बुधबार, ११ बैशाख २०७६
samadhannews
ntc

सिपविहीन कला र कटमेरो गनगन

सोमबार, २८ माघ २०७५
2 पटक पढिएको

कुसुमकेशव पराजुली

माघे झरी लाग्नै सकेन, विश्व पर्यावरणको फेर बदलले चिसो तातो अदलबदल भइरहेको छ । भूमण्डलीकरण जलवायु परिवर्तन जस्तै हाम्रो गोलार्ध मात्रै होइन दक्षिणी गोलार्धमा समेत राजनीति परिवर्तन हुन लागेको छ । राजनीतिको भाषामा कसले कसलाई कति गाली गर्छन्, त्यो सरोकारको विषय कम बन्न जाला । सरकारमा जानु वा मस्तीमा रमाउनु र बहिर्गमनमा पर्नु अनि अधैर्यतामा अराजक हुनु राजनीतिक चरित्र नै बनेको छ । कसरी सुरुआत गरौं खै ?

नेपालको मात्रै भनौं भने भेनेजुएलाको लोकतन्त्र, लोकतन्त्रका पहरेदार हौं भन्नेहरुबाटै खतरामा पार्न लागिएको छ । नेपालमा कतै त्यसको देखासिकी गरिंदै त छैन ? नेपालको राजनीतिक माहोल जाडो याम कट्न नभ्याउँदै तताउने विपक्षी दलको कर्तव्य र धर्म नै होला । यस मानेमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले भर्खरै सडक ताताउने अभ्यास गरेका छन् ।

यो खबरदारी सरकारी पक्षले सकारात्मक सचेतनाको रुपमा ग्रहण गर्नुपर्छ । प्रतिपक्षले विरोध गरिरहंदा विध्वंसात्मक र अराजकताको संस्कार अपनाउनैपर्छ भन्ने होइन । सरकारको रवैया आन्दोलनलाई प्रतिहिंसात्मक रुपमा दमन गर्नुपर्छ भन्ने पनि होइन । दूर्भाग्य उहि पुरानो रोग नेपालका ठूला राजनीतिक दलहरुले बल्झाइरहेका छन् ।

विकासको संस्कार बसाउन राजनीतिक दलहरुले नसकेको देखिन्छ । मुलुक पुन अस्थिरता र अशान्तिको बाटोमा हिँडाउने अधिकार उनीहरुले गुमाइसकेका हुन् तर पनि त्यस्तै पुनरागमन गर्न तिनै राजनीतिक दलले चाहेका हुन् त ? भर्खरै कांग्रेस समर्थक केही युवाले पोखरा महानगरपालिकाको गाडी जलाए । गाडी जलाएर विरोध गर्नु नैसर्गिक अधिकार हो वा होइन भनेर छलफल गर्न परेन ।

हिंसात्मक आन्दोलन त बिगतमा हामीले निकै गर्‍यौं अब तातुल्यै हिंसात्मक आन्दोलन गर्नुपर्ने अवस्था होइन । राज्य सत्ताको दोहन कति कडा हुँदो रहेछ कुन्नी ? दोहन गरेकालाई मात्रै थाहा होला । हिजोका दिनमा राज्य दोहन गरेर नथाकेकाहरुलाई नै थाहा होला । जनताले सोध्न चाहन्छन्, राज्य सत्ता के कुनै आमुक राजनीतिक दलका लागि दोहन गर्ने माध्यम हो ?
उसो त विश्व सर्वाहारा वर्गका तत्कालीन महान नेता भ्ला.ई.लेनिनले भनेका थिए मजदुर वर्गीय राजनीतिक दलको पहिलो चासो भनेको राज्य सत्ता प्राप्त गर्नु हो । उनले भनेका ती भनाइ अहिले पनि सत्य बनेका हुन् त ? नेपालमा कसैले आलोचना गर्दै आएका ‘नामधारी नै सहि कम्युनिस्टले’ अधिक जनमत प्राप्त गरेका छन् । अल्पमतमा कांग्रेस लगायतका राजनीतिक दल छन् । अहिले जनमतले होस् वा आन्दोलनबाट उनीहरुले सत्ताको भागबण्डा खोज्दै छन् ।

हालै मात्र कांग्रेसले आफ्ना युवा नेतालाई सडकमा उतार्‍यो । अब बल्ल उसको घैटोमा घाम लागेको जनताले महसुस गरेका छन् । अनुभवी खारिएका नाममा पुरानो पुस्ताले अबको आन्दोलन र राजनीतिक नेतृत्व लिन सक्दैन भन्ने निचोडमा उनीहरु पुगेका छन् । हुन् पनि अब देश हाक्ने भनेको युवाले नै हो । विश्व प्रकाश शर्मा र गगन थापाले हिजो मात्रै नेपालका २ वटा सहरका मुख्य सडक ठप्प हुने गरी कार्यकर्ताहरु ओराले । जनशक्ति प्रदर्शनको त्यो सरल तरिका उहि पुरानो हो, यसमा त्यति विरोध गरिरहनुपर्ने देखिन्न ।

यद्यपि एम्बुलेन्स, दमकल, सुरक्षासँग सम्बन्धित र अन्य जरुरी सवारीसाधन आवतजावत गर्न नमिल्ने गरी विरोध सभा नगर्दा हुन्थ्यो भन्ने आम नागरिकको गुनासो रह्यो । पहिले गरिएका गल्ती पुनरावृत्ति नगर्दा राम्रो हुथ्यो । राजनीतिक अभिष्ट प्राप्तिको लागि के त्यसो गर्नु उचित होला र ? बुधे विकले यस्तो प्रश्न उठाउंदै गर्दा मलाई अचम्म लाग्यो । आखिर उही बुधेले हिजो त्यसरी नै अराजक आन्दोलनको नेतृत्व गदै आएका थिए । खैर यो अनुभूति हुंदै गर्दा आन्दोलनकारीले पनि आन्दोलनका शैलीहरु फेर्दै जालान् भन्ने आशा गरौं ।

आखिर आन्दोलनको चुरो कुरा भनेको राजनीतिक अंशबण्डा रहेछ । जन निर्वाचित र पराजित वर्गको वर्ग संघर्ष नै रहेछ । वर्ग संघर्षको अन्त्य भयो भन्ने ठानेका महान् क्रान्तिकारीले पनि पुन चेतनशील हुने मौका पाउँदै छन् कि ?

हामीले राजनीतिक व्याख्या–विश्लेषण पनि वर्गीय आधारमै गर्छौं । शासकलाई शोषक र शासितलाई शोषित भन्ने आजसम्मको अवधारणामा परिवर्तन आएको सत्तासिनहरुले भन्न सक्छन् । के कम्युनिस्ट पार्टीको नाममा सरकार हुँदैमा त्यहाँ शोषण अन्याय अत्याचार हुन्न ? श्रमजीवीका पक्षपोषक भन्ने गरिएका महान् दार्शनिक कार्ल माक्र्स भन्छन्, ‘समाजवादी क्रान्ति सम्पन्न भएपछि पनि वर्गीय समाजको अन्त्य भइसकेको हुन्न र त्यहाँ वर्गीय शोषण, अन्याय, अत्याचार र दमनका अंशहरु कायम रहने छन् ।’

वास्तवमा हिजो जुन–जुन देशमा कम्युनिस्टले सरकार–राज्य सत्ता सञ्चालन गरे त्यहाँ वर्गीय शोषण, दमन कायमै रह्यो । पँुजीवादी मुलुकले आफूलाई बिस्तारै लोकतान्त्रिक समाजवादी राज्य व्यवस्थामा रुपान्तरित नगरेको अवस्थामा कम्युनिस्टले सरकार चलाएका मुलुकभन्दा बढी शोषण, अत्याचार र दमन गर्दै आएका थिए । अहिले पनि त्यस्तो व्यवस्था कतिपय मुलुकले कम्युनिस्ट सरकार बिघटन हुँदाको बखत झन् एकछत्र कायम राखेका छन् ।

नेपालमा कम्युनिस्टको नाममा होस् वा कांग्रेसका नाम, उनीहरुले संवैधानिक रुपमा साझा लक्ष्य बोकेका हुन् । त्यो हो, संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणालीमार्फत् समाजवाद उन्मुख राज्य व्यवस्था कायम गर्नु । यो साझा लक्ष्यमा राजतन्त्रवादी बाहेकका नेपालका प्राय सबै राजनीतिक दल एकमतले हस्ताक्षर गरेका छन् । गणतन्त्र जन्माउने राजनीतिक दलमा कम्युनिस्ट अगाडि छन्, कांग्रेसले एक कदम अगाडि बढेर गणतन्त्रलाई अंगीकार नगरेको भए अहिलेको अवस्था आउने थिएन ।

यो कुरालाई नजर अन्दाज गर्न सकिन्न । यस अर्थमा कसैले मन पराओस् या नपराओस् लोकतान्त्रिक गणतन्त्र नेपालका राजनेता गिरिजाप्रसाद कोइरालाको अविस्मरणीय योगदान थियो । लाखौं गाली आइरहोस् तर भोलिको इतिहासले गणतन्त्रको अर्को पांग्रा प्रचण्ड थिए भनेर अभिलेख राख्ने छ । कसैकसैले भनेका छन् गणतन्त्र विकासका लागि केपी ओली कोषेढुंगो सावित हुँदैछन् ।

रेल छुकछुक गर्ने कुरा र सलसलल… पानी जहाजको कुरा गर्दा ७ समुद्रपारको विकास देखेकाहरुले खिल्ली उडाउंदै थिए । आखिर मिनी पानी जहाज र मोनो रेल उनले ल्याइछाडे । विकासका ठूला डिंग हाक्ने पूर्व गफाडि शासकभन्दा चुट्किला हाल्ने ओली असल देखिन थाले । महान् प्रजातन्त्रको फड्को मार्दै गर्दा सत्ताको लुछाचुडिमा अल्झिएको पुरानो कांग्रेसका भन्दा भुत्तेधार भनेका तथाकथित कम्युनिस्ट नै एकतामा बांधिरहेको अवस्था हो यो । त्यसैले त उनीहरुले अत्यधिक जनमत बटुलेका हुन् ।

अहिले बल्ल कांग्रेस लामो समय सरकार बाहिर बस्नुपरेको छ । त्यो पीडा कम दुखदायी हुन्न होला, जसले सत्ता बहिर्गमनको छटपटी नबुझोस् ? सायद कम्युनिस्टका नामबाट हालीमुहाली गर्ने मानिसले आरामको निद् ओढेका होलान्, सरकारी सुविधा र आवश्यकताभन्दा बढी ऐस–आराम बटुलेका होलान्, त्यसको लेखाजोखा जनताले गरिहेका छन् ।

प्रतिपक्षले ती आरामका निद्लाई हराम गर्नैपर्छ, आवश्यकभन्दा बढी सुविधा लिनेको विरोध गर्नैपर्छ । शान्तिपूर्ण जुलुस र नाराबाजी गर्दै रहून् कांग्रेसका कार्यकर्ता र समर्थकले । जनताको मन छुने गरी उत्पादन र उद्यमशीलता बृद्धि गर्दै रहून् । आर्थिक–सामाजिक रुपान्तरणको लहर ल्याउन छायाँ सरकार बनाइ रहनु पर्दैन । आखिर त्यो अभ्यास वर्तमान कम्युनिस्टको विगतबाट कांग्रेसले सापटी लिन जरुरी थिएन । असफल अभ्यासलाई कांग्रेसले अन्धानुकरण जरुरी छैन ।

कांग्रेस नोकरशाही र दलाल पुँजीवादको पिछलग्गु होइन भन्ने प्रमाणित गर्छ भने, राष्ट्रिय कृषि तथा पर्यटन, श्रमको सम्मान गर्ने उद्योगको स्थापना र विकास गर्ने बाटोमा कम्युनिस्टलाई उछिन्न सकोस् । त्यसो भयो भने आगामी वर्षमा जनताले उसैलाई समाजवादी कांग्रेस भन्दै विजयको माला पहिराउने छन् ।

कुरा सरकार र सत्ताको मात्रै गरिरहँदा नेपाली कांग्रेसका संस्थापक तथा तत्कालीन जननेता बिपी कोइरालाले भनेका थिए, ‘प्रजातन्त्रको लडाइ लामो हुन सक्छ, राजनीतिक लडाइबाट हामीले सरकार र सत्ता प्राप्त गर्न सक्छौं । सरकारी नोकरशाहको इर्दगिर्द जम्मा हुने भुइँफुट्टा वर्ग जन्मिने छ र त्यही वर्गले सरकार असफलपार्न र हामीलाई सत्ताच्युत गर्न लाग्ने छ ।’ बिपीको त्यो भनाइलाई धेरैपटक कांग्रेसकै नेतृत्वले साकार पार्‍यो ।

अभिवादन कमरेड ! हामीलाई यो शब्द विगतका नामधारी कम्युनिस्ट सरकारी झल्को आउँदो हो । अभिवादनका नाममा केही राजनीतिक दलका नेता कार्यकर्ता उतर्सिए । स्वयं कम्युनिस्ट बताइरहने तर भागबण्डा नपाएका लोभीहरु उनकै सरकार विरुद्ध जाइलागे । यो वर्गीयभन्दा निजी स्वार्थमा रहेका व्यक्तिले तथकथित कम्युनिस्टको खोल ओढेर विरोध गरिरहे ।

अल्पमतकै सहि मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारदेखि नसहने नेपाली दलाल नोकरशाही वर्ग र विश्व साम्राज्यवादी जुलिया चाङ ब्लकले उनको राम्रो कदमलाई देखिसहेन । सरकार ढाल्न सबै कसरहरु बाँकी राखिएनन् । न्यायमूर्तिका नाममा अधिनायकवादको पक्षपोषण हुने गरी फैसला भए । अहिले भलै कम्युनिस्टको नाममा भेनेजुएलाका जनताले निर्वाचित गरेका मादुरेको पक्षमा वक्तव्य जारी भयो । विदेशी हस्तक्षेपको सत्तासिन दल भएता पनि पुष्पकमल दाहालले वक्तव्य जारी गरे ।

कसैकसैले त्यसलाई सिपविहीन कला भनेर आलोचना गरे । कांग्रेसको पुरानो परम्परा र राजनीतिक के रह्यो भने असंलग्न परराष्ट्र नीति र भेनेजुएलाको स्वाधिनता विरुद्ध गरिएको विदेशी हस्तक्षेपलाई समर्थन गर्ने आशयको वक्तव्य कांग्रेसका नेताले जारी गरे । भोलि हाम्रो देशमा हुने विदेशी हस्तक्षेपलाई नेपाली कांग्रेसले निम्ताउन खोजेको हो ? के फेरि त्यही दलाल नोकरशाही पुँजीवादलाई टिकाइ रहन कांग्रेसले अबको आन्दोलन थालेको र छिट्टै विदेशीको बुइ चढेर सत्तामा पुग्न खोजेको हो ? जनताले यसरी तर्क गर्दै रहँदा कांग्रेसको जवाफ के हुने छ ?

आगजनीका छिटफुट घटना भनिए पनि संकेत राम्रो छैन । भर्भराउँदा र भोलिका दिन खाइलाग्दा गगन थापा वा ओमप्रकाश जस्ता युवा नेतालाई कम्तीमा दलाल नोकरशाहीको गोटी बन्न छुट छैन । इतिहासले उनीहरुको कांधमा थुप्रै जिम्मेवारी दिएको छ । त्यो राष्ट्रियतासँग जोडिएको उत्पादन प्रणाली नै हो, जसले समाजवाद उन्मुख पुँजीको विकास गर्छ । पार्टीले नीति बनाउन सक्नुपर्छ ।

आफ्ना कार्यकर्ता वा समर्थकलाई उत्पादनमा जोड्ने र दिगो नेतृत्व विकासका लागि जोड दिने । आगामी दिनमा कम्युनिस्टको सरकार असफल हुने बित्तिकै सत्ता सञ्चालनका लागि तमतयार हुने हो । अन्यथा फुक्का राजनीतिको सडक तताउने मात्रै हो भने युवा भनिएता पनि गगन थापाहरुको कटमेरो गनगन मात्रै सावित हुने छ ।

सम्बन्धित खबर