शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

नर्सिङ पेसा र अनुभव

मङ्गलबार, ०५ चैत २०७५

अनिशा श्रेष्ठ

एसएलसी दिने बेलासम्म मलाई थाहा थिएन कि अब के विषय पढ्ने भनेर । गाउँकै १ जना दाजु डाक्टर थिए । एसएलसीको रिजल्ट आउने बित्तिकै नर्सिङ पढ्न उनले सुझाए । गाउँमै दाउरा घाँस गरेर पढेकी मलाई फ्लोरेन्स नाइटिंगेलको बारेमा केही थाहा थियो । बत्ती लिएकी महिलाको रुपमा विश्व प्रख्यात नाइटिंगेलको जीवनीबाट म प्रभावित थिएँ । भित्र कता मेरो मनमा पछि गएर नर्स बन्नुपर्छ भन्ने लागेको थियो । सुसुप्त अवस्थामा रहेको रहरमा उत्साह भरे गाउँले दाजुले । नर्सिङ पेसा राम्रो हुन्छ । अवसर पनि पाइन्छ । चाहेको खण्डमा पछि डाक्टर नै पनि बन्न पाइन्छ भन्ने सल्लाह पाएपछि मेरो मन अन्त मोडिएन ।

पिसिएल नर्सिङमा भर्ना भएर पढाइ सकिएपछि गाउँमा बिहेको कुरो चल्यो । हुर्के बढेकी छोरीको अब बिहे गर्नुपर्छ भनेर आमाले सुनाएपछि नाइँनास्ती गर्न सक्ने अवस्था नै थिएन । बिहे भयो । बिहे लगत्तै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा जागिरे थालें । पढाइ सकेर नर्सिङ पेसामा छिरेको पनि २५ वर्ष भइसकेछ । तर पनि बिरामीको सेवामा रातसाँझ नभनी खटिएरहेकी छु । नर्सिङ पेसा आफैमा आकर्षक मानिन्छ । अनि विदेश जाने अवसर पनि नआएका हैनन् । आइएनफका बेलायती डाक्टरसँग काम गर्दा मलाई उतैको भिसा लागेको थियो । तर मलाई नेपाली माटोको मायाले उता जानै दिएन । बरु नेपालकै गाउँ ठाउँका बिरामीको सेवालाई नै उनले प्राथमिकतामा राखें ।

धेरै बिरामीको गुनासो हुन्छ कि नर्सहरु छिटो रिसाउँछन् भन्ने । सबैले नर्सहरु रिसाउँछन् भन्छन्, तर बिरामीको सेवा गर्न पाउँदा मलाई आनन्द लाग्छ, रिस कहिल्यै उठ्दैन । बिरामी र साथीभाइसँग हुनै जहिले पनि हाँसेरै बोलिदिन्छु । सबैले मिजासिली छन् क्षेत्रकुमारी भन्छन् । केही कुरा चित्त नबुझे हाँसेर अरुलाई सम्झाउँछु र आफ्ना कुरा व्यक्त गर्छु । मेरा सहकर्मीले पनि भन्छन कि म रिसाउँदिन भनेर, यो मेरो सानैदेखिको बानी हो ।

यो पेसामा लागेपछि मसँग केही भुल्नै नसक्ने घटना छन् । कामको सिलसिलामा कहिले कहाँ पुगिन्छ, कसलाई भेटिन्छ, अनि कसको सेवा गरिन्छ, सबै कुरा दिमागमा रहँदैन । तर बिरामी र बिरामीका आफन्तले भने याद गरिरहँदा रहेछन् । १ पटक म पोखराबाट स्याङ्जा गएकी थिएँ । ट्याक्सीबाट ओर्लेपछि चालकले भाडा लिन मानेनन् । कारण सोध्दा चालकको जवाफबाट म दंग परे । अहिलेका ट्याक्सी चालक १३ वर्षको हुँदा बिरामी बाबुलाई लिएर क्षेत्रीय अस्पतालमा आएको रहेछन् । सर्जिकल वार्डमा ड्युटी भएकाले मैले उसको बाबुको हेरविचार गरेको रहेछु । ‘दिदी तपाईं गण्डकी अस्तालमा काम गर्नुहुन्छ हैन ? त्यति बेला हजुरले बुवालाई निशुल्क औषधी अनि खाना मिलाइदिनुभएको थियो । कति सहयोग गर्नुभयो । त्यतिबेला म सानै थिएँ । केही गर्न सक्ने अवस्थामा थिइनँ । अहिले त ट्याक्सी चलाउन थालेको छु । तपाईंले त्यत्रो सहयोग गर्नुभयो, कहाँ म तपाईंसँग भाडा लिन सक्छु ।’ ती चालक भाइको भनाइबाट म आफै फुरुंग भएँ । जीवनका कसैलाई सहयोग गरेकी रहेछु, भनेर आनन्द लाग्यो ।

अर्को घटना पनि अविस्मरणीय छ मेरा लागि । क्षेत्रीय अस्पतालबाट म भर्खर कास्कीको भेडाबारीस्थित प्राथमिक स्वास्थ्य चौकीमा सरुवा भएकी थिएँ । निकै भीडभाड रहने अस्पतालबाट गाउँको स्वास्थ्य चौकीमा पुग्दा कामको बोझ त्यति थिएन । सहयोगी र म सुतिराखेको बेला राति १ बजेतिर कसैले हाम्रो ढोका ढकढक्यायो । बाहिर गाडीको आवाज पनि आयो । सुत्केरी भएपछि साल नझरेर निकै रगत बगेको अवस्थामा महिलालाई ल्याइएको रहेछ । पूरै शरीर रगतले भिजेको । गाडीको सिट पनि बाँकी थिएन भिज्न । आफन्त निकै आत्तिएका थिए । मैले बिरामीको नाडी छामें तर धड्कन भेट्टाउनै मुस्किल पर्‍यो । ब्लड प्रेसर सामान्य थियो । मैले हतार हतारमा स्लाइन चढाउन थालेँ । दुबै हातबाट छिटो गतिमा स्लाइन दिएर अब साल निकाल्न सकिन्छ भनेर हेरें । तर पाठेघरको मुख बन्द भइसकेको थियो । मबाट थप उपचार हुनसक्ने अवस्था नै भएन । दुबै हातमा स्लाइन लगाएर पोखरा पठाउँन मैले सल्लाह दिएँ । रगत बग्न कम गर्ने औषधीसहितको सुई लगाइदिएर तातो कपडा फेरिदिएपछि १ घन्टा भित्रैमा बिरामीलाई पोखरा पठाएँ ।

६ पोका रगत चढाएर अपरेसन थिएटरमा लामो प्रयास गरेपछि ती बिरामीको ज्यान जोगिएछ । रातिमा स्लाइन दिएर तत्काल पोखरा नपठाएका भए ज्यान जोगिन गाह्रो थियो भने त्यतिबेला डाक्टरले भनेका रहेछन् ।

९ महिनापछि म राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत भेडाबारीकै गाउँमा पुगेकी थिएँ । त्यतिबेलाकी सुत्केरीले मलाई याद गरेकी रहिछन् । ‘भेडाबारीको नर्स हजुर नै हैन र ? हजुरले गर्दा नै मैले नयाँ जीवन पाएँ, नत्र यो बच्चा टुहुरो हुनेथियो ।’ उनले पुराना कुरा सुनाउँदै खाना खाएर जान आग्रह पनि गरिन् । पिँडीमा खेल्दै गरेको ९ महिनाको बच्चा र खुसी आमा देख्दा निकै खुसी लागेर आयो । हामी तिनै महिलाको घरमा खाना खाएर फर्कियौं ।

काम गर्ने क्रममा धेरै खाले बिरामीसँग हामीले व्यवहार गर्नुपर्ने हुन्छ । पारिवारिक, सामाजिक, आर्थिक र शैक्षिक अवस्थाले पनि भूमिका खेलेको हुन्छ । व्यक्तिपिच्छे स्वभाव फरक हुन्छ । सुईको कुरा गरौं न । जो स्वास्थ्यकर्मीले लगाए पनि उही खोप हो । तर कसैले लगाउँदा बिरामीले बढी दुख्यो भन्छन्, कसैले लगाउँदा खासै प्रतिक्रिया आउँदैन । सुई लगाउनु अघि नै ल हैं यसले तपाईंलाई चसक्क दुखाउँछ भनेर काउन्सिलिङ गर्न सकियो भने सेवाग्राहीमा सकारात्मक प्रभाव परेको हुन्छ ।
सबैखाले पेसाका आआफ्नै विशेषता हुन्छन् । डान्स रेस्टुरेन्टका काम गर्नेले पनि केही उद्देश्य बोकेर त्यहाँ गएको हुन्छ । त्यो अरुलाई मनोरञ्जन दिलाउने पेसा हो । हामी नर्सको पेसा त्यो भन्दा फरक छ । हामी नर्सको काम रमाइलो भन्दा पनि सेवाग्राहीलाई सान्त्वना दिने, नरम व्यवहार गर्ने हो । सेवाका लागि तल्लीन भइरहने भएकाले परिवार र समाजले पनि यो पेसालाई सम्मान गरेको छ । तर पनि नाइट ड्युटीमा खटिनुपर्दा महिलाका लागि केही समस्या त हुन्छ नै । अनि हाम्रो समाज पितृसतात्मक भएकाले महिलालाई होच्याउने चलन अझै पनि छ । नाइट ड्युटीमा बिरामीको सेवामा खटिँदा पनि शंकाको दृष्टिले हेर्ने गरिन्छ । कतिपय परिवारमै पनि यस्तो समस्या छ ।

हाम्रो पेसाको प्रकृति नै फरक हुने भएकाले परिवारलाई पर्याप्त समय दिन सकिँदैन । यसअर्थमा हामीहरुको पीडा परिवारका सदस्यले बुझिदिनुपर्छ । मेरो परिवारमा त त्यस्तो समस्या छैन । मेरो श्रीमान् कुरा बुझ्ने हुनुहुन्छ । नाइट ड्युटी गरेर आएको बेला दिउँसो सुत्नुपर्छ । मलाई डिस्टर्ब हुन्छ भनेर ढोका पनि विस्तारै खोल्नुहुन्छ । छोराछोरीले पनि मेरो पेसाको मर्म बुझेका छन् । खाना बनाउने र अरु घरको काममा उनीहरुले सपोर्ट गर्छन् ।

नेपाल सरकारले सरकारी सुविधामा महिला पुरुषका लागि समान तलबको व्यवस्था गरेको छ । महिलाका लागि सुत्केरी बिदासमेत दिएको छ । तर निजी क्षेत्रमा कार्यरत नर्सहरुले पनि उचित पारिश्रमिक पाउन नसकेको गुनासो हामीले सुन्दै आएका छौं । निजी स्वास्थ्य संस्थामा काम गर्ने फार्मेसिस्टको पनि समस्या उस्तै छ । अब राज्यले नै निजी क्षेत्रका स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक तोकिदिनुपर्छ ।

अनि नेपालमा नर्सको उत्पादन बढी भयो तर उपयोग भएन भन्ने गुनासो पनि छ । यहाँ उत्पादन धेरै भएको होइन कि नर्सको उपयोग हामीले गर्न सकेका छैनौं भन्ने मलाई लाग्छ । नेपालको जनसंख्या र यहाँ रहेका अस्पतालमा नर्स कति चाहिन्छ भन्ने कुरा संगठन व्यवस्थापन सर्भे नै अहिलेसम्म हुन सकेको छैन । यतिसम्म बिरामी यति नर्सले हेर्नु पने भन्ने प्रणाली सरकारले बसालिदिने हो भने अहिलेको नर्सका संख्या नै अपर्याप्त हुन्छ । संगठन व्यवस्थापन सर्भे न त सरकारी अस्पतालमा भएको छ न निजी अस्पतालमा ।

मानिस पूर्ण सन्तोष कहिल्यै पनि हुँदैन । यो उसको मानवीय स्वभाव हो । हामी नर्सहरु पनि सरकारसँग सन्तुष्ट छैनौं । सरकारले यस्तो ऐन बनाएको छ, हामी जागिरे जीवन जुन पोस्टबाट सुरु ग¥यौं त्यही पोस्टबाट अवकाश हुनुपर्ने अवस्था छ । यसले नर्सहरुलाई निरुत्साहित बनाएको छ । खतरा रोगका बिरामीको सेवामा जुट्नुपर्छ । अनि त्यस्तै खालका संक्रामक रोग सर्ने खतरामा पनि निकै उच्च हुन्छ । हामी निकै जोखिम मोलेर काममा खटिएका हुन्छौं । बिजुली, रेडिएसनको जोखिम पनि उत्तिकै छ । तर सरकारले हामीलाई जोखिम भत्ता भनेर मासिक ३ सय रुपैयाँ मात्र दिँदै आएको छ । के हाम्रो जीवन ३ सय रुपैयाँले जोगिन्छ ? नेपाल नर्सिङ संघको लामो आन्दोलन पछि बल्ल त्यो भत्ता सरकारले दिन थालेको हो । हामीसँग पीडा असाध्यै छन् । परिवर्तित अवस्थामा सरकारी निकायले हाम्रो पीडा बुझिदिनेछ भन्नेमा हामी आशावादी छौं ।

अहिले नेपालमा उत्पादित नर्सहरु यहाँ बस्नै छाडिसके । २÷३ वर्ष यहाँ जागिर खाएपछि उनीहरु क्यानडा, अस्टे«लिया, युके, अमेरिका लगायतका देशतिर पलायन हुन्छन् । यो नर्सहरुको वाध्यता पनि हो । राज्यले हाम्रा मर्का बुझ्न सकेको छैन । आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर, नाइट ड्युटी गरेर, परिवार छाडेर हामी बस्नुर्छ । न प्रमोसन छ, न चित्तबुझ्दो तलब छ, न अवसर । अनि किन बस्ने नेपालमा ? अनुभवी नर्सलाई विदेशी संस्थाहरुले सहजै रोजगारी दिन्छन् । मेरा धेरै साथी युकेमा छन् । तँजस्तो अपरेसन थिएटरमा काम गर्ने नर्सले युकेमा कति राम्रो आम्दानी गर्छन् भनेर उनीहरुले सुनाउँछन् । विदेशी मुलुकमा काम र अनुभवको कदर हुन्छ । तर यहाँ त काला गए गोरा आउँछन् भन्ने धारणा छ । यो राज्यका लागि पनि प्रत्युपादक बन्नसक्छ । अहिले मैले बिरामीहरुको सेवा गरेकी छु । आफू बिरामी परेको बेला स्याहार गर्ने अनुभवी नर्स नै पाइँदैन कि भन्ने पीर मलाई लाग्छ ।

अब फेरि नर्सको व्यवहारकै कुरा गर्छु । नर्सिङको पढाइकै क्रममा मनोवैज्ञानिक विषयको च्याप्टर नै हुन्छ । उनीहरुले पढेका पनि हुन्छन् । तर नर्सहरुलाई पनि समस्या छ । पहिलो त कतिपय अवस्थामा मानिसका आनीबानी परिवर्तन गर्न निकै गाह्रो हुन्छ । अर्को कुरा संस्थाले कामदारप्रति गर्ने व्यवहार र उसले दिने सुविधाले पनि केही काम गरेको हुन्छ । अर्को महत्वपूर्ण पक्ष भनेको भीडभाड नै हो । १ जना बिरामी कुर्न १० जना आउँछन् । एउटा कुरुवा आउँछ, के खुवाउने होला भनेर सोध्छ । अर्को कुरुवा आउँछ यो कपडा लगाउन हुन्छ कि हुँदैन भन्छ । अस्पतालको जनरल वार्डमा १ जना नर्सले साधारणतया १० जना बिरामी हेर्नुपर्छ । तर यहाँ त १ नर्सले ५० बिरामी हेर्नुपर्छ । ती ५० बिरामीका १०÷१० जना भिजिटर आउँदा उसले त ५ सय जनासँग ट्याकल गर्नुपर्छ । यही कारणले नर्सहरु बढी झर्किने गरेको मेरो बुझाइ छ । अनिशा श्रेष्ठ

सम्बन्धित खबर