बिहिबार, ०२ साउन २०७६
samadhannews
e planet education.

मलाई माफ गर मेरा विद्यार्थी

बिहिबार, ०५ असार २०७६
51550 पटक पढिएको

किशोरदत्त बराल

मैले तिमीलाई समयमा नै बुझ्न सकिन् वा बुझेर पनि केही गर्न सकिन् ।
मैले तिमी माथि न्याय गर्न सकिन्,
तिमीलाई हाँसो र खुसीले भरिएको सुन्दर भविष्य दिन सकिन् ।
मैले जे गरें केबल मेरो जागिर, मेरो सुरक्षा र भविष्यका निम्तिमात्रै गरे ।
मैले जे गरें, तिम्रो सपना र रहर बेचेर गरें ।
मलाई मेरो जागिर जोगाउनु थियो, बढुवा खानु थियो र पुरस्कार थाप्नु थियो ।
यसका लागि मैले जे गर्नुपथ्र्यो त्यही गरें ।

कहिले तिमीलाई गाली गरेर गरें, कहिले माया गरे जस्तो गरेर गरें ।
जें गरे त्यो सबै मेरै लागि गरें ।
यसका निम्ति मलाई आफैंप्रति धेरै पीडा छ, खेद छ र पश्चाताप छ,
यसैले मलाई माफ गरिदेउ ।
मलाई माफ गर मेरा विद्यार्थी !

तिमी साथीसँग खेल्दै, उफ्रदै र हाँस्दै सिक्न चाहन्थ्यौ,
मैले अनुशासनको नाममा रोकें ।
तिमी प्रकृतिको सुन्दरतामा पखेटा फैलाउँदै जीवनको यात्रा तय गर्न चाहन्थ्यौ,
मैले कक्षा कोठाभित्र ढोका थुनेर रोकें ।
तिमी आफ्नै सिर्जनामा आफ्नो भविष्यको चित्र आफैं कोर्न चाहन्थ्यौ,
मैले तिम्रो सिर्जनाका हात–खुट्टा बाधेर रोकें ।
तिमी रोजगारीको सिर्जना गरेर हाकिम बन्न चाहन्थ्यौ,
मैले तिमीलाई अर्काका लागि काम गर्ने नोकर बनाउन,
समस्यानै समस्या देखाएर रोकें, लोभै लोभ देखाएर रोकें ।
मलाई तिम्रो हासो, खुसी, सिर्जना र स्वाभिमान भन्दा पनि
तिम्रो परीक्षाको अंक चाहिएको थियो ।
तिम्रो जीवनको परीक्षा मेरो चासोको विषय थिएन ।
म त तिमीलाई विद्यालयको परीक्षा उत्तीर्ण गराएर
अरुलाई देखाउन चाहन्थें, स्यावासी लिन चाहन्थें ।

तिम्रो बाबा, आमा, समुदाय र शिक्षा सुधारको ठूलाठूला जिम्मा लिनेहरुलाई,
तिम्रो लब्धांकपत्र देखाएर मेरो कोठामा ठूलो तक्मा झुन्ड्याउन चाहन्थे ।
मलाई तिम्रो जीवन भन्दा पनि मेरो जीवन चाहिएको थियो,
यसका लागि मैले तिमीलाई सिर्जनशील हुनबाट रोक्नुपथ्र्यो,
कहिले परीक्षाको नाममा रोकें, कहिले तिम्रो भविष्यका नाममा रोकें,
कहिले पिटेर रोकें, कहिले फेल गराई दिने त्रास दिएर रोकें,
मैले मेरा लागि जे गर्नुपथ्र्यो, त्यो सबै गरें ।
मलाई माफ गर मेरा विद्यार्थी !

मैले तिमीलाई विद्यालयको परीक्षा उत्तीर्ण गराउन,
धेरै अंक ल्याउन, पैसा र पद कमाउनमात्रै सिकाए ।
मैले तिमीलाई जीवन सिकाउन सकिन् ।
हासो, आनन्द, खुसी, प्रेम र हार्दिकता सिकाउन सकिन् ।
मैले तिमीलाई पैसाका पछाडि दगुर्नमात्र सिकाए ।
पैसा आफैं तिम्रो पछाडि कसरी दगुर्न सक्छ भनेर सिकाउन सकिन ।
मैले तिमीलाई तिम्रै साथीसँग तुलना गरेर
धेरै पटक राम्रो र नराम्रोको कुरा गरी रहे, तिम्रो मन दुखाई रहे ।
यसले केबल तिम्रो साथीप्रति
तिम्रो घृणा, अविश्वास र द्धेशमात्रै बढायो,
प्रेम र सहिष्णुता बढाएन, हार्दिकता बढाएन ।
मैले तिमीलाई नितान्त एक्लो बनाए, स्वार्थी र निराश बनाए ।
यसैले मलाई माफ गर, मेरा प्यारा विद्यार्थी
मलाई माफ गर मेरा विद्यार्थी !

मलाई थाहा छ
तिमी भोलि जहाँ हुने छौ, त्यहाँ रमाउन सक्ने छैनौं,
इतिहास रटौला, इतिहास रच्ने छैनौं,
पैसा कमाउँला तर खुसी, आनन्द र शान्तिले भरिने छैनौं,
ठूलो घर बनाउँला निदाउने छैनौं,
ठूलो पद प्राप्त गरौंला, सम्मानित र आदरणीय हुने छैनाैं,
तिमी जहाँ हुने छौ– माया, प्रेम र सद्भावनाविहीन हुनेछौ ।
नितान्त निरश, खोक्रो र रित्तो हुनै छौ ।
मलाई माफ गर मेरा विद्यार्थी

मेरो जागिरका निम्ति मैले जानेर र बुुझेर पनि
विद्यालय शिक्षाको यो डर लाग्दो अवस्थाप्रति
म निरन्तर साक्षी बनी रहे, चुपचाप हेरिरहे र सही रहे ।
न त मैले विद्रोह गर्न सके न त तिमीलाई विद्रोही बनाउन सके,
केबल आफ्ना लागि बिग्रिएको र भत्किएको चुपचाप हेरि रहे, सही रहें ।
हे भगवान, म बिरामी भएर विस्तारामा परे भने पनि
मलाई यो डरलाग्दो तस्बिर सम्झाएर थप दुखी नबनाइ दिनु होला !
हाम्रो विद्यालय जीवनमा यस्तो पनि शिक्षक थियो भनेर विद्यार्थीले नसम्झिदिनु होला ।
मेरा प्यारा विद्यार्थी मलाईमाफ गर ।
मलाई माफ गर मेरा विद्यार्थी !

सम्बन्धित खबर