आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

क्होंलासोंथर प्रवद्र्धनका लागि सडक

आइतबार, ०५ फागुन २०७५

कुनै जाति फगत जात होइन । जातसँग उसका संस्कार, संस्कृति, मौलिकता, चाडपर्व, रहनसहन जोडिन्छन् । राजनीतिक चेतनासँगै पहिचानको मुद्दा नेपाली समाजमा पेचिलो बन्यो । सम्हाल्नै कठिन पर्ने अनुमान पनि थिए । अनेक आशंका र अनुमानलाई चिर्दै द्वन्द्वको अवतरणसँगै जातीय सद्भाव र एकता पनि थप बजवुत बनेको छ । विगतमा पाखा पारिएको अनुभव गर्ने धेरै जाति, जनजाति अब मूलधारमा यात्रा गर्ने राजमार्ग खोज्दै छन् ।

गण्डकी प्रदेशको नाम तमुवान राख्नुपर्ने मत बलियो थियो । बलियो मतलाई अपमान नगरी करिब सर्वसम्मत नै गण्डकी प्रदेश नाम राखियो । यो देशको लमजुङमा गुरुङ जातिको पैतृक थलो क्होंलासोंथर छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको दक्षिणी भेगमा पर्ने क्होंलासोंथर समुद्री सतहदेखि ३ हजार ३ सय ३० देखि ४ सय २ सय उचाइमा छ । करिब डेढ दशकअघि क्याम्ब्रिज विश्वविद्यालय र नेपाल पुरातत्व विभागका शोधार्थीले यसको अध्ययन गरी क्होंलासोंथर १ हजारदेखि १ हजार २ सय वर्ष पुरानो भएको अनुमान गरेका थिए ।

३ तहका सरकार बन्दा क्होंलासोंथरलाई सम्मान गरिएको छ । १ गाउँपालिकाको नाम नै क्होंलासोंथर राखिएको छ । नाम राख्नुमात्र पनि सम्मान होइन, यसको इतिहास, सभ्यता, प्रचारप्रसार र प्रवद्र्धन अब जरुरी छ । राजतीतिक व्यवस्था फेरिएसँगै छुमन्तरझैं परिवर्तन भइहाल्छ भन्ने अपेक्षा जनतामा छ । त्यो अपेक्षा पूरा नभए पनि विगतमा भन्दा अब सबै क्षेत्रको विकासले गति भने लिनै पर्छ ।

क्होंलासोंथरमा भग्नावशेषहरु छन् । राजाको दरबार, सभास्थल, गाउँको संरचना पनि छ । भग्नावशेष छन्, यसको अर्थको यहाँ मानव जातिको खाँट्टी इतिहास छ । भग्गावशेष उत्खनन् गरी यथार्थ प्रकाशमा ल्याउनु जरुरी छ । क्होंलासोंथरबारे अहिलेसम्म अनेक किंवदन्ती छन्, अब प्रमाणित इतिहास जनसमक्ष ल्याउन जरुरी छ । पैदलयात्राबाट मात्र पुग्न सकिने क्होंलासोंथरलाई सडक मार्गले जोड्ने पहल सुरु भएको छ ।

कास्की १ का सांसद खगराज अधिकारीको पहलमा मादी २ ताङतिङबाट क्होंलासोंथरसम्म जोड्ने ताङतिङ क्रपु क्होंला सोंथर सम्पदा मार्ग निर्माण गर्न लाथिएको छ । सांसद अधिकारीले यो बाटोका लागि सांसद विकास कोषबाट ७० लाख विनियोजन गरेका छन् ।

क्होंलासोंथर गुरुङ जातिको ऐतिहासिक थलो हो, यो सबै नेपालीको सम्पदा पनि हो । यसको संरक्षणको पहल सबै जाति, क्षेत्रबाट हुनुपर्छ । अरु जातिको संस्कार, संस्कृति, धर्म, चाडपर्वको उत्थान र प्रवद्र्धनमा सहयोग गर्नु नेपालीको मौलिकता र विशिष्टता हो ।

सडक मार्गको पहुँचले क्होंलासोंथर हिन्दुहरुका लागि मुक्तिनाथ जस्तै गुरुङ जातिको पवित्र स्थलका रुपमा प्रसिद्ध हुने विश्वास गर्न सकिन्छ । विकासले विनास पनि सँगसँगै लिएर आउँछ, त्यसैले नै दीगो विकासको अवधारणा आएको हो । पदमार्ग निर्माणले भौगोलिक संरचनामा खलल पर्न सक्ने, संस्कार, संस्कृतिमा पश्चिमापनले गाज्ने जोखिम पनि छन् ।

यो चिन्तालाई निष्तेज पार्दै क्होंलासोंथरसम्म सडकमार्ग पुर्‍याउन सके यो स्थान अन्य जाति र विदेशीका लागि समेत आकर्षणको केन्द्र बन्न सक्छ ।यसमा क्होंलासोंथर गाउँपालिकाले पनि योजनावद्ध प्रयास गर्नु जरुरी छ । गण्डकी प्रदेश सरकारले पर्यटन र ऊर्जाको माध्यमबाट समृद्धिको सपना देखेको छ । यसका लागि क्लोंलासोंथरसम्म बाटो निर्माण, होमस्टे, होटेल आदि निर्माणले सघाउनेछ । यो मोटरबाटो निर्माणले क्होंलासोंथर र यहाँका बासिन्दाको भविष्यको रेखा कोर्ने छ ।

सम्बन्धित खबर