बुधबार, ११ बैशाख २०७६
samadhannews
ntc

भाषण स्वाभिमानी, सोच गुलामी

शुक्रबार, २९ चैत २०७५
2 पटक पढिएको

सुनील सापकोटा

नेपाल स्वन्त्रता दिवस नमनाउने राष्ट्र हो, नेपाल कहिल्यै पराधिन नरहेकाले स्वतन्त्रता दिवस नमनाइएको बताइन्छ । तर मनाउँदै आएका दिवस कतिपय छोडिएका छन् । राष्ट्रिय महत्वका दिवस तथा जयन्ती मनाउनु सोही देशका नागरिकका लागि गर्वको कुरा हो । सालिक निर्माण पनि सम्मान नै हो ।

नेपालका सांस्कृतिक, प्राकृतिक सम्पदा, विशिष्ट व्यक्तिका नाममा हुलाक टिकट प्रकाशन गर्ने परम्परा छ । यो राष्ट्रिय योगदानको कदर हो तर हुलाक टिकट सहजै भेटिँदैन । कतिपयका सालिक तोडफोडसमेत भए । कस्तो संस्कारको विकास गरिएको हो ?

देशमा लामो समयसम्म राजतन्त्र भएको एकात्मक राज्य व्यवस्थाका कारण विकास नभएको भन्दै १० वर्ष सशस्त्र युद्ध भयो । हजारौं मानिस मारिए । बनेका पुल, भवनहरु ध्वस्त पारिए, लाखौं सम्पत्ति हिनामिना भयो । गणतन्त्र स्थापना भयो । गणतन्त्रले नेता र नेताका आफन्त तथा उपद्रव गर्ने कार्यकर्ताको जीवनशैली परिवर्तन भयो, साधारण जनताको आर्थिक अवस्था सुध्रिएन ।

भाषणमा विकास, समृद्धि र अन्य विकसित देशको तुलना गरी विकासे प्रतिस्पर्धा गरिरहे नोटले भोट किनेर सांसद र मन्त्री भएकाहरु । विदेशीकै एजेन्डा बोकेका कारण राजनैतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताइन्छ ।

नेपालका केही विद्वानहरुले नेपालीको आर्थिक स्तर सुधार भएको भन्दै नाक फुलाएका छन्, उनीहरुको तथ्याङ्क र भनाइ जस्ताको तस्तै बुझ्ने हो भने आर्थिक अवस्था सुध्रिएको छ । दक्षता होस् वा नहोस् विदेशमा श्रम गरिरहेका तन्नेरीहरुले पठाएको रेमिट्यान्सको हिसाबले आर्थिक अवस्था सुध्रिएको देखाएको हो ।

कुन उत्पादन निर्यात गरेर वा कुन कम्पनी स्थापनाबाट आर्थिक स्तर सुध्रियो त? नेपालीको आवश्यकता पूरा गर्न अधिकांश वस्तुहरुको आयात गर्नुपर्ने बाध्यता छ । आयातीत वस्तुको उपयोगले नेपाली मुद्रा विदेशिएको छ । श्रमशक्ति पलायन भएको यही परिस्थितिलाई आर्थिक अवस्था सुध्रिएको भन्नेहरुले युवा विदेश पठाउनमै जोड दिएको प्रष्ट बुझिन्छ ।

परम्परागत चौतारी भत्काएर विज्ञापनको होडिङबोर्डलाई प्रतीक्षालय भनिएको छ । चौतारीले दिने पहिचान, प्राकृतिक सुन्तरता र शीतलता डिजिटल होडिङ बोर्ड ÷विज्ञापनले दिन सक्ला ? पोखरा महानगरले विज्ञापन÷होर्डिङ बोर्ड हटाउने भन्दै चोक चोकमा डिजिटल विज्ञापनलाई प्राथमिकता दिइरहेको छ ।

चोकमा राखिएका डिजिटल विज्ञापनमा चालकले ध्यान दिए दुर्घटनाको खतरा छ । यसका साथै ती डिजिटल बोर्ड आयातीत हुन् । विदेशीकै मुख ताक्नु परेको छ । राज्यका निकाय पनि पैसाका लागिमात्र स्थापना भएजस्ता देखिन्छन् । पछिल्लो समय स्थानीय रक्सी नियन्त्रणको पहल भन्दै प्रहरीले रक्सी पोख्ने, रक्सी बनाउन प्रयोग हुने भाँडाकुँडा जफत गर्ने गरेको पनि सुनिएको छ । यो आफ्नो परम्परामा रक्सी नै पवित्र वस्तु मान्ने र सगुनका रुपमा लैजाने केही समुदायको परम्पराको विरुद्धमा देखिन्छ ।

लागुपदार्थ पूर्ण रुपमा बन्द गर्ने हो भने आपराधिक घटनामा कमी आउने निश्चित छ तर स्थानीय रक्सी बन्द गराउन लागिपरेको प्रशासन सस्तो दरमा बोटल प्याक भएर आउने रक्सी बन्द किन गर्दैन ? कि बोटल सिलप्याक रक्सीले आपराधिक घटना बन्द गरिदिन्छ ? विदेशबाट आयात गरिने महँगा रक्सी किन प्रतिबन्ध लगाउँदैन ? मुद्रा विदेशिएको छ, लागुपदार्थ प्रयोग त भएकै छ ।

बरु राज्यले स्थानीय रक्सी उत्पादनमा जोड दिने, लेबल लगाउने, विदेशी रक्सी आयातमा कमी गराउँदै प्रतिबन्ध लगाउने हो भने स्थानीय स्वरोजगार बन्ने, स्थानीय स्रोत साधनको उपयोग हुने, मुद्रा पलायन रोकिने र विदेशी पाहुनाका लागि नयाँ स्वादको अनुभव दिन सकिने थियो ।
नेपाली मन आफ्नोपनमा विश्वास गर्दैनन् ।

उदाहरणको रुपमा हेरौंः पर्यटकीय गाउँ सिक्लेसमा पोखराबाट बोटलमा सिलप्याक पानी लगिन्छ । सिक्लेसकै मूलको पानी अम्खोरा वा करुवामा खाने अवसर दिऊँ न त्यहाँ पुग्ने पाहुनालाई । त्यसमा शुद्धताको सवाल हो भने सिक्लेसमा नै पानी कम्पनी खोलिदिउँ र सिक्लेस ब्रान्ड चलाइदिऊँ ।

काम गरिहाल्नेबारे तत्काल सोच नै छैन, सोच्छन् त केवल विदेशी अनुदान कहाँ आउँछ ? एनजिओ आइएनजिओको कार्यकर्ता हुनमा नै आनन्द मानिन्छ, । स्थानीय जनसाधारणमात्र होइन, नेता मन्त्री नै यस्ता संस्थाका पछिपछि दौडिरहेका छन् । विदेशीका लागि मात्र अर्गानिक चाहिन्छ भन्ने चाकरी प्रथा विकास गराइएको छ । नेपाली युवा विदेश पठाउने सम्झौता गर्दै कृषि उत्पादन बढाउने र जग्गा बाँझो राखे कारबाही गर्ने भन्दै राज्यका नेतृत्व स्तरका महाशय बर्बराउँछन् ।

नेपालीको दिमागमा पश्चिमाले भरिदिएको फोहोर जम्मा भएको छ । आफ्ना परम्परा, रीतिरिवाज, धर्म संस्कृति मास्न नेपाली नै सक्रिय भएका छन्, अनि भनिरहेका छन् नेपालीको पहिचानका लागि संघीयता । देशभर एनजिओ तथा आइएनजिओ विदेशीको एजेन्डा बोकेर घरघरमा पुगेका छन् । त्यसमा काम गर्नेले दाम माम पाएकै छन् ।

एनजीओ आइएनजीओमा काम गर्ने एक तल्लो स्तरको कर्मचारीले बिलमा रकम बढाएर नेपाल सरकार मातहतका अधिकृतको भन्दा बढी पैसा मासिक आफ्नो पोल्टामा पार्छन्, नूनको सोझो गर्छन्, स्वाभिमानविरुद्धमा लागिरहन्छ । त्यसरी लागेको उनीहरुलाई पत्तो नै छैन । नेपालका प्रधानमन्त्रीसमेत त्यसैगरी पछि लागे भनेर स्वाभिमानी नेपाली आक्रोशित भए । होली वाइन काण्डले नेपालका प्रधानमन्त्रीको भारतीय नाकाबन्दीका बेला पाएको वाहवाही र स्वाभिमानी भाषणलाई माटोमा मिलाइदियो ।

नेपालमा भएका स्थानीय स्वादिष्ट उत्पादनहरु हराइसके । लोकल गाई, भैंसी, बाख्रा लोप हुने अवस्थामा पुगिसके । तालहरुमा रैथाने माछा लोप हुँदै आयातीत माछाले ढाकिसके । स्थानीय प्रजातिका फलफूल तरकारी पनि हराउन थालिसके । विभिन्न वनस्पति भेटिन छाडे । स्थानीय वस्तु र उत्पादन हराउनु विकास हो कि पहिचान ? अमेरिका, जर्मनी लगायतका देशमा लगेर संस्कृतका पुस्तक पढाउन थालिए, नेपालका संस्कृतका विद्वान विदेशमै गएर पठनपाठन गराउँछन् ।

यहाँका विद्वत्वर्ग संस्कृत मास्ने धुनमा छन् । संस्कृतमात्र होइन, विभिन्न जातजातिका भाषा, संस्कृति मास्ने योजनामा छन् । अमेरिकी संस्था नेपाली भाषा सिकाउन आर्थिक सहयोग गर्छ, यहाँको नेतृत्व र अभिभावक अंग्रेजीतिरै सर्वश्व देख्छन् । चीन, जर्मन, जापान अंग्रेजी नबोलेरै विकसित छन् भन्ने हेक्कासम्म छैन कि कुन्नि? दसैं, तिहार, फागुपूर्णिमा जस्ता रङका पर्वहरुमा रातो टीका लगाउन नहुने भ्रम फैलाउँदै हजारौं वर्ष पहिले मृत्युदण्ड दिइएका क्राइस्टको सम्झनामा नेपाली पुरुष÷महिलालाई विधवा प्रथा लाद्न खोजिएको छ । जब कि नेपाली समाज परिवर्तन भयो भन्दै एकल महिलाले रातो टीका लगाउन थालिसके ।

घरबास पर्यटन (होमस्टे) बाट नेपालको विकास गर्न सकिन्छ भन्ने अवधारणा अघि सारिएको छ । घरबासमा पनि विदेशी भएसम्म नेपाली राख्न खोजिँदैन, स्वाभिमानका नाममा विदेशीको चाकडी गर्ने सोच राखिन्छ । निकुञ्ज तथा संरक्षण क्षेत्रमा त्यहाँका वस्तुहरु निरपेक्ष संरक्षणका नाममा स्थानीयलाई सास्ती र विदेशीलाई सुश्रुषा मिलेको छ । स्याउ, सुन्तला, चिया, कफी लगायत कुनै एउटा वस्तुको उत्पादन केही बढी हुने हो भने भन्न थालिन्छ, विदेशमा निर्यात गर्न सकिन्छ ।

बिक्री गर्ने हो भन्दैमा विदेश नै ताक्नुपर्ने त थिएन, नेपालीको आवश्यकता पनि छ, नेपाली पनि उपयोग गर्छन् नि तर विदेशमुखी सोचले ग्रस्त नेपाली विदेशमात्र देख्छ । ल्याउने विदेशबाट, काम गर्ने विदेशमा, बस्ने विदेशमा, फेसन राम्रो विदेशकै, संस्कृति राम्रो विदेशकै नेपालीमा भरिदिएको आयातीत सोच ।

पश्चिमाले नेपाली नेताको मगजलाई डस्टबिन बनाइदिए, पहिचान, धर्म, संस्कृति, प्राकृतिक सम्पदा, इज्जत प्रतिष्ठा विदेशमा बेचेर पैसाका लागि विदेशमुखी बन्नु नै नेताहरु सफलता ठान्छन् ? हुँदा हुँदा केही नेपाली चेली विदेशीको सन्तान उत्पादनको मेसिन बनिसके ।

कतारका राजदूतले नेपालको पानीबारे बोलेछन् । यसैको चर्चा भो । नेपालका खानेपानी मन्त्रीले मन्त्री भएलगत्तै नेपालको चिसो मीठो पानी विदेशमा बेच्ने भाषण ठोके । गर्न नपर्ने भाषण ठोकेर दिन कटाए भत्ता प्राप्त हुने राजनीतिक नेतृत्व हाबी भएसम्म नेपालीले समृद्धि हासिल गर्नु र गोरु ब्याउनु उस्तै हो । नेपालमा लोडसेडिङको सेटिङ मिलाएर नेपाली जनतालाई अन्धकारमा राख्नेहरु विद्युत् उत्पादनमा बाधा पुर्‍याउँछन् र भाषण ठोक्छन्ः नेपालबाट उत्पादित बिजुली भारतमा बेचेर नेपाली समृद्ध बन्न सक्छ ।

नेपालीका लागि केही पनि गर्ने सोच देखिएन । नेपाली राजनीतिज्ञ र पश्चिमाको बुर्जुवा शिक्षा हासिल गरेर डा.साहेब बनेका सल्लाहकारले पनि नेपालमै आवश्यक छ, नेपालीले नेपालीका लागि गर्नुपर्छ भन्ने भावना अघि सार्न सकेका छैनन् । नेपालीले उत्पादन गरिदिएको, पढिदिएको, संरक्षण गरिदिएको, खपत गरिदिएको, दक्ष तथा अर्धदक्ष कामदार विदेशीकै लागि हो ?

नेपाल सरकार मातहतको पाठ्यक्रम विकास केन्द्रले मातृभाषामा प्राथमिक तहमा शिक्षा दिने गरी व्यवस्था मिलाउने कुरा एकातिर गरिरहन्छ, अर्कातिर विद्यालय प्रवेश गरेलगत्तै विदेशी भाषा र अव्यावहारिक बोझ बाल मस्तिष्कमा थोपर्ने योजना विद्यालय सुरु गर्छ । व्यावहारिक, प्रविधिमैत्री, सीपमूलक शिक्षा बालबालिकाले देख्नै पाएका छैनन्, केबल बुर्जुवा शिक्षाको भारी बोकाएर बुर्जुवामा उत्तम अमेरिका, बेलायत, जर्मनी, अस्ट्रेलिया लगायत देशमा, बुर्जुवाका मध्यम केही नेपालमा डक्टर, इन्जिनियर, राजनीतिज्ञ, शिक्षक लगायत पेसामा र केही खाडी मुलुकमा, त्यसपछि बुर्जुवामा निम्न भएकाहरु पढ्न नसकेको गुनासोसहित देशभित्रै तथा खाडीमा पसिनाको खोलो बगाइरहेका छन् ।
नेपालमा लागु भएको पाठ्यक्रम आयातीत नै हो भन्न हिचकिचाउनु पर्दैन । कक्षा ८ मा ९० प्रतिशतभन्दा बढी ल्याएका सहरी क्षेत्रका अधिकांश विद्यार्थी आफ्नो लागि भान्सामा खाना तयार गर्न सक्दैनन् । मास्टर्स गरेको व्यक्ति आफ्नो काम गर्न सीप भएको हुँदैन । तर उत्कृष्ट भएका केहीले विकसित देशमा आवासीय सुविधासहित रोजगारी पाउँछन् । विदेशमा रोजगारी पाएको व्यक्ति नेपाल फर्कन वा नेपालमा सेवा गर्न चाहँदैन । यसको अर्थ के हो त ? नेपालका उत्कृष्ट छान्न प्रयोग गरिएको बुर्जुवामा उत्कृष्ट भएको त्यो व्यक्तिलाई कुनै बहानामा विकसित देश पुग्न वातावरण मिलाइन्छ किनकि विदेशमा तिनीहरु लैजान योग्य छन् र आवश्यक छ ।
राज्यले कागजी नीति सार्वजनिक ग¥यो, स्वरोजगार र युवालाई स्वदेशमै रोजगार । यो त केवल आफ्ना आसेपासेलाई पात्लो फाल्ने प्रयोजनका लागि गरिएको प्रपञ्चमात्रै रहेछ । हरेक दिन पासपोर्ट बनाउन जाने युवाको संख्या बढिरहेको छ । नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी ) सुरु भएको ८ वर्ष भएको छ । एमआरपी लिनेको संख्या करिब साढे ५७ लाख भएको तथ्यांक छ । यत्तिका संख्यामा रहेका युवाले विदेशीकै विकासमा टेवा पु¥याएका छन् । उनीहरुको योगदान नेपालको विकासमा छँदै छैन भन्न खोजिएको होइन । जति देशमा योगदान पु¥याउन सक्षम छन्, त्यति गर्ने वातावरण राजनीतिक नेतृत्वले दिएकै छैन, अझ भनौं अवरोधमात्रै पु¥याइरहेको छ ।
नेपालमा जन्मेका गर्वका साथ नेपाली भन्ने युवा भारत, ब्रिटिस, सिंगापुर प्रहरी÷सेनामा भर्ती हुन मरिहत्ते गर्छन् । त्यतिमात्रै होइन, ब्रिटिस सेनामा भर्ती भएकाले त बेलायतमै सपरिवार बस्न पाउनुपर्ने भन्दै आन्दोलन नै गरे । जन्मभूमिमै बस्न नचाहने कस्तो स्वाभिमान ? एक जना नेपाल सरकारको उच्च पदस्थ कर्मचारी डिभी भरेर अमेरिका जान चाहन्छ कस्तो आत्मसम्मान ? कुनै एउटा बाबु आफ्ना छोराछोरी विदेश हुनुमा गर्व गर्छ । कुनै एउटी आमा आफ्नो छोरो विकसित देशमा पसिना बगाउदै गरेको छैन भनेर दुखेसो गर्छिन्, कस्तो स्वाभिमान ? नेपालमा मास्टर्स गरेको मानिसले खेतमा काम ग¥यो भने ‘पढेर के काम हेर त खेत जोत्दै छ’ आवाज सुनिन्छ । कोरियामा पुगेर त्यही व्यक्ति बंगुरको खोर सफा गर्छ, नेपाल फर्किँदा सम्मान पाउँछ, कस्तो अभिमान ?
सुनेको थिएँ, भारतमा लोकप्रिय भनिएका नेता महात्मा गान्धीको विरोध गर्नेहरु पनि छन् । उनका अनुसार महात्मा गान्धीले अंग्रेज धपाउ अभियान चलाएर गल्ती गरे । किनभने अंग्रेजले लिइराखेको भए भारत अझ धेरै र पहिल्यै विकसित हुन्थ्यो, स्वाभिमानको नाममा अंग्रेज धपाएर के पाए त गरिब जनताले ? त्यस्तै भन्ने नेपाली पनि नेपालमा छन् । राज्य सञ्चालकले स्वाभिमानी नेपालीलाई विदेशीको गुलामी गर्न बाध्य बनाइरहेका छन् । नेपाली पनि देशमा विकास, रोजगारी, सुविधा, आम्दानीको राम्रो स्रोत चाहन्छन् तर विदेश जाऊ भन्दै पासपोर्ट र भिसा थमाइदिन्छ सरकार । सरकार ! के हो स्वाभिमानको परिभाषा ? भारतीयलाई नागरिकता बाँडेर नेपाली बनाउने राज्यसंयन्त्रले खोजेको नेपाल राष्ट्र कि प्रान्त ? भारतीय नागरिकलाई ल्याएर नेपालमा बनाइएको नेताले नेपालीको हितमा कति काम गर्ला ? स्वाभिमानी नेपालीलाई सहयोग गर्ला ?
नेपालमा प्रधानमन्त्री हुन भारतमा सल्लाह हुनुपर्छ, विपक्षी दलको नेता भारतमा गएर लम्पसार परेपछि सरकार परिवर्तनको कसरत सुरु हुन्छ । प्रधानमन्त्री हुनासाथ भारतमा गएर लम्पसार परी ढोगभेट चलाउनु पर्छ सरकार टिकाउनका लागि । नेपालको उच्च गुणस्तरको चिया, चिनी, कफी विदेशमा बेच्नुपर्छ र कमसल नेपालीलाई उपभोग गराउनुपर्छ भन्ने नियत सरकार र उत्पादकको छ । गुणस्तरीय राम्रो वस्तुको उपयोग गर्न पाउने छैनन् भनेर कतै लेखिदिएको रहेछ कि नेपालीको भाग्यमा ? नेपालमा गाईवस्तु पालेर दूध उत्पादन गर्न सक्ने अवस्था छ, उत्पादित दूधमा समेत पाउडर र सोडा मिसाएर अशुद्ध र खान अयोग्य बनाइन्छ त्यस्ता वस्तु नेपालमा विदेशीले पठाइदिन्छन् । नेपालमा गुणस्तर बिगार्न नेपाल सरकारका अनुगमन गर्ने निकायकै सहयोगमा काम भइरहेको बताइएको छ । २÷४ पैसा हात पर्नासाथ उनीहरु कालोलाई सेता भएको पुष्टि गरिदिन्छन् । पहिला उत्पादन नै हुँदैन, भइहाले विदेश निर्यात हुन्छ र कमसल आयात गरिन्छ । यस्तो अवस्थामा गए गुज्रेका सामान उपयोग गर्ने हामी नेपाली भनेर गर्व गर्ने ? यसलाई स्वाभिमान ठान्ने कि आत्मसम्मान ?
देश संघीयतामा पुगेपछि विकासको बाढी आउने सपना बाँडेका धोकेबाजहरु बोरामा २ किलो माटो बिस्कुन झैं फिँजाएर गोरु नभएको हलो र जुवाले जोतेको नाटक गरेर बच्चाले खेल्ने खेलौना खेलाइरहेको तस्बिर सार्वजनिक हुँदा लाज लाग्यो, तर तिनै मन्त्रीलाई गर्व लाग्यो होला । सायद अब बोरामा हलो जोत्ने देश भनेर गिनिज बुक रेकर्ड पो कायम हुने हो कि? बोरामा हलो जोत्ने देश कुन हो भन्ने सामान्य ज्ञानको एउटा प्रश्न थपिएको छ । नायबसुब्बा वा अधिकृतको कुनै परीक्षामा बुर्जुवा शिक्षाको मतियार लोकसेवा आयोगले सायद यही प्रश्न सोध्नेछ । पानीजहाज कम्पनीको बोर्ड टाँसेर कार्यालय बन्द गर्ने देश कुन हो ? स्वाभिमानी भन्दै गुलामी गर्न जनतालाई बाध्य पार्ने देश कुन हो ? विद्युत् क्षमता हुँदाहुँदै कटौती गरेर सोलार र इन्भर्टरको व्यापार बढाई कमिसन खाने ऊर्जा मन्त्री कुन देशका हुन् ? आफ्ना दलका नेता कार्यकर्तामात्र जनता भन्ने पार्टी नेतृत्व भएको बहुदलीय व्यवस्था भएको देश कुन हो ? सास्ती दिएर सेवा शूल्क लिने देश कुन हो ? अख्तियार दुरुपयोग अनुसन्धान गर्ने निकायमा बसेर भ्रष्टाचार गर्ने आयुक्त कुन देशका हुन् ? राजनीतिक आस्थाका आधारमा वकालत हुने देश कुन हो ? सबै प्रश्नको उत्तर हो, ‘नेपाल’ । अब नेपालीको पहिचान विश्वमा भयो भनेर गर्व गरुँ ?
यहाँ राम पुजिँदैन रावण पुजिन्छ, जब रावण विद्वान मानिन्छ, विद्वान रावण अर्काकी श्रीमती अपहरण गर्छ, विद्वता भएर पनि नेपालका विद्वान रावण जस्ता बनिरहेका छन् । मतलब अरुको राम्रो र भएको विद्वता दुरुपयोग गरेका छन् । विदेशी च्यानल र भाषामा सबथोक देख्छन् र भाषाको रक्षा गर्नुपर्छ भन्छन् । विदेशबाट आयात बढाउँछन् र आत्मनिर्भरताको कुरा गर्छन् । बुर्जुवा आयातीत शिक्षा पढाउँछन् र व्यावहारिक प्राविधिक शिक्षाको ढोल बजाउँछन् । नेपालका विद्वान बुझक्कड यसैलाई स्वाभिमान भन्दछन् क्यारे । यसैलाई आत्मसम्मान सम्झन्छन् क्यारे ।

सम्बन्धित खबर