शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

वरपीपल संरक्षणमा प्रदेश सरकार

मङ्गलबार, २९ माघ २०७५

हाम्रा पुर्खाहरु धर्मकर्म गर्नुप¥यो भनेर डाँडापाखामा वरपीपल रोप्थे । चौतारी बनाउँथे । कुवा र पोखरी खन्थे । पुर्खाले सयौं वर्षअघि रोपेका वरपीपल र समीका बोटहरु आज पनि छन् । वर, पीपल, समी जहाँ हुन्छ, त्यहाँ चौतारी हुन्छ र त्यहीं मानिसले मेलापात जाँदाआउँदा भारी बिसाउँछन् । थकाइ मार्छन् । सुस्ताउँछन् । घरगाउँका छेउकुनाका चौतारीका वरपीपलको हावा खाँदै मानिसहरु मनको भारी बिसाउँछन् । मनपेट खोलेर बात मार्छन् । दुखसुख साट्छन् । तिनै चौतारीहरुमा बटुवा लक्षित पानीको घडा पनि हुन्छ ।
पीपलको बोट भएकै ठाउँका नामहरु पिप्ले रहेको पनि पाइन्छ । गण्डकी प्रदेशकै लमजुङमा २ पिप्ले र ३ पिप्ले जस्ता ठाउँ छन् । दुइटा पीपलको बोट भएको ठाउँ २ पिप्ले भयो । तिनटा पीपलको बोट भएको ठाउँ तीनपिप्ले । देशैभरिका गाउँठाउँका नाममध्ये धेरैतिर भेटिने एउटा समान नाम पिप्ले हो नेपालमा । यसले देखाउँछ वरपीपल र समी जस्ता बोटबिरुवासँग नेपालीको सम्बन्ध । नेपाली संस्कृति बिछट्टैको हो ।
सनातन धर्मको प्रभाव पनि होला, वरपीपल सार्ने र हुर्काउने अनि बिहे गरिदिने, पूजा गर्ने चलन हुनुमा । तर विज्ञानले पुष्टि गरिसकेको छ कि वरपीपल सबैभन्दा धेरै प्राणवायु (अक्सिजन) उत्पादन गर्ने रुखमध्ये अग्रणी हुन् । सयौं वर्ष आयु हुने यस्तो वनस्पति रोप्न र हुर्काउन त्यति सजिलो छैन, तर जब हुर्कन्छ न पानी हाल्नुपर्छ न गोडमेल गरेर मल छर्नुपर्छ । एकनास अक्सिजन दिइरहन्छ । शीतल छहारी बनिरहन्छ । पर्यावरण जोगाउँछ । वरपीपलमा औषधीय तथा प्रदूषणरहित गुणसमेत हुन्छ । वायुमण्डल स्वच्छ बनाउन चाहिने सेरोटिनोनजस्तै मेलाटिनोन रसायन पीपलले फ्याँक्छ । अक्सिजन र छहारीका लागि यीभन्दा अरु बोटबिरुवा कुनै बढी फलदायी छैनन् भनेर नेपाली समाजलाई भन्नै पर्दैन । नेपाली समाजबाट बरु अरुले सिक्न सक्ने कुरा जो हो यो । पछिल्लो नेपाली समाजको (अझ भनौं सहरको) चरित्रको दृश्य भने बेग्लै छ । सहरीकरण जति जति बढ्दो छ, वरपीपल, समीका बोटहरु नासिँदैछन् । चौतारीहरु मिचेर व्यापारिक कम्प्लेक्स बनाइएका छन् । निजी घर ठड्याइएका छन् । पोखरी पुरिएको छ । कुवाका नाम निसान भेट्न मुस्किल हुन थालेको छ । छन् भने पनि कुवा र पोखरी दुर्घन्दित फोहोरले भरिएका छन् । त्यहाँको पानी मानवको लागि मात्रै हैन, गाईवस्तुलाई खुवाउन पनि नहुनेखाले छ ।
गण्डकी प्रदेश सरकारले वर, पीपल, समी र चौतारी तथा कुण्डकुवा संरक्षण गर्न कानुनै बनाएको छ । वर, पीपल, समी र चौतारो संरक्षण विधेयक संसदबाट पारित भएर प्रदेश प्रमुखबाट आइतबार प्रमाणीकरण भई ऐन बनेको छ । पर्यावरण र वातावरण खल्बलिँदै गएको र नेपाली समाजको वैशिष्ट्य मानिएको वरपीपल, चौतारी, कुवा र पोखरीजस्ता सम्पदा संरक्षणका लागि कानुनै बनाउनु प्रदेश सरकारले गरेको कार्य प्रशंसनीय छ । हालैमात्रै भारतको दिल्लीमा ६ अर्ब भारु खर्चेर त्यहाँको सरकारले डेढ सयभन्दा बढी पोखरी पुनर्निमाण गरेको छ । पोखरी हिजोको दिनमा गाईवस्तुको तिर्खा मेटाउने र आहालका लागि आवश्यक थियो होला, तर अहिले भूगर्भमा पुनर्भरण (रिचार्जिङ)का लागि महत्वपूर्ण छ । दिल्ली राज्य सरकारले त्यो बुझ्यो र त्यतिका पैसा खर्चियो ।
वरपीपल, चौतारी बनाउनु र संरक्षण गर्नु हिजोका दिनमा धर्म थियो । आजको दिनमा अब कानुन भयो । हिजोको समयमा धर्म भनेकै कानुन थियो । आज कानुन धर्म हो । कानुन पालना गर्नु हरेक नागरिकको धर्म हुन्छ । तसर्थ समय सापेक्ष रुपमा अघि बढ्दा वरपीपल संरक्षणमा कानुनकै आवश्यकता छ भन्ने जुन बोध प्रदेश सरकारले ग¥यो यसबाट हाम्रो गण्डकी सरकार हाम्रो संस्कृति र वातावरण तथा सार्वजनिक महत्वका सम्पदाप्रति अति संवेदनशील छ भन्ने देखाएको छ । त्यस्ता सम्पदा नष्ट गर्नेहरुमाथि कारबाहीसमेत गर्ने र कानुनमा व्यवस्था भए झैं वरपीपल, चौतारी, कुवा तथा पोखरीको संरक्षण होओस् । व्यवहारमा त्यो देख्न पाइयोस् । तब कानुनको सार्थकता हुनेछ ।

सम्बन्धित खबर