शुक्रबार, ०१ कार्तिक २०७६
samadhannews
bindedswori home decore

—सम्पादकीय— विपद् व्यवस्थापन तयारी

सोमबार, ०९ असार २०७६
920 पटक पढिएको


बर्खा लागिसक्यो । झरि पर्न सुरु भयो । बर्खा लाग्नु र झरि पर्नु भनेको खेतीकिसानीका लागि सुखद खबर हो । मूलहरु पलाउन थालेका छन् । सिँचाइको प्रबन्ध नभएका ठाउँमा बर्खे मूलका भरमा किसानले धान रोप्न पाएका छन् । तर सँगसँगै बर्खाले विपद् पनि सँगसँगै लिएर आउने गरेको छ । मादी नदीमा शनिबार राति आएको बाढीले ज्याम्दु भन्ने ठाउँमा बन्दै गरेको पुल बगायो ।

लमजुङ र मनाङ जोड्न म्यार्दीखोलामाथि बनाइएको बेलिब्रिज पनि बाढीले बगाएको छ । बर्खा लाग्नु भनेको पहाडतिर पहिरो आउनु र तराई मधेसतिर बाढी आउनु पनि हो । पहाडको दुख पहिरो र तराईको दुख बाढी भइरहेको छ । अझ तराई मधेसतिर त डुबानको समस्या पनि उत्तिकै छ ।

नेपालमा वार्षिक औसत ५ सय जनाको ज्यान प्राकृतिक विपद्ले लिने गरेको गृह मन्त्रालयकै तथ्यांक छ । त्यसमा पनि पहिरो र बाढीबाट ज्यान गुमाउनेहरु सबैभन्दा बढी हुन्छ । प्रत्येक वर्ष बाढी पहिरो आउनु र नेपालीको ज्यान जानु नियमित आकस्मिकता हुने गरेको छ । सधैं बाढी पहिरो आउँछ, मान्छे बगाउँछ, डुबाउँछ, ज्यान लिन्छ । अनि अर्काे वर्ष पनि त्यस्तै हुन्छ । हामी नेपालीले कमै चेत्छौं र बाढीपहिरोबाट कमै सतर्क हुन्छौं । यसै पनि नेपालीको बानी भाग्यमा विश्वास गर्ने छ ।

मानवीय सचेतनाका कमीका कारण भएका विपद्लाई दैवी प्रकोप ठान्छौं । भगवान पुकार्छाैं । मति सुधार्दैनौं । नेपालमा कानुनै थियो—दैवीप्रकोप उद्धार ऐन । यो २०३९ सालमा बनेको थियो । अहिले नयाँ कानुन आएको छ—विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ । यसले बाढीपहिरोबाहेक डढेलो, आँधी, हुरी, असिना, हिमआँधी, चट्याङ, भूकम्प जस्ता विपद्लाई पनि समेटेको छ ।

धेरैजसो प्राकृतिक विपद मानवीय कमजोरी र कारणबाट हुन थालेका छन् । चट्याङ पर्ने क्रम बढ्नु पनि विश्व उष्णीकरणको प्रभाव भएको विज्ञहरुले बताएका छन् । अतिवृष्टि र अनावृष्टि त झन् भइहाले । हिउँ पग्लने र बेलाकुबेला बाढी आउने कारण पनि जलवायु परिवर्तनको असर भइहाल्यो । प्राकृतिक स्रोतको अत्यधिक दोहनले बाढी पहिरो निम्त्याइरहेको छ । धनी मानिसहरुका घर बनाउन नदी उत्खनन् हुन्छ अनि नदी किनारका गरिबहरुको घरटहरामा विपद् आइलाग्छ ।

केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा प्रमुखहरुको संयोजकत्वमा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन समिति हुन्छ । यस्ता समिति निमित्त नायक हुन् । जिम्मेवारचाहिँ सबै हुनुपर्छ । प्रकृतिको अत्यधिक दोहन रोकिनुपर्छ । बाढी पहिरो आउने सम्भावित ठाउँहरुको पहिचान गरी सतर्कता अपनाइनु पर्छ । बाढी आउने पूर्वसंकेत नदी किनारका बासिन्दाले पाउने स्थायी र भरपर्दाे प्रविधि जोडिनुपर्छ । विपद आइसकेपछि प्रभावितहरुको पुनःस्थापना हुनुपर्छ ।

जब कि नेपालमा वर्षाैं वर्ष पुराना विपदका विस्थापितहरुको पनि सही पुनःस्थापना भएको छैन, त्यो मात्रै २०७२ को भूकम्पको हकमा मात्रै लागु हुँदैन । कुनै पनि विपदका प्रभावितहरुको सही र उचित व्यवस्थापन भएको गतिलो एउटै उदाहरण भेट्न मुस्किल छ ।

सम्बन्धित खबर