शुक्रबार, ०६ भदौ २०७६
samadhannews
माग्न नसक्ने जनता

माग्न नसक्ने जनता

बुधबार, ११ बैशाख २०७६
7930 पटक पढिएको

बद्रीविनोद प्रतीक

नयाँ वर्षको पहिलो दिन हामी लमजुङ यात्रामा थियौं । अल्पसंख्यक दुराहरुको उद्गमस्थल तुर्लुङकोट गाउँमा पुग्दा छुट्टै आनन्द छायो । समुद्री सतहबाट करिब १ हजार ५ सय मिटर उचाईमा रहेको तुर्लुङकोट कालिकाको मैदानमा आयोजित ५ औं चैते दसै मेला मेरो जीवनमा दोस्रो थियो । झन्डै ४० वर्ष अगाडि र पछिका दृष्यमा समानता थिएनन् ।

प्रधानमन्त्री केपी शर्माको भनाइमा विकासको तीव्र गतिमा रहेको अहिलेको गाउँ र उहिलेको गाउँमा आकाश जमिनकै फरक छ । पहिले हिँडेरै कालिका दर्शन गरिएको थियो । अहिले मोटरमा गुडेर पुगियो र दर्शन गरियो ।

पहिलो पटक पुग्दाका प्राकृतिक दृश्य अहिले देखिएन । पहिले ससाना पसल थिए । गाउँघरमा उत्पादन गरिएका डोको, नाम्लो, कुटो, कोदालो, हसिया, राडी, पाखी, अल्लोबाट बुनेका कपडा, घरवुनाका कपडा आदि बेच्न राखिएको हुन्थ्यो । तर अहिले ती वस्तु भेटिएनन् । ठेलो हान्ने र जित्नेलाई काधमा बोकेर हुर्रे हुर्रे गर्ने, फेता गुथाएर रुपैयाँको फूल लगाई दिने चलन पनि फेरिएछ ।

ठेलो प्रतियोगिता गराएर पहिलो, दोस्रो र तेस्रोलाई प्रमाणपत्रसहित नगद पुरस्कारको व्यवस्था सुरु भएछ । ठाडो भाका गाउने, दोहोरी, घाटु जस्ता ऐतिहासिक गीत–नृत्य परिमर्जनसहित आउन थालेछन् । जाँड, रक्सी, मासु खाएर मात्तिने, चौरभरि पल्टिएर जात्रामय भई दिने चलन पनि हराएछ । ठेलो हान्नेबीचको कुटाकुट र भागाभाग अहिले हटेको छ ।

मानिसमा आएको चेतना र शिक्षाको पहुँचका कारणले होला, परम्रागत चैते दसै मेलालाई व्यवस्थित गरिएको छ । कालिका मिलन युवा क्लब तुर्लुङकोट भागु र ऐतिहासिक दुराडाँडा महोत्सवको आयोजनामा कार्यक्रमलाई व्यवस्थित गरिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री प्रमुख अतिथि थिए । ३ दिनसम्म चल्ने मेला महोत्सवमा दुराहरुको महाधिवेसन र विचार गोष्ठी तथा कार्यशाला पनि गरियो ।

पहिलो दिन मेला तथा महोत्सव उद्घाटन भयो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवमा भने, ‘यस वर्ष यस्तै भयो, अर्को वर्ष वायुपंखी भएर बढ्ने छौं ।’ उनको यो भनाइ कतिले बुझे थाहा छैन । वायुपंखी शब्द सुनेर ताली बजे । उनको भनाइको अर्थ थियोः अर्को साल हामी तीव्र गतिमा विकास अगाडि बढाउँछौं । उनको तीव्र विकास कुन–कुन विषयमा हुने हो त्यो कसैलाई थाहा भएन । स्थानीय चाहन्थे गाउँ आउने मोटर बाटो चाडै पिच भइदियोस् । पिउने पानी र बिजुली बाल्न दुख नहोस् । स्कुल र स्वास्थ्य सेवा सर्वसुलभ होस् । गाउँगाउँमा केही काम गरेर खान पाउने व्यवस्था होस् ।

सायद उनीहरुको मनको भाषा मुख्यमन्त्रीले बुझेछन्, बोल्दा यी कुरा छुटाएनन् । पोखराबाट डेढ २ घन्टामा सररर आउन जान सकिने गरी बाटो पिच गराउँछु भने । बिजुली, पानी, शिक्षा, स्वस्थ्य सबैको व्यवस्थ गर्छु भने ।

सरकारको तर्फबाट कुनै कुराको कमी हुँदैन । तपाईंहरुले पनि उद्यम गनुपर्‍यो । जहाँ जे हुन सक्छ, त्यसमा लाग्नु पर्‍यो । फलफूल, तरकारी, पशुपालन, कृषि, माहुरीपालन, मत्स्यपालन, जडिबुटी उत्पादन, फूल, नर्सरी के–के हुन सक्छ त्यसमा लाग्न सबैलाई मुख्यमन्त्रीले सुझाए ।

मुख्यमन्त्री गुरुङले जहाँ जाँदा पनि नछुटाउने भनाइ छः जमिन बाँझो नराखी देऊ । जमिनबाट सक्दो उत्पादन लिनै पर्छ । आवश्यक परेको सहयोग खुलेर माग, प्रदेश सरकार सक्दो सहयोग गर्न तयार छ । कहाँ के हुन्छ, कुन प्रकारको सहयोग चाहिन्छ सबै मिलेर पहिल्याउ र माग गर ।

प्रदेश सरकार मिलेर काम गर्न तयार छ । यो कुरा त्यहाँ पनि उनले जस्ताको तस्तै राखे । उनको थप भनाइ थियो, ‘हामीले गरेको उत्पादन आफ्ना लागि मात्र हो नभनौं । देश विदेश जहाँ पनि निर्यात गरेर आम्दानी बढाऔं । समृद्ध र सुखी नेपाली हात बाधेर बस्नेहरुबाट देख्न सकिँदैन ।

उद्यम, खेतीपाती, पशुपालन, कृषि फर्म के गर्न सक्नुहुन्छ योजना लिएर आउनुहोस् । हामी ५० प्रतिशत लगानी गरिदिन्छौं । यसो भनेर घर घरै सोध्न आउने सरकार हिजो थिएन आज हामी घरघर आएका छौं । यो अवसरको सदुपयोग गर्नुहोस् ।’

सबैले बुझ्ने भाषामा बोलिरहेका थिए मुख्यमन्त्री । वरिपरि बसेर भाषण सुनिरहेका थिए तुर्लुङकोटका बासिन्दा । आफूले चुनेको नेता प्रदेशको मुख्यमन्त्री भएपछि उनीहरु त्यसै मखलेल छन् । अर्का प्रदेशसभा सदस्य मयानाथ अधिकारी, संविधान सभा सदस्य भीष्म अधिकारी र आफ्नै मेयर जनक मिश्रका कुरा पनि गाउँलेले सुने । भाषणमा कुनै कमी थिएन ।

भाषणपछि सम्मान र पुरस्कार बाँडिदै थियो । अचानक वर्ष भयो । वर्षलाई शुभ ठान्नेहरु रुझेरै बसे । कोही पनि भागेनन् । ‘चाउचाउ बा’ भनेर नेपालमा चिनिएका फडिन्द्रमान श्रेष्टलाई सम्मान गरिएको थियो । उनले विसं २०३२÷३३ सालमा पोखरामा गण्डकी नुडल्स प्रालि खडा गरेर चाउचाउ उत्पादन गरेका थिए । रारा ब्रान्ड नामको चाउचाउ फडिन्द्रकै सिर्जना हो । जुन अहिले पनि लोकप्रिय छ । श्रेष्ठ त्यहीका बासिन्दा हुन् ।

सारा संसार डुलेर भ्याए । अहिले त्यही गाउँमा आएर अन्तिम जीवन पर्खेर बसेका छन् । यस वर्षको ठेलो जितेर प्रथम भएका बुद्धिबल आलेमगर पनि सम्मानित भए । दुरा गाउँमा आले मगर वलशाली देखिए । उनलाई दूरदर्शी श्रीकान्त अधिकारी प्रतिष्ठानकी सबला अधिकारी आत्रयले जित्नेहरुलाई फेता गुथाएर नगद प्रदान गरेकी थिइन् । मुख्यमन्त्री गुरुङले प्रमाणपत्र दिएका थिए । ठेलो जित्नासाथ काधमा बोकेर कुदाउने पुरानो चलन फेरिएछ ।

देउबहादुर दुरा थिएनन्, त्यो ठाउँमा । उभिएका थिए धनबहादुर दुरा ‘धम्पु’ । पानी वर्षिरहेको थियो पुरानो शैलीको ठाडो भाका गाइरहेका थिए धम्पुले । उनको लय पक्रँदै थिए सहयोगीहरु । कार्यक्रमको अध्यक्षता गरेका थिए प्रेमबहादुर दुराले । सबै जना व्यस्त थिए । काठमाडाैं, भरतपुर, पोखरालगायतका ठाउँबाट आएका पाहुना पानीमा नै भिजेर धम्पुको गीत सुनिरहेका थिए ।

प्रेमबहादुर सुन्दरबजार नगरपालिका ११ का वडा अध्यक्ष पनि हुन् । उनले बोल्दा आफ्नो वडाको समग्र विकासलाई समेटे । समग्र पक्षमा ध्यान दिएका थिए उनले । पानीले नाचगानलाई प्रभावित पार्‍यो । रुपा दुराको नृत्य हेर्दा हेर्दै रोकियौं हामी । कार्यक्रम रोकेर तुर्लुङकोट झरियो ।

गाउँ प्रवेश गर्दा मुख्यमन्त्रीको स्वागतमा पञ्चैबाजा घन्केका थिए । बाजासँगै स्वागतार्थी पनि थिए । आमा समूह दुराहरुकै ड्रेसमा फूल र पातीको माला लिएर लामवद्ध थिए । प्रेमबहादुरले मुख्यमन्त्रीलाई एउटा घरको आगनमा पुर्‍याए । हामी पनि पछिपछि लाग्यौं । गाउँले हामीसँगै हिँडेका थिए । हामी आँगनमा पुग्याैं । प्रेमबहादुरले एउटा ढोकामा बाँधेको रातो रिवन देखाउँदै मुख्यमन्त्रीको हातमा कैची थमाए । कैची लिएका मुख्यमन्त्री यताउता हेर्दै थिए ।

अलमलिएर हो वा कुनै फोटोग्राफरले क्यामरा सोझ्यायो कि सोझ्याएन भनी हेरेका थिए । त्यो कुरा भने बुझिएन । प्रेमबहादुरले ढोकानेर उभिएर भने रिवन काटेरभित्र गइदिनुस् । उनले जे भने, त्यही गरिदिए मुख्यमन्त्रीले । वरिपरि उभिएकाले ताली बजाए । मैले पनि ताली बजाएँ । तुर्लुङकोट होमस्टे उद्घाटन भयो । त्यो रात मुख्यमन्त्री त्यही कोठामा सुते । सपना कस्तो देखे, थाहा पाइएन ।

मेला, महोत्सव भनेपछि मानिसको भीड त्यसै पनि भइ हाल्छ । तुर्लुङकोट होमस्टेमा जम्माजम्मी २०–२२ बेडमात्र थिए । सबै पाहुना त्यहाँ अटाउन सक्ने कुरै भएन । त्यस गाउँका ८० सय घर पूरै भरिए । समाज घर पनि भरियो । वरपरका ठूलास्वारा, मकैस्वारा, फोस्रे, पुरानाकोट, नेटा, चन्द्रेश्वर, दुराडाँडा लगायतका गाउँ बहिरबाट आउनेले भरिएका थिए । भाग्यले हामी मुख्यमन्त्रीको आडपाडमै बस्न पायौं । बिहान आउँदा छुटेका पत्रकार युवराज श्रेष्ठ मसँगै परे । बाटोमाथिको नयाँ होमस्टेमा परिएछ ।

खाना बनाउन पनि आफैंले सिकाउनु पर्‍यो । बेडहरुमा ओढ्ने ओछ्याउने राखेका थिए । हामी आफैंले मिलाएर प्रयोग गर्‍यौं । उनीहरुले पाहुना राखेर व्यवसाय गरेकै रहेनछन् । त्यो घरको पहिलो पाहुना युवराज श्रेष्ठ र म भएछौं । खुसी लाग्यो । जे होस्, उनीहरुलाई होमस्टेबारे तालिमको खाँचो रहेछ ।

मुख्यमन्त्रीले दिउँसो भनेका धेरै कुरा होमस्टे सञ्चालकले पनि थाहा पाउनैपर्ने खालका थिए । उनीहरुले थाहा पाए कि पाएनन् कुन्नि । थाहा नभएको भए अब अर्को पटक होमस्टेबारे बेग्लै कार्यक्रम गर्नुपर्ने लाग्यो । जनतामा केही गरौं भन्ने छ । उनीहरु के गर्ने होला भनेर अल्मलिएका छन् । कामको मेसो पाएका छैनन् । उनीहरुमा प्रदेश सरकारले काम गर्ने मेसो देखाइ दिए हुन्थ्यो भन्ने चाहना पाइयो । मुख्यमन्त्रीसँग भनिहाल्न सक्ने क्षमता सबैमा देखिएन ।

उनीहरु टुलटुलु हेरिरहेका थिए । ठूलो साहस निकालेर माग राख्नेले पनि ठूलो माग राख्न सकेनन् । सहर बजारका टाठावाठा भए करोड, अर्बका योजना अगाडि सार्थे । विचरा गाउँले आमा घरमा रंग लगाई देउ भन्छिन । समाज घरको छाना राखिदेऊ भन्छिन् । गाउँले पानीको कुवा, पाइप, धारो माग्छन् । कति सोझा र इमान्दार छन् उनीहरु । उनीहरु भन्छन्, ‘विसं २०४३ सालदेखि अहिलेसम्म एउटै व्यक्तिलाई भोट दियौं । हामीले जिताएको मानिस मुख्यमन्त्री हुनुभयो । हामी यसैमा खुसी छौं ।’

मुख्यमन्त्रीप्रति उनीहरुको कुनै गुनासो छैन । मुख्यमन्त्रीले ती साना साना माग र निवेदन निजी सहायक सूर्य गुरुङलाई टिपाउथे र पत्रहरु लिन लगाउँथे । गाउँलेहरु त्यतिमै खुसी थिए ।

यतिबेला गाउँमा मोटर, जीप, बस, ट्याकटर प्रवेश गरेका छन् । तिनीहरुले गाउँलाई बाहिरी समाजसँग जोडेका छन् । जसले गर्दा दैनिक आवश्यकता बढ्दै गएको छ । दैनिक आवश्यकता पूरा गर्न युवा जनशक्ति गाउँ छोडेर बाहिर जाने क्रम बढेको छ । युवा यसरी निस्कन थाले भने गाउँमा सामान्य काम गर्ने जनशक्ति पनि हुने छैन ।

बुढाबुढीले भरिएको निरस गाउँ हुनेछ । यसकारण अबको योजना युवालाई गाउँमै रोकेर उत्पादनमा लगाउने खालको हुनु पर्छ । प्रदेश सरकारले ठूलो–ठूलो कुरा नगरे हुन्छ । जनताको जीवनस्तर उठाउन, उत्पान बढाउन र युवालाई गाउँ विकासको मोडलमा सहभागी गराउन सकियो भने सबैभन्दा राम्रो हुन्छ ।

जहाँ जेको सम्भाव्यता छ, त्यसै अनुरुपको योजना बनाउनु जरुरी छ । मुख्यमन्त्रीबाहेक विशेष गरी मुख्यमन्त्रीको सचिवालयका अधिकारी, नीति तथा योजना आयोगका पदाधिकारीले बाहिर–बाहिरका सामान्य कार्यक्रममा समय खर्चनु जरुरी छैन । मुख्यमन्त्रीले पनि उनीहरुलाई पछि लगाएर हिँडाउनु जरुरी छैन । कामै नभए पनि मुख्यमन्त्रीको पछि लागेर समय कटाउने सचिवालयका अधिकारीको अहिलेको आदत सुधार्न जरुरी छ ।

योजना तर्जुमा तथा अनुगमनमाबाहेक राजनीतिक कार्यक्रममा पछिपछि हिँड्ने राष्ट्रसेवकलाई मुख्यमन्त्रीले पनि भन्नुपर्छः तपाईहरु लानुपर्ने ठाउँमा मात्र लान्छु । त्यत्तिकै पछि लागेर नआउनुस् ।

(प्रतीक प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासंघ कास्की पूर्व अध्यक्ष हुन्)

सम्बन्धित खबर