मङ्गलबार, १० असार २०७६
samadhannews
e planet education.

मौलिकता गुमाएको बारपाक

बिहिबार, ०९ जेठ २०७६
630 पटक पढिएको

अमृत सुवेदी
पोखरा

२०७२ वैशाख १२ गते । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक । ढुंगाकै छाना, ढुंगाकै गाह्रो अनि ढुंगाकै पर्खाल । त्यतिमात्र कहाँ हो र ? बाटो र आँगनमा समेत सर्लक्क परेका ढुंगा बिच्छ्याइएका । हो बारपारको परिचय थियो गाउँको एकरुपता । जसै भूकम्पले बारपाक ध्वस्त बनायो, उसै त्यहाँको मौलिकता हरायो ।

अहिले बारपाकमा समान खालका घर छैनन् । अव्यवस्थित र असमान किसिमका घरका मोडलमा बारपाक उभिएको छ । कुनै घर आरसिसी र अग्ला छन् भने कुनै कच्ची र होंचा छन् । जसका कारण बारपाकको मौलिकता हराएको छ ।

भूकम्पको पुनर्निर्माणको मोडल एउटै बनाउन नसक्दा र प्रक्रियासमेत लामो हुने भएपछि लाहुरेहरुको गाउँ बारपाकमा आफूखुसी घर ठडिए । अब भने बारपाकमा पर्यटकीय मापदण्ड तयार हुने भएको छ । अब बारपाक गाउँको समग्र संरचना पुनर्निर्माणको काम पर्यटकीय मापदण्डअनुसार गर्न डिपिआरको काम भइरहेको वारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टको दाबी छ ।

प्रदेश तथा संघ सरकारको सहयोगमा बारपाकमा भूकम्प स्मृति पार्क पनि निर्माण हुँदै छ । बारपाक लगायतका ठाउँलाई पर्यटकीय गन्तव्य बनाउने योजना अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष भट्टले बताए ।

गाउँपालिका केन्द्र ताकुकोटमा छ । तर, गाउँपालिकामा सेवाग्राहीले सजिलै सेवा पाउने गतिलो भवन छैन । अब भने गाउँपालिकाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा दिने तयारी गदैछ ।

गाउँपालिका केन्द्र राख्न हुँडिफाँट र ताकुकोटमा ५० रोपनी जग्गा प्राप्त भइसकेको उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिइन् । ठेक्का प्रक्रिया समेत अगाडि बढिसकेको छ । तत्काललाई १० कोठे पक्की भवन गाउँपालिकालाई हस्तान्तरण हुँदैछ ।

गाउँपालिकाको दीगो र व्यवस्थित विकासका लागि गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको अध्यक्ष भट्टले बताए । गाउँपालिकाले कार्यालय व्यवस्थापनको कामसँगै सडक बिस्तार, स्तरोन्नति र कालोपत्रेको कामलाई पनि अगाडि बढाइरहेको छ । घ्याम्पेसाल–बारपाक सडकको बीचमा यातायात रोकिने अवस्था आएपछि झन्डै ९ किलोमिटर सडक कात्रोपत्रे भइरहेको गाउँपालिका अध्यक्ष भट्टको भनाइ छ । वडाका सदरमुकाम जोड्ने मुख्य सडकको स्तरोन्नतति र सबै साना बस्तीमा कच्ची सडक सञ्जाल पुर्‍याइएको छ ।

बारपाकका ७ हजार १ सय ८१ घर भूकम्पले भत्काएको थियो । २ वर्षमा गाउँ सरकारका प्रमुखले जनताका घाउमा कति मल्हम लगाए ? भूकम्पले थिचेका आशा र भरोसालाई कति जगाए ? कति विकास निर्माणका काम गरे त ? गाउँपालिका अध्यक्ष भट्ट भन्छन्, ‘बेहाल थियौं, उठेका छौं । अब फड्को मार्छौं ।’

पदबहालीको तेस्रो वर्ष प्रवेश गरेका गाउँपालिका जनप्रतिनिधिले आफूले गरेका काम गाउँवासीलाई साक्षी राखेर सार्वजनिक गरे । साविकका ७ गाविस समेटिएर ८ वडा बनेको गाउँपालिकाले २ वर्षको अवधिलाई सघंर्ष र जग निर्माण गर्दै विकासको सुरुआत थालेको छ ।

भूकम्पपछिको पुनर्निर्माणमा देशमै उत्कृष्ठ भएको बारपाक सुलिकोटमा ९० प्रतिशत घर बनिसकेका छन् । ‘पुनर्निर्माणको कामलाई तिव्र रुपमा अगाडि बढायौं, नमिलेका ठाउँमा मिलाउँदै गयौं, बाँकी छुटेकाको सर्भे हुँदैछ,’ गाउँपालिका अध्यक्ष भट्टको दाबी छ, ‘हामी अप्ठेराबाट उठ्यौं, समस्यालाई पन्छायौं र पो यहाँसम्म आयौं ।’

ठूला डाँडा र पहाडी भूभाग रहेको बारपाक सुलिकोटका जनतालाई अझै सडक, टेलिफोन, बिजुली, स्वाथ्य, शिक्षामा समस्या छन् । तर, भौगोलिक जटिलतालाई पनि चिरेर संरचना, कानुन र विकासको जग बसाल्न सकेको गाउँपालिका अध्यक्ष भट्ट र उपाध्यक्ष सनमाया गुरुङको भनाइ छ ।

नयाँ विद्यालय, कर्मचारीविहीन
भूकम्पले विनासमात्रै गरेन । कतिपय हिसाबले विकासको ढोका पनि खोल्यो । भूकम्पले भत्काएका सबै ठाउँमा निजी, सार्वजनिक तथा सरकारी नयाँ संरचना बनिरहेका छन् । भूकम्पपछि जीर्ण विद्यालय पक्की बनेका छन् । गोरखाका अधिकांश विद्यालय दाताले बनाइदिएका छन् ।

बारपाकका १२ उमावि, १० मावि लगायत ४८ विद्यालयमा पक्की भवन बनिरहेका छन् । एउटा विद्यालयको भवन निर्माणको चरणमा छ । त्यसमध्ये सबैजसो विद्यालय दाताले बनाइदिएका छन् ।

‘हामीले छिटो सक्न र बनाउने वातावरण बनाएका छौं,’ गाउँपालिका अध्यक्ष भट्टले भने, ‘तर, गाउँपालिकामा शिक्षाका कर्मचारी नै नहुँदा शिक्षा क्षेत्र नै प्रभावित भएको छ ।’ गाउँपालिकामा अहिले शिक्षाका कर्मचारी नै छैनन् । जसका कारण शिक्षाका लागि छुट्याइएको करिब १३ करोड रुपैयाँ खर्च नै हुन सकेको छैन ।

कर्मचारी नै नआउँदा शिक्षाको बजेट खर्च नै अन्योलमा छ भने विद्यालयका काम पनि प्रभावित भएका छन् ।

गाउँपालिकाले ‘प्लस टु’लाई पनि अनुदानमार्फत निशुल्क बनाउने तयारी थालेको छ भने प्राविधिक शिक्षालय खोल्न जग्गाको खोजि गरिरहेको छ ।

सडकमा पैसा बग्छ, गाडी हिँड्दैन
गाउँपालिकाले जग हाल्ने र लय लिएको बताए पनि दीगो र व्यवस्थित विकास नभएको केही स्थानीयको गुनासो छ । सडकमा बर्सेनि करोडौं रुपैयाँ खर्च हुने तर दीगो नहुनेतर्फ स्थानीयलाई गाउँपालिकालाई सचेत गराएका छन् ।

सडकमा वर्षैपिच्चै ५०÷६० लाख रुपैयाँ लगानी गर्ने तर २ दिनको झरीले बगाउने कामको प्रवृति बन्द गर्न स्थानीय सुजन गुरुङ आग्रह गर्छन् । ‘बरु एक वर्षमा केही सडकलाई मात्रै ध्यान दिऔं । लगानी केन्द्रित गरौं र त्यसलाई सम्पन्न नै गरौं,’ गुरुङले भने, ‘सबै सडकमा चुपुर–चुपुर लगानी गर्ने र अर्को याममा गाडी नचल्ने नबनाऔं ।’

गाउँगाउँमा सडक पुगे पनि बर्खामा नचल्ने स्थानीय मनबहादुर घलेको गुनासो छ । ‘हिँउदमा धुलाम्मे, बर्खामा हिलाम्मे भएर सडकमा हिँडिसक्नु हुँदैन,’ घलेले भने, ‘यस्तो गर्नुभन्दा बरु हामी २÷४ वर्ष खाली खुट्टै हिँडौंला । तर, काम सक्दै जाने गरी लगानी गरौं ।’

टुक्रे योजनाको अन्त्य गरौंः प्रदेश मन्त्री बस्नेत
टुक्रे योजनाप्रति स्थानीयको गुनासो थियो । ससाना योजनामा पैसा छिरर्ने तर दीगो नहुने प्रवृतिको अन्त्य गर्नुपर्ने गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको पनि जोड छ ।

टुक्रे, खुद्रै योजना छोडेर प्राथमिकताका आधार तयार गरेर लगानी केन्द्रित नगरी दीगो विकास हुन नसक्ने गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतको भनाइ छ । ‘हिजो हामीले टुक्रे योजनामा पैसा बाँडियो । अब त्यसरी चल्दैन । पहिलो आवश्यकता के हो हेर्नुपर्‍यो, त्यसपछिका प्राथमिकता वर्गीकरण गर्नुपर्‍यो,’ बस्नेतले भने, ‘दीगो विकासको सोच नल्याउने हो भने अघि बढ्दैनौं ।’

२५ वर्षअघि खनिएका सडक पनि अहिले उस्तै हिलाम्मे, धुलाम्मे हुने गरेको बस्नेतले बताए । अब त्यसबाट मुक्त गराउने जिम्मेवारी र चुनौती जनप्रतिधिमा थपिएको उनको भनाइ छ । ‘प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट कार्यान्वयन गर्दैछ । अब प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक पिच नै हुने गरी काम हुँदैछ । साना–साना होइन हामी सम्पन्न नै हुने गरी बजेट हाल्छौं,’ उनले भने, ‘जनप्रतिनिधि शासक होइन, सेवक हो । जनतासम्म सुविधा पुर्‍याउँछ ।’

घरै बसेर सरकारले केही गरेन भन्ने कुरा छोडेर योजना बनाएर व्यावसायिकतामा लागे अहिले जुनसुकै सरकारले पनि सहयोग गर्ने उनको भनाइ थियो ।

सम्बन्धित खबर