आइतबार, १७ साउन २०७८
samadhannews
Sanima Bank New year offer

मुक्तिको नृत्यदेखि प्रदेशसभासम्म

बुधबार, ०८ फागुन २०७५

अमृत सुवेदी

मुक्तिको गीत गाउँदै, नाच्दै हिँड्ने सांगीतिक समूह, रक्तीम परिवार । सामन्ति, शोषकको विरुद्ध र सर्वहाराको पक्षमा रक्तीमका गीतमा नाँच्दै हिँड्नु उनको दैनिक । मनमा विद्रोहका ज्वारभाटा, आँखामा क्रान्तिको ज्वाला र शरिरमा उम्लँदो रगत । राज्य व्यवस्था फेर्न सपना बोकेर हिँड्ने क्रम जारी थियो, २० वर्षदेखि निरन्तर । ७-८ वर्षको उमेरमै उनले ‘राता’ गीतमा नाच्न थालिन् ।

घर परिवारको कमजोर आर्थिक स्थिति । गरिब र ‘सर्वहारा’का दुखलाई पनि उनले देखिन् । देशको व्यवस्था नफेरिएसम्म गरिबले मुक्ति पाउँदैनन्, शोषक सामन्तको विरुद्धमा आवाज उठाउनुपर्छ भनेर उनी प्रशिक्षित भइन् । सामन्ती शासन व्यवस्था फालेर जनताको नयाँ व्यवस्था ल्याउन क्रान्तिकारी गीत र कार्यक्रम लिएर गाउँ–गाउँ पुगिन् ।

२०६२-०६३ को जनआन्दोलनले राजालाई घुँडा टेकायो । पुरानो राज्य व्यवस्थाबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, पनि उनको पार्टीको आवाज र धारणा फेरिएन । देशमा व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै रहेको उनीहरुको धारणा थियो । संविधान सभाको दोस्रो निर्वाचनपछि पनि जनतालाई क्रान्तिको आह्वान गर्दै उनले गीतमा अभिनय गर्दै थिइन् ।
आँधिको बेग बनि आउ सारा जनाता
तुफानको भेष बनि लौ उठ निमुखा
यो संसार तिम्रै हो, यो धरती हाम्रै हो
गरिब झन् गरिब हुँदै गएको र धनी झन् धनी हुँदै गएको उनको विश्लेषण थियो । देशमा संघीयताको बहस सुरु भएपछि युवा समूहबीच उनले भाषण ठोकिन्, संघीयताले देश विखन्डन हुन्छ । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनसम्म आइपुग्दा पनि उनी रक्तीमका कार्यक्रममा नाँच्दै, गरिब र सर्वहाराको पालो नआएको आवाज निकाल्दै थिइन् ।

०५४ सालतिर बागलुङ सुखौरा गाउँमै रक्तीमको कार्यक्रम थियो । त्यो कार्यक्रममा जनमोर्चाका अध्यक्ष चित्रबहादुर र रक्तीमका जनगायक जीवन शर्मा पनि थिए । त्यो कार्यक्रममा उनले नाच देखाउने अवसर पाइन् । जब उनले नाचिन्, केसी र शर्माले स्वाबासी दिए । त्यही स्याबासीले रक्तीमको यात्रामा होमिने निश्चित बनाइदियो ।

असहमतिकै बीच पनि पार्टीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा भाग लियो । संघीयता देशले पाल्न नसक्ने बताउँदै आएको राष्ट्रिय जनमोर्चाका तर्फबाट त्यही संघीयताले उनलाई माननीयको कुर्चिमा बसालिदियो । संघीयता कार्यान्वयनसँगै बागलुङबाट समानुपातिक सांसद बनेर उनी गण्डकी प्रदेश सभा छिरिन्, त्यो पनि २८ वर्षको उमेरमा प्रदेशकै कान्छी सांसद बनेर । उनी हुन्, जनमोर्चाकी सांसद पियारी थापा ।
देशको शासन प्रणाली फेरिएसँगै उनको दैनिकी पनि फेरियो । कार्यक्रम लिएर जागरणका गीतमा नाच्दै विभिन्न ठाउँ पुग्ने थापा प्रदेश सभा सदस्य बनेर संसद पुगिन् । मुक्तिको नारा लगाउँदै हिँडेकी थापालाई समयले ‘मुक्तिदाता’को ठाउँ ल्याइपुर्‍याएको छ ।

प्रदेश सभा गठन भएको १ वर्ष पूरा भइसकिएको छ । तर, उनको मनमा हुटहुटी र प्रतिपक्षी भावना भने उस्तै छ ।

पञ्चायतविरुद्ध लडेकी आमाले देखाएको बाटो
परिवारको मुख्य काम खेती किसानी । उनका बुबा खेतबारीमा बढी व्यस्त हुन्थे, आमा बढी राजनीतिमा । ‘मेरो आमा पञ्चायतका विरुद्ध गाउँमा लड्नुभएको थियो । ऊ बेला गाउँस्तरमा कहलाएकै नेता हुनुहुन्थ्यो,’ थापाले भनिन्, ‘मसँग राजनीतिक चेतना र १ खालको बिद्रोहको गुण सायद आमाबाट पनि आयो होला ।’

आमाले नै वर्गाीय समानताको पक्षमा आफूलाई धेरै कुरा भनेको उनी बताउँछिन् । मान्छे समान हुन पाउनुपर्छ भन्ने आमाको प्रभाव आफूमा आएको उनको भनाइ छ । आमाकै कारण उनको झुकाव मसालतिरै भयो । उनी मसालतिर लाग्नुको अर्को कारण रहेछ, अध्यक्ष चित्रबहादुर केसीको जीवनशैली ।

०५४ सालतिर बागलुङ सुखौरा गाउँमै रक्तीमको कार्यक्रम थियो । त्यो कार्यक्रममा जनमोर्चाका अध्यक्ष चित्रबहादुर र रक्तीमका जनगायक जीवन शर्मा पनि थिए । त्यो कार्यक्रममा उनले नाच देखाउने अवसर पाइन् । जब उनले नाचिन्, केसी र शर्माले स्वाबासी दिए । त्यो उनको लागि अर्को ऊर्जा बन्यो । त्यही स्याबासीले रक्तीमको यात्रामा होमिने निश्चित बनाइदियो ।

फन्दामा परिएन र सांसद बनें
विचार र सिद्धान्तभन्दा पनि उनलाई गाउँको माहोलले नै कम्युनिस्ट बनायो । रक्तीमका गीतमा नाँच्दै हिँड्दा अझ बढी कम्युनिस्ट हुनुको अर्थ बुझ्दै गइन् । उनी रक्तीमका गीतमा छमछमी नाँच्दै हिँड्दा माओवादीको सशत्र संघर्ष चर्किँदै थियो ।

पियारी जीवन शर्माको अधिकांश गीतमा नाचेकी छन् । रक्तीमका गीत जब भिडियोमा आउन थाले, सुप्रभा थापाको नाममा उनले अभिनय गरिन्, नाचिन् ।

पार्टी भूमिगत थिएन तर रक्तीमले खुलेआम कार्यक्रम गर्न स्थिति थिएन । त्यतिबेला गाउँमा प्राय गीत रक्तीमकै बज्थ्यो । जुन हितले क्रान्तिको आह्वान गथ्र्यो । जसका कारण रक्तीमका कलाकार नेपाली सेनाको तारो बनेको उनी सम्झिन्छिन् ।

एकदिन सांस्कृतिक कार्यक्रम गर्दै हिँड्ने क्रममा बागलुङकै तंग्रामदेखि म्याग्दीसम्म जानुपर्ने थियो । म्याग्दीमा टिकटमा सांस्कृतिक कार्यक्रम थियो । हिँड्दै गर्दा एउटा खोलामा सेनासँग उनीहरुको झम्काभेट भएछ । त्यतिबेला सेनाले त देख्यो कि थुन्ने अवस्थाको उनी पनि साक्षी हुन् । उनका कतिपय साथी समातिए पनि । सञ्जोगले उनीहरु उम्के । टोलीको मुख्य नाइके सेनाको पन्जामा परे । उनीहरु उम्किए । बागलुङमा पढ्दा प्रहरीसँग धरपकड भइरहन्थ्यो । तर, ठूलो फन्दामा परिएन,’ उनी ती दिन सम्झिन्छिन्, ‘नत्र आज माननीय पियारी थापा नहुन पनि सकिन्थ्यो ।’

झोलामा किताब बोकेर कार्यक्रममा
पियारी जीवन शर्माको अधिकांश गीतमा नाचेकी छन् । रक्तीमका गीत जब भिडियोमा आउन थाले, सुप्रभा थापाको नाममा उनले अभिनय गरिन्, नाचिन् । एकातिर पढाई, अर्कोतिर घरै छोडेर हिँड्नु पर्ने अवस्था थियो । तर, दुखी पीडित जनताको आवाज बोल्नु पनि समाजसेवा हो भन्ने उनलाई लाग्थ्यो ।

‘असमानता र विभेदको खाडल पुर्नुपर्छ भनेरै पनि राजनीतिमा होमिएकी थिएँ,’ पियारी भन्छिन्, ‘गाउँको स्कुलमा पढ्दै रक्तिकका लागि नाँच्दै हिँडे । परिवार पनि त्यही विचारका भएकाले समय मिलाउन गाह्रो भएन ।’
झोलामा किताब बोकेरै उनी रक्तीमका कार्यक्रममा हिँडिन् । गाउँमा एउटामात्रै स्कुल थियो । झोलामा किताब बोकेर कार्यक्रममा जाने अनि स्वअध्ययन बढी गर्ने उनले सुनाइन् ।

‘कार्यक्रमको व्यस्तताले स्वअध्ययन बढ्यो । तर बाँकी समयमा आर्थिक अवस्था कमजोर भएकै कारण समस्या भयो । घरको आर्थिक स्रोत केही थिएन । एकदमै चुनौतीपूर्ण थियो,’ उनले भनिन्, ‘दुख झेलेरै एसएलसी पास गरें ।’

एलएलसीपछि भने उनी बागलुङ बजार झरेर पढ्न थालिन् । बागलुङबाट आइएसम्मको अध्ययन सकेर उनी रुलर डेभलपमेन्ट पढ्न काठमाडौं हानिइन् । रक्तीम समूह काठमाडौंमा आवद्ध भएर कार्यक्रम पनि गर्ने, पढाइलाई निरन्तरता दिइन् । डिग्री सक्दै गर्दा उनीले एकाएक माननीयको टिकट पाइन् र गण्डकी प्रदेश सभा छिरिन् ।

रक्तीमले नै जुरायो जीवनसाथी
२०६० सालतिर गाउँमा एउटा प्रशिक्षण थियो । उनी नाचको प्रशिक्षण दिँदै थिइन् । गायन सम्बन्धी प्रशिक्षण दिन अर्का १ युवा गाउँ आइपुगे । रक्तीमको त्यो प्रशिक्षण कार्यक्रमले उनीहरुबीच परिचयमात्रै गराएन, प्रेमकै बिजारोपण गर्‍यो ।

पहिलो भेटको परिचय नै विस्तारै प्रेम रुपमा अंकुरायो । उनीहरुले प्रेमको परीक्षा पास गरे अनि जीवनसाथीकै परिचयमा बदले, त्यो पनि ६ वर्षपछि ।
गोरो, सुरिलो स्वर भएको हँसिलो मुहारको ती युवाको नाम थियो, हेमराज आश्रम ।

‘उहाँले पहिलेदेखि नै मलाई चिन्नुभएको रहेछ । म जीवन शर्माका थुप्रै गीतमा नाचिसकेकी थिएँ । त्यो हाम्रो परिचय यतिकै सीमित रहेन,’ पियारीले त्यो प्रेमिल दिन सम्झिन्, ‘हामीबीच ६ वर्ष प्रेम बस्यो । अनि सँगै जिउने वाचासहित प्रेमलाई विवाहमा बदल्यौं ।’

विवाहअघि हेमराजको आवाज रहेको गीतमा पियारीले अभिनय पनि गरिन् । दुबै जना रक्तीमबाट सांगीतिक कार्यक्रममा हिँडे । हेमराजले अहिले संगीतमा मास्टर गर्दैछन् । हेमराज अहिले काठमाडौंमा आश्रम म्युजिक प्रालि चलाउँछन् ।
हेमराजले अहिले पनि गीत निकालिरहेका छन् । ४ महिनाअघिमात्र ‘म त हजुर बागलुङकी छोरी, झुठो बोल्न जान्दिन्’ नामको गीतमा पियारीले पनि अभिनय गरेकी छन् । तर माननीय पियारी अहिले नाच्दिनन्, कोरियोग्राफी गर्छिन् । भन्छिन्, ‘सांसद भएपछि गाह्रो हुँदो रहेछ । अचेल भिडियो कोरियोग्राफी गर्छु ।’

संसदमा जनताका आवाज र सरकारलाई खबरदारी
सामान्य परिवार र कम्युनिस्ट आन्दोलन हुँदै संसद छिरेकी पियारी थापाको जीवनशैली पनि सरल छ । उनी ट्याक्सी चढेर वा कसैको लिस्ट मागेर संसद बैठकमा सहभागी हुन पुग्छिन् । संसदमा पियारीले सुरुदेखि आफ्नो अस्तित्व देखाउन सफल छिन् ।

ट्याक्सी चढेर संसद पुगेपछि सुरुका दिनमै उनले आवाज उठाइन्, ‘पोखरामा ट्याक्सीले मनपरी भाडा उठाइरहेका छन् । मिटरमा चल्नु त टाढाको कुरा उल्टै मनपरी भाडाले प्रदेश राजधानी पोखराकै बदनाम भइरहेको छ ।’

संसदमा बोल्दा लिखित भाषण गर्ने पियारीले १ वर्ष थुप्रै पटक जनताका समस्या र अप्ठेरोको आवाज उठाएकी छन् । स्वास्थ्य क्षेत्रका विसंगति होस् या विकास निर्माणमा भएका ढिलासुस्ती उनले सरकारको ध्यानाकषर्ण गराउँदै आएकी छन् ।

सरकारले एउटै पाकोभित्र बजेट राखेर त्यसको बाँडफाँट र विनियोजन नगरेको भन्दै उनले खबरदारी गरिन् । नेकपाको बहुमत रहेको संसदमा जनमोर्चा सरकारको राम्रो काममा सहयोगी तर प्रतिपक्षको रुपमा निरन्तर खबरदारी गर्ने उनको भनाइ छ ।

सानो छोरो च्यापेर जनताको काम गर्न गाह्रो
संसद सुरु हुँदै गर्दा ५ वर्षीय छोरालाई व्यवस्थापन गरेर बैठकमा सहभागी हुने समय मिलाउनै पियारीलाई सकस प¥यो । जिनेजानेको बहिनीको जिम्मा लगाएर उनी संसद पुगिन् ।

‘जनताको प्रतिनिधि भएर संसद पुगेपछि आफ्नो समस्या गौंण हुने रहेछन्,’ पियारी भन्छिन्, ‘धेरै काम गर्न नसकौंला तर नराम्रो कदापि गर्ने छैन । आफ्नो समस्या त्यागेर निरन्तर जनताका पक्षमा आवाज उठाउने छु । सरकारको खबरदारी गर्ने छु ।’ अहिले पोखराकै कोठमा भाडामा लिएर बच्चाको हेरचाह र पढाइको व्यवस्थापन गर्न गाउँबाट आमालाई झिकाएको उनी सुनाउँछिन् ।

‘सानो छोरो काखी च्यापेर जनताको काम गर्छु भनेर हिँड्नु आफैमा चुनौतीको विषय बन्यो । जिल्लामा विभिन्न कार्यक्रमबाट निम्तो आउँछ, कहिले पार्टीको कार्यक्रममा जिल्ला बाहिर जानू पर्छ,’ उनी भन्छिन्, ‘श्रीमान् काठमाडौं हुनुहुन्छ । कहिले बाबू बिरामी पर्छ, भनेको ठाउँमा उपस्थिति हुन पाइँदैन । र पनि मैले के बुझेको छु भने हरेक असहज परिस्थितिले सहजताको नजिक पुर्‍याउनेछ ।

आफ्नो तलब सुविधाले पार्टी, जनताको चाहना र आफ्नो आवश्यकता पूर्ति गर्नै सकस पर्ने उनको भनाइ छ । ‘जति आम्दानी हुन्छ । त्यसैबाट सबैको व्यवस्थापन गर्ने हो,’ उनले थपिन्, ‘नत्र मान्छेका आकांक्षा पूरा हुँदैन् । भ्रष्टाचार बढ्छ । त्यसैले त ठूला ठूला कान्ड घटेका छन् ।’ राजनीतिमात्रै मूल कर्म गरेको नेताको सम्पति हेर्दा कसरी त्यत्रो जम्मा हुन्छ ? त्यो भ्रष्टाचारकै कारण भएको उनको ठम्याइ छ ।

सरकारले गति नलिनु संघीयतामाथिकै प्रश्न
संसदमा १ वर्ष गुजार्दा पनि उनी प्रदेश र केन्द्र सरकारको कामप्रति सन्तुष्ट छैनन् । ‘जुन अपेक्षा लिएर संसद छिरेकी थिएँ । त्यो उत्साह पाइनँ,’ उनी भन्छिन्, ‘सरकारका आफ्नै समस्या नै समस्यामात्र देखिए ।’

प्रदेश सरकार गठन भए पनि अधिकारी मागिरहनुपर्ने, जनताले विश्वास गर्न नसक्ने, आर्थिक भार थपिँदै गइरहेका कारण संघीयतामाथि अझै पनि प्रश्न चिह्न खडा भएको उनको बुझाइ छ ।

प्रदेश सरकारले अहिलेसम्म कामै गर्न नपाउने अवस्था सिर्जना हुनु संघीयताको मोडल नै ठिक छैन भन्नेतिर नै बल पुगेको उनको विश्लेषण छ । ‘संघीयताकै कारण म प्रदेश सांसद बने तर खै त एक वर्षसम्म काम गर्न पाएको ?’ उनको प्रश्न छ, ‘सरकार आफैं निरिह हुनु भनेको संघीयता नै निरीह हुनु होइन ?’

सम्बन्धित खबर