरेश्वर महादेव मन्दिर, शिवधुरी धामको अवलोकन गर्ने कार्यक्रम रहेकाले हिउँका ती दृश्यसँगै रमाउँदै अघि बढ्यौं । मैले हिउँसँगै रमाउने सपनाले सार्थकता पाएको महसुस गरे । हिमालको नजिकै बसे पनि मनमा गुम्सिएर बसेको सपना पूरा गर्न मलाई अवसर प्रदान गर्नेहरुप्रति नमन गरें । आयोजकलाई धन्यवाद दिएँ ।

हामी पुगेको होमस्टेमा यस्ता थिए विशेषता
शिवधुरी, ब्युहुँमा यसै वर्षदेखि घरबास ‘होमस्टे कार्यक्रम सुरु गरिएको हो । पहिलो चरणमा यहाँका ११ वटा घरमा घरबास सञ्चालन भएको छ । प्रकृति र संस्कृतिका विविधतालाई पर्यटकमाझ पुर्‍याउँदै स्थानीय प्रांगारिक उत्पादनको स्वाद लिनसक्ने गरी पोखरा हुँदै ढोरपाटन जाने जोसुकै पर्यटक एकपटक बस्नैपर्ने ठाउँको रुपमा यहाँको घरबासलाई वकास गर्न लागिएको हो । शिकारको प्रयोजनका लागि मात्रै नभई सामान्य घुमफिरका लागि ढोरपाटन पुग्नेको संख्या दिनप्रतिदिन बढेको पाइन्छ ।

सबै वर्ग समुदाय मिलेर बसेको यस गाउँमा मगर संस्कृतिका विविध पक्षका साथै मारुनी र सोरठी नाच हेर्न पाइन्छ । गाउँमा रहेका विभिन्न पञ्चेबाजाको समूह, ब्राम्हण समुदायको भजन चुड्काले पनि यहाँको संस्कृतिलाई थप मद्दत पु¥याएको छ । यहाँ आउने पर्यटकले स्थानीय रुपमा नै उत्पादित विभिन्न तरकारीका साथै भाँगोको अचार, सिलामे चामलको भात, बाकोको सिन्की आदिको स्वाद लिन पाउँछन् । पहिलो चरणमा सञ्चालित ११ घरमध्ये प्रत्येकमा ४ जना पर्यटक राख्न सक्ने गरी व्यवस्था मिलाएको छ ।

घरबासलाई पर्यटनमैत्री बनाउने लक्ष्यका साथ आवश्यक तालिम पनि दिने व्यवस्था पनि गरिएको छ । शिवधुरी धार्मिक एवं ऐतिहासक स्थल पनि हो । सडक पूर्वाधार नबन्दै बागलुङबाट बुर्तिबाङ, ढोरपाटन हिँड्ने मुख्य पैदल मार्गसमेत भएको त्यस ठाउँमा, त्रिपुरेश्वर महादेव मन्दिर, शिवधुरी धाम, घोडा बाँधे यहाँका महत्वपूर्ण आकर्षण धार्मिक एवम् ऐतिहासिक यी स्थलका कारण यसलाई धार्मिक पर्यटनको पनि आकर्षक गन्तव्यका रुपमा विकास गरिने लक्ष्य राखिएको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेशभित्र ३ सय घरबासको विकास गर्ने लक्ष्य लिएको अवस्थामा शिवधुरीमा सञ्चालित होमस्टे प्रभावकारी बन्ने विश्वास छ । ‘सन् २०१९ लाई गण्डकी प्रदेशमा आन्तरिक भ्रमण वर्ष मनाइरहेको अवस्थामा यस किसिमका घरबासको विस्तारले सन् २०२२ मा गण्डकी प्रदेशमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन सहयोग पुग्छ ।

आवश्यक पूर्वाधार विकास एवम् तालिमका माध्यमबाट घरबासलाई प्रभावकारी बनाउन सकेमा पोखरा हुँदै ढोरपाटन पुग्ने पर्यटकको बसाइ लम्ब्याउन शिवधुरी घरबास महत्वपूर्ण बन्न सक्नेमा शंका छैन ।

सम्बन्धित खबर