शुक्रबार, ०३ साउन २०७६
samadhannews
e planet education.

कता जाँदैछ कम्युनिस्ट आन्दोलन

बिहिबार, २६ असार २०७६
2590 पटक पढिएको

अमृत श्रेष्ठ

अमूर्त र अन्तर्मुखी स्वभावको हुनुहुन्छ, लेखनाथ न्यौपाने । उहाँको १० औं कृति संघर्षको इतिहास पुस्तक गहिरिएर अध्ययन गरें । न्यौपानेको गहिरो अध्ययन र मेहनतले जन्मिएको संघर्षको इतिहास माथि मेरो साँगुरो र सीमित अध्ययनको अनुभवले समीक्षकको योग्यता पार पक्कै गर्दैन । मेरो यो दुस्साहसलाई दाजुले भाइको प्रेम सम्झनु हुनेछ भन्ने ठानेको छु ।

लेखक स्वयं हाल नेकपा र पूर्व माओवादीका केन्द्रीय स्तरको नेता भए पनि नेपालको कम्युनिस्ट आन्दोलनका उतार–चढाव, उन्नति र विसंगतिका बारेमा सत्य ओकल्न कही–कतै नचुक्नुले लेखकीय इमानन्दारिता झल्कन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा जब कम्युनिस्ट पार्टीको आकार ठूलो हुन्छ, तब कि साम्राज्यवादी हस्तक्षेपका कारण कि त आफै सुविधाभोगी र भ्रष्टिकरण भएर नै कम्युनिस्टको पतन भएको प्रष्ट उल्लेख गर्नु भएको छ ।

स्थापनाकाल विसं २००६ देखि २०१९ सम्म नेपाल कम्युनिस्ट पार्टी वैचारिक दृष्टिकोणले अस्पष्ट र दरबार निकट देखिन्छ । २०१७ सालको ‘कु’मा पार्टीभित्र राजाको कदमको समर्थनमा चर्को आवाज र विरोधमा मसिनो आवाज हुनु, त्यस्तै २०३६ सालको जनमत संग्रहमा कतिपय कम्युनिस्ट घटकले सुधारिएको पञ्चायतलाई समर्थन गर्नु र कतिपयले बहिष्कार गरी पञ्चायतलाई नै अघोषित सहयोग पुर्‍याउनुले कम्युनिस्ट आन्दोलनको गर्भाधान दरबारभित्रै भएको धेरै हदसम्म पुष्टि गर्छ ।

कहिले राजा परस्त त कहिले रुस परस्त हुँदा दर्जनौं पटक नेपालका कम्युनिस्ट पार्टी विभाजन भएको कुरा लेखकले ईमान्दारीपूर्वक स्वीकार गर्नुभएको छ । लेखकले पुस्तकमा माओवादी युद्धलाई विषेश महत्व दिँदै करिब १ तिहाई (१०५ पृष्ठ) नेपाली जनयुद्ध शीर्षकलाई स्थान दिनुभएको छ ।

राज्यद्वारा गरिएका सामूहिक हत्या अन्तर्गत कतिपय स्थानमा आफ्नो समूहको सुरक्षार्थ सेन्ट्रिसहित सेल्टर लिएका मानिस निशस्त्र थिए भनिएको छ जुन कुरा अलि अपुष्ट झंै लाग्छ । सुप्रिम कमान्डर प्रचण्डले एकमात्र प्लानिङ र अन्तिम कोच गरेको भनिएको रुकुमको खारा आक्रमण (दोस्रो) पुरै एकरात र आधा दिन भिडन्त भएको र ठूलो क्षतिसहित जनमुक्ति सेना पछि हट्न बाध्य भएको भनिएको छ (हे.पृ.नं. १७४) तर सबै ठाउँमा फौजी आक्रमणको मानवीय र भौतिक क्षति उल्लेख गरिए पनि यसको विवरण उल्लेख नहुनु रहस्यमय लाग्छ ।

चन्दा नदिएको नाममा झुन्डाएर गोली हानी मारिएका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी, जिउँदै जलाइएकी बालिका काजोल खातुङ, कास्कीका शिक्षाविद् गणेशमान पालिखे, कास्की सल्यानका कृष्णबहादुर गुरुङ, माछापुच्छ्रेका टेकबहादुर गुरुङ तथा समाजसेवी ईश्वरबहादुर गुरुङ (घान्द्रुक), रतनसिं गुरुङ (मिजुरे) लगायत सयौं मानिसको हत्या इदि अमिनको बर्बरतालाई बिर्साउने खालका थिए । यस बारेमा पुस्तक मौन देखिन्छ ।

गणतन्त्र पश्चात माओवादी नेता दलाल पुँजीपति वर्गको हितमा मात्रै क्रियाशील हुनु र आफैले भन्ने गरेको संशोधनवादी गुट (एमाले) मा बिना तयारी र बिना छलफल माओवादीलाई विसर्जन गराउनुले १० वर्षे जनयुद्धलाई औचित्यहीन पुष्टि गर्छ, जुन कुरा पुस्तकले अव्यक्त ढंगले व्यक्त गरेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलन विशेष गरी माओवादी आन्दोलनको २ वटा मोड महत्वपूर्ण देखिन्छ, (चौम र चुनमाङ बैठक) । चौमले जनयुद्ध, सत्ताकब्जा र सर्वहारा वर्गको अधिनायकत्वमा राज्यसत्ता सञ्चालन गरी साम्यवादी व्यवस्था लागु गर्ने रणनीति उन्मुख गरायो, चुनमाङ बैठकले चौमको ठ्याक्कै विपरित बहुदलीय लोकतान्त्रिक पद्धति, आवधिक निर्वाचन, जनमतको आधारमा राज्यसत्ता सञ्चालनलाई आत्मसाथ गर्‍यो । लेखकले यस पुस्तकमा चौमपछिको राजनीतिक चेत सहि थियो वा चुनमाङ बैठकको निर्णय सहि थियो भन्ने कतै उल्लेख गर्नु भएको छैन ।

पुस्तक अध्ययनको क्रममा मेरो सबभन्दा मन कुडिएको विषय सगरमाथाको विवाद उपशीर्षकमा लेख्नु भएको छ, ‘चीनका प्रधानमन्त्री चाउ एन लाईले गरेको नेपाल भ्रमणको क्रममा विसं २०१७ वैशाख १६ गते राति सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा सगरमाथा नेपालको हो भनेपछि यो समस्याको एकाएक हल भयो ।’ (हे.पृ.नं. २६१÷२६२) । इतिहास साक्षी छ, दाजु चीनका प्रधानमन्त्री चाउ एन लाई नेपाल आउनुभन्दा पहिला नेपालको प्रधानमन्त्री बिपी कोइरालाले चीन भ्रमण गर्नुभएको थियो ।

उक्त भ्रमणमा सगरमाथाको विवाद बिपीले चीनमै टुंगो लगाउनु भएको थियो । बिपीको उच्च कूटनीतिक क्षमताको कारण चीनले सगरमाथा माथिको आफ्नो दावा छाडेको थियो तर तपाईले पुस्तकमा सगरमाथा चीनकै थियो, नेपाललाई टीका लगाएर दिएझै उल्लेख गर्दा मन खिन्न भएको थियो ।

विद्यार्थी आन्दोलन अन्तर्गत मण्डलेहरु हावि भएको विद्यार्थी फेडेरेसनलाई क्रान्तिकारी देख्ने तर जेलमा झन्डा बनाएर जंगलमा अधिवेशन गरी जन्मिएको नेपाल विद्यार्थी संघलाई प्रगतिशील विचार विरोधी देख्नु दृष्टिदोष ठहरिन्छ कि भन्ने लाग्छ । भौतिकवाद र अध्यात्मवादको परिभाषा अपूर्ण छ । भौतिकवाद ‘पदार्थ’ र अध्यात्मवाद ‘चेतना’ मात्र होइन । भौतिकवादले जीवनलाई अन्तिम सत्य ठान्छ, सब कुरा जीवन रहँदै भोग गर्नुलाई सार्थकता मान्छ, स्वर्ग र नर्कमा विश्वास गर्दैन ।

अध्यात्मवादले जीवन पछि पनि अर्को जगत हुन्छ, त्यो बल्ल अन्तिम सत्य हो भन्छ । स्वर्ग र नर्कमा विश्वास गर्छ । प्रायः राजनीतिकर्मी भौतिकवादी नै हुन्छन् । बिपी कोइराला, माक्र्स, लेनिन, माओ सबै भौतिकवादी नै थिए । तर नेपालका अधिकांश नेता अधर्मी भौतिकवादी हुन ।

अन्त्यमा, बिपीको समाजवाद भनेको राजनीतिक स्वतन्त्रतासहितको आर्थिक समानता हो । माक्र्सको समाजवाद भनेको के हो ? राजनीतिक स्वतन्त्रता बेगरको समाजवाद कस्तो हुन्छ ? गोलमोटल बुझे मरिजाम दाजु, वर्गविहीन समाज निर्माण नै समाजवाद हो र यसो हो भने मानव निर्मित (तल्लो जात–उपल्लो जात, धनी–गरिब, गोरा–काला, शासक–शासित आदि) वर्गको अन्त्य सम्भव छ तर प्राकृतिक रुपमै विभाजित (सपांग–अपांग, महिला–पुरुष, भुूोलका आधारमा विभाजित आदि) वर्ग अन्त्यको सम्भावना सृष्टी रहँदासम्म सम्भव हुँदैन, केबल वर्गीय भेदभाव मात्र अन्त्य गर्न सक्छौ । तसर्थ माक्र्सको समाजवाद काल्पनिक समाजवाद हो भन्न सकिन्छ कि सकिँदैन ?

सन् १९८० मे १७ बाट सुरु भएको पेरुको जनयुद्धलाई माओवादीले विसं २०५२ फागुन १ गतेबाट नेपालमा जनयुद्धकै नाममा कपी पेस्ट गरेको देखिन्छ । पेरुमा गोन्जालोको साइनिङ पाथले जेजे गर्‍यो ठ्याक्कै त्यही अनुसरण माओवादीले प्रचण्डपथको नाममा गरेको देखियो । जसरी सन् १९९२ सेप्टेम्बर १२ मा गोन्जालो गिरफ्तार भएसँगै पेरुको जनयुद्ध लागुऔषध तस्करको दलदलमा फसेर आफै समाप्त भयो, त्यसैगरी माओवादी जनयुद्ध पनि विसं २०६३ मंसिर ५ गतेको शान्ति सम्झौतापछि धनयुद्धमा भ्रष्टिकरण र बदनाम हुँदै अन्ततः संशोधनवादी गुटमा विलय भएको इतिहास बन्यो । दुवै घटना विश्व कम्युनिस्ट आन्दोलन र तपाईहरु जस्तो सच्चा क्रान्तिकारीका लागि पीडादायी छ ।

समग्रमा पुस्तक ‘संघर्षको इतिहास’ जति राजनीतिसँग नजिक पुस्ताका लागि उपयोगी र पढ्नैपर्ने छ त्यतिनै राजनीतिभन्दा अलग रहेका नयाँ पुस्ताका लागि पनि उपयोगी सिद्ध छ । राजनीति, इतिहास, दर्शन र अर्थशास्त्रको बारेमा प्रचुर ज्ञान भेट्न सकिन्छ ।

आलोचनात्मक चेतको विकासमा पुस्तकको महत्वपूर्ण योगदान हुन सक्छ । साढे ४ वर्ष जेल जीवन बिताउनु भएका र सिंगो १ दशक हिंसात्मक विद्रोहको अग्रमोर्चा सम्हालेका लेखक न्यौपानेले आफ्नो योगदान र अनुभव बारेमा कहीकतै उल्लेख नगर्दा पुस्तकको शीर्षक र पाठकलाई अन्यायको अनुभूति हुन्छ ।

सम्बन्धित खबर