शुक्रबार, ०६ भदौ २०७६
samadhannews
तरकारीमा आत्मनिर्भर कहिले ?

तरकारीमा आत्मनिर्भर कहिले ?

बुधबार, ०१ साउन २०७६
710 पटक पढिएको

गण्डकी प्रदेश सरकारले ५ वर्षभित्र प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । फलस्वरुप कृषकलाई अनुदान पनि दिएको छ । उसको भनाइमा कृषिमा यान्त्रिकीकरण र व्यावसायीकरण गरेर आत्मनिर्भर हुन सकिन्छ । तर अनुदान बाँड्नेबाहेक उपलब्धिमूलक काम प्रदेश सरकारले गरेको संकेत जनताले पाएका छैनन् । यही गतिअनुसार अगाडि बढ्ने हो भने प्रदेश सरकारले लक्ष्य भेट्न मुस्किल हुने पक्कापक्की छ ।

एउटा तथ्यांक हेरौं, पोखरामा दैनिक २ सय ८० टन तरकारी भित्रन्छ । त्यसमध्ये ७० प्रतिशत तरकारी कास्कीबाहिरबाट आउँछ । यो अति नै परनिर्भरताको अवस्था हो । कास्कीमै थुप्रै खेतखलियानहरु बाँझै छन् । प्रदेशकै अरु जिल्लाको उत्पादनले पनि पोखराको मागलाई थेग्न नसकेको कृषिका अधिकारीहरु बताउँछन् । धादिङबाट तरकारी आउँछ पोखरा, काभ्रेबाट आउँछ । चितवनबाट आउँछ । मलंगवाबाट गोलभेंडा आउँछ । देशैभित्रबाट आएको त एकहदसम्म ठिकै होला । त्यतिलेमात्रै नपुगेर पोखराको माग धान्न भारतबाट समेत तरकारी आयात गर्नुपरिरहेको शान्तिवनस्थित तरकारी बजारको तथ्यांकले देखाउँछ । हालाकि भारतीय तरकारीको हिस्सा १० प्रतिशत छ । सबैभन्दा पहिला त्यही १० प्रतिशत आयातको अन्त्य गरी आत्मनिर्भरताको बाटो समात्नुपर्छ ।

कुराले चिउरा भिज्दैन । प्रदेश सरकार वा स्थानीय या संघीय सबैले कृषिमा आत्मनिर्भरताको कुरा त गरिरहेका छन् । तर कामको गति हेर्दा कृषिमा क्रान्ति होला भन्ने छेकछन्दसमेत नदेखिनु दुखद हो । आलु र प्याज जति सबैजसो भारतबाट आइरहेको छ पोखरामा । लसुन चीनबाट आउँछ । के कास्कीका गराहरुमा आलु फल्दैन ? प्याज उम्रदैन ? लसुन सप्रिदैन ? फल्छ । उम्रिन्छ र सप्रिन्छ पनि । बजार रहेछ र छ भन्ने यिनै तथ्यांकहरुले पनि देखाइरहेका छन् । तर हाम्रो युवापुस्ता कृषिमा किन आकर्षित छैन । सबैभन्दा पहिलो यसको जड पत्ता लगाएर नीति ल्याउनु श्रेयस्कर हुनेछ ।

गाई पाल्न थालेका किसानले गाई बेचेर कतार गएको उदाहरण खोज्न कास्कीका गाउँ चहारे पुग्छ । भैंसी पालेर दूध बेच्छु भन्नेहरु बजार मूल्य सुन्दै मूच्र्छित हुन्छन्, डेरीहरुले उनीहरुको लागत पनि नउठ्ने मूल्य दिन्छन् । कास्कीकै थुप्रै गाउँका किसानले बेचेको दूधको पैसा नपाएको उदाहरण कयौं छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने, बिक्रीको ग्यारेन्टी सरकारले नै गरिदिने हो भनेमात्रै कृषिमा उन्नति प्रगति हुने देखिन्छ । नेपालको बबुरो किसानसँग बजारीकरणको जुक्ति पनि त छैन । आखिर प्रतिस्पर्धी खुला बजारमा वस्तु तथा सेवाको बिक्री कसरी गर्नुपर्छ भन्ने ज्ञान पनि त किसानमा हुँदैन, जो वर्षाैंदेखि निर्वाहमुखी खेतीकिसानी गर्दै आए र अक्षरहरुसँग पनि साक्षात्कार हुन पाएनन् ।

सम्बन्धित खबर