आइतबार, २९ मङि्सर २०७६
samadhannews
आस्था

आस्था

मङ्गलबार, २१ साउन २०७६
3160 पटक पढिएको

मिवाट मगर

फनपार्क हाम्रो भेटघाटको पहिलो स्थल । जहाँ उनलाई देखेको थिएँ । सुन्दर थिई । शालीन थिई । राई पोसाकमा सजिएकी । मैले भन्न भुलेछु उनी राई थरकी । अर्थात उनको पूरा नाम आस्था राई । कुनै जातीय मुक्तिवादी संगठनले कार्यक्रम आयोजना गरेको हुनुपर्छ, सायद राई जातिको साकेला । रङरसमा मोह नभएको मान्छे । तैपनि अलिअलि संगीतमा झुमेझैं गरें । साथीसंगीको आग्रह टालटुल पार्न नसकेर ।

यहीबीच झुल्किएकी थिई आस्था । हामीमध्येकै एक परिचित साथीले मलाई उनीसँग परिचय लेनदेन गराइदिएकी थिइन् । अलिअलि बोलचाल गरे । उनी मेरो कुरा सुनेकी सुन्यै भइन्, एउटा मौन दर्शकको रुपमा । खै कति चाँडो एक घण्टा बितेछ ? के कुरा बाँडेको थिए कुन्नि ? आजको मितिमा मैले सम्झन सकिनँ ।

केही दिन बिते । या भनौं जिन्दगी घिसारिरहे । भोलिको मीठो आशमा । तनाव, कुण्ठाबीच । मुहार भित्तोमा मान्छेको रंगीन चित्र नियाल्छु । झन् विराक्त भएर आउँछ । यतिकैमा न्यु स्टोरिस भनेर ल्यापटपको स्क्रिनमा देखा पर्‍यो । किल्क पारें, त्यही सब मेनुमा । आस्थासँग मेरो परिचय गराइदिने साथीले आस्था राईलाई ट्याग गरेर अस्तिको साकेलाका फोटा पोस्ट गरेकी रहिछन् । ट्रस्ट राई रहेछ, उनको अनुहार भित्तोको परिचय । तिनका फोटाले रंगिएका थिए अनुहार भित्ताका वाल । एक लाइक ठोक्न कन्जुस्याँई गर्न मन लागेन । ठोकी हालें र कमेन्ट बक्समा लेखिदिएँ, फेबलस पिक !

अनुहार भित्तो हाम्रो सम्बन्धको सेतु । उनैले मलाई मित्र बन्ने अनुरोध पठाएकी रहिछिन् । बिर्सेसकेको रैछु । अस्तिको ट्रस्ट राईको परिचय । खोलखाल पारें उनको प्रोफाइल । ओरिजनलमा भन्दा अति सुन्दर तस्बिरले पोतिएकी प्रोफाइलमा । त्यो पनि कुकुरे मुख बनाएर । एसेप्ट गरें उनको मित्र बन्ने अनुरोध ।

समाचारतिर आँखा डुलाएँ । मन विराक्त भएसी खासै केही कुराको जाँगर नचल्ने । ल्यापटमा म्यासेज आएको संकेत देखिइहाल्यो । हेरेको त्यही ट्रस्ट राईको रहेछ । लेखिकी थिइन्ः थ्याक्स् फर एसेप्टिङ माई रिक्वस्ट । प्रतिउत्तरमा लेखिदिए, इट्स् अल राइट ।
वाट् आर यु डुइङ ?
नथिङ् ! जस्ट रिडिङ फ्रेन्ड्स् स्टाटस् ।
एन्ड यु ?
लुकिङ योर प्रोफाइल ।
त्यसपछि के जवाफ फर्काउने मेलोमेसो पाइनँ । सायद ऊ नै पहिलो थिई जसले मेरो प्रोफाइल खतालखुतुल पारेर मलाई बताएकी थिई । सोध्न मन थियो, लाज लाग्दैन अर्काको प्रोफाइल खोतल्न भनेर । किबोर्डमा औंला चलेनन् । के फरक पथ्र्याे र अरुलाई देखाउन राखेको कुरा कसैले पढिदिँदा ।
‘यु नो, आइ डन्ट अन्डस्टुड मच अफ युअर स्टाटस !’ उनले टेक्स्ट गरिन् ।
‘यु नो वान स्टोन अन्ली क्यान अन्डरस्ट्यान्ड एनोडर स्टोन्स् पेन ……..पत्थरले पो पत्थरको पीडा बुझ्छ !’ लेख्न मन लाथ्यो, तर बेकार उनलाई मानसिक बोझ किन थपिदिँऊझैं लाग्यो । लेखिदिएँः कतिपय कुरा नबुझेरै बाँचेको राम्रो ।
कम्तीमा त्यसको बारेमा सोचेर प्रेसर त हुँदैन ।

‘हाउ फन्नी !’ उनको प्रतिउत्तर थियो ।
उनलाई थाहा थिएन हरेक परिस्थितिमा इमोस्नल ब्याल्यक्मेल नामको घनले ठोकेको मेरो मन पत्थर बनिसकेको छ । तिनको हाउ फन्नी उत्तरले मेरो मनमा कुनै भावनात्मक कम्पन उत्पन्न गरेन ।
‘बट देआर इज स्ट्रङ फिलिङस् इन योअर टेक्स्ट्,’ उसैले लेखी ।
दिस इज युनिर्भसल फ्याक्ट ।

अफलाइन भइदिइन् तिनी । सुत्ने मेलोमेसो कसें । निदाउने जाँगर छैन । दक्षिणकाली हाम्रो पहिलो डेट । अस्ति तय भएको । उसैको रोजाइमा, उसैको अनुरोधमा । संसार मन्दिरको पत्थर पुज्छन् तर म ईश्वर पुज्छु । ती ईश्वर कहाँ छन् मलाई थाहा भएन । त्यसैले ईश्वरप्रति खासै चासो भएन । मन्दिरतिर जीवनमा कहिल्यै पाइला मोडिनँ । फगत समयको बर्बादी । तर अचम्म आज उनको अनुरोधमा म मन्दिर जान तयार थिएँ । बैजनी रङको लेहेंगामा खुलेकी थिइन् त्यो दिन आस्था । अलि लाज लागेको थियो मलाई ।

ऊ बोलेको बोल्यै गरेकी थिइन् । लाग्थ्यो संसारमा उनैले बोल्ने ठेक्का लिएकी छिन् । अस्ति मैले सुनाएँ, आज उनको सुनाउने पालो थियो । अविराम सुनिरहें उनको आवाज । पत्थरको देवाताले झैं । डेट भन्ने कि घुमफिर ? उजाडिएको मन बहलाउने निहँु चाहिएको थियो । बस उनको अनुरोधलाई स्वीकारी दिएँ ।

नियमित फोन संवाद चल्न थाल्यो । ऊ आफ्नो हरेक कुरा सुनाउँथी । सानाभन्दा साना कुरा । लाग्थ्यो म उसको कुरा सुन्ने मुकमेसिन हँु । उनको आवाज नसुने नि दिनै खल्लो लाग्न थाल्यो । सायद कोही त थियो जसले मसँग कुरा गरिरहन्छ । म मनमा खेलेका मुस्किलले १० प्रतिशत जति सुनाउँथे होला उनलाई ।

जिउँदा मुर्दाहरुको संसारमा रमाउनेहरुलाई सोध, जीवन के हो ?
स्टाटस लेखिहालें । आस्था नि थिइन् अनलाइन ।
सोधिन् मलाई, ‘तिम्रो स्टाटस बुझिन नि ।’ बुझेरै पागल हुनु हँुदैन ।
लेखिदिएँः त्यही भएर साइनटिस्ट नभाको ।
किन भनी प्रतिप्रश्न गरें ।
पागल नहुनलाई उनैले लेखिन् । देखिएको थियो म्यासेज बक्समा । पर्खिबसें ।
तिमीलाई जीवन के हो जस्तो लाग्छ ?
खै संघर्षभन्दा अर्काे कुरा केही जानिनँ ।
ह्वाइ ?
नसुनेको नै राम्रो । लेखिदिएँ ।
थाहा छ तिमीलाई अतीतबाट भाग्नेहरुको खुसी वर्तमानका क्षणिकमात्र हुन् ।
यस्तो कुरा आस्थाले गर्लिन् भन्ने कुरा त सोचेकै थिइनँ । तर नमिठो अतीत सुनाएर म मेरो बोझ अरुमाथि किन थपिदिऊँ झैं लाग्छ भनेर जवाफ फर्काएँ ।
हामीलाई त्यति टाढाको साचेको तिमीले ?
अल आर इक्वाल फर मी ।
के भनौं र ? खुसी बाँडे बढ्छ, दुःख बाँडे घट्छ । यु नो ?
कुनै दिन सुनौंला नि मेरो कथा ।
तिमीसँग नसकिने भो ।
के ?
कुरा गर्न ।
हा हा हा हा हा हा ……………….. म नेता त परिनँ, हजुर खुराफाती गर्न…।
नेता होइन, नेताको दाइ प¥यौ तिमी, उनले जवाफ लेखिन् । यतिकैमा फोनको रीङ बज्न थाल्यो । आस्थाको फोन थियो रिसिभ गर्न मन लागेको थिएन । म्यासेज बक्समा म्यासेज थियो प्लिज रेस्पोस्न द फोन । उठाएँ उनको फोन ।
हेलो
हजुर
खान भयो ?
छैन ।
किन नि यति रातिसम्म ?
आज व्रत बसेको ।
के को व्रत ?
अल्छी पूरा गर्नलाई ।
स्वास्थ्यका लागि राम्रो हुन्छ ।
कम थिइनन् उनी बोल्न । भन्दै थिइन्, ‘मलाई भन्नु पर्दैन ?’
होस सम्हाल्नेदेखि आजसम्म सहयोगका लागि कसैलाई भनेको छैन ?
किन नि ?
मौका नमिलेर ।
वाट डु यु मिन बाइ मौका नमिलेर ?
पछि कुरा गरौंला भेटमा । म नेपाल टेलिकमलाई तिम्रो पैसाले धनी बनाउन चाहन्नँ ।
नभन्ने ?
भन्छु ।
कहिले ?
टेक्स्ट गरौंला नि ।
ओके ।
म्यासेज बक्समा लेख्न सुरु गरें ।
मेरा बाउ नेपाल पुलिस । २०५३ मा म्याग्दीमा छापामार युद्धमा मारिनु भएको रे । आमाले सुनाएको । आमा र मपछि काठमाडौमा बस्थ्याैँ । एक दिन आमाले मलाई एक जना साहुको घरमा छोड्दिनुभयो । त्यो दिन आमा आँखाभरि आँसु लिँदै हुनुहुन्थ्यो । म त्यही बसेर भाँडा माझ्न थालें । साहु सही थिए, स्कुल लगेर भर्ना गरिदिए । त्यसपछि पढ्न थालें भाँडा माझ्दै । नतिजा, आज तिमीसँग च्याटमा कुरा गर्न सक्ने भएको छु । भाँडा माझेका हातले कलम समाई पेट पालेको छु ।
सो स्याड ! सुन्नेलाई पीडा हुन्छ, भोग्नेलाई थाहा हुन्छ । एन्ड योर मम ?
मलाई थाहा छैन ।
जान्न मन लाग्दैन ?
म्यासेज टाइप गर्दै थिएँ, फेरि फोनको रिङ बज्न थाल्यो । आस्थाको थियो फोन । रिसिभ गरिदिएँ । रुँदै बोलिन् आस्था ।
म पो रुनुपर्ने, उनी रुँदै थिइन् ।
तिमी किन रोएको ?
त्यत्तिकै ….। सुँक सँुक गर्न छोडेकी थिइनन् आस्थाले । नारी मन न हो ।
आइ लभ यु …।
के जवाफ दिऊँ बडो फसादमा परें । सिधै रिजेक्ट गरिदिए उसको मन झन कुँडिएला भन्ने डर । एसेप्ट गरौं, बोली पासो ।
उनी रोइरोई हाँसी रहेकीछिन् भन्ने कुरा उनको आवाजबाट पत्ता पाइन्थ्यो ।
‘पागल,’ उनैको जवाफ आइहाल्यो ।
मन नलागी नलागी हाँसिदिएँ, अलि जोर गरेर । अलि शान्त भई आस्था । त्यसपछिका दिनमा नियमित फोन संवाद हुन थाल्यो । म भन्थे उनलाई, ‘तिमी मलाई माया गरेर के पाउँछ्यौ ?’
माया पाउनलाई गरिन्छ र ?

मेरो वास्तविकता उनलाई थाहा थियो । म भूइँ मान्छे, उनी कंक्रिटको घना जंगलमा फुलेको एउटा सुन्दर हिमाल । संघर्षको खाेंचखोंचमा पसिना रसाउँदै यहाँसम्म आइपुगेको मान्छे । फरक यही थियो । उनी स्वस्थ रहनलाई हिँड्नु पथ्र्याे, म बाँच्नलाई हिँड्नुपर्ने । घरीघरी सोच्थें कहाँबाट मिल्छ र हाम्रो प्रेमको क्यामिस्ट्री ? नजानिँदो पाराले उनको समीप हुन पुगेछु । आखिर उमेर न हो । कोही त चाहिन्छ साथी, जसलाई आफ्ना मनमा कम्पित भावना बाँड्न मिलोस् ।

प्रेमिल शब्दभन्दा पनि मनका बह केही हदसम्म उनीसमक्ष भेटी स्वरुप चढाएँ । उनी सुनिदिन्थिन् मेरा कुरा । लाग्थ्यो, लामो समय पिप जमेर बसेको पिलोबाट पीप बगिरहेको छ । पापरिएको मनबाट पोखिएको । यहीबीच अन्कुराउँदो रहेछ सामीप्यता र ढाइ अखरको प्रेम !

फेरी लामो समयपछि आस्थाले डेटका लागि अनुरोध गरिन् । खासमा म जान चाहन्नथे । सम्बन्ध जोडिन सजिलो हुन्छ तर जब सम्बन्धमा दोबाटो आउँछ । त्यहाँ निकै नमीठो अतीत बन्दोरछ । जिन्दगीका हरेक घुम्तीमा बल्झिने घाउको खत बस्छ । सायद मसँग अब त्यति धेरै सम्बन्धको नमीठो अतीत बोक्ने हिम्मत नै छैन । भनौं, मनमा अब खत अट्ने ठाउँ पनि छैन । जुन बेला बेला पापरिन्छ अनि निकै नमीठोसँग दुख्छ । पहिला बुवा अनि आमा, जो कहिल्ये नर्फकने बाटो जानु भएको थियो । सीधै भन्नु पर्दा आस्थालाई म गुमाउन चाहन्नथें । नगुमाउनुका लागि म एउटै शुत्र प्रयोग गर्थे, कसैलाई आफ्नो नबनाउनू । तर खै किन, थाहा छैन आज भोलि उनका लागि नतमस्तक हुन्छु । उनको आवाज मेरो कानमा स्पर्श हुन पाएन भने संसार शून्य लाग्छ । एक्लोपन हुनुपर्छ अर्काे सेतु उनीसँग नजिक बनाउनलाई सायद ।

भनें नि पत्थर नपुज्ने म । उनैको करमा लाइन बसें । उनी अघि थिइन् मपछि ।
उनले सोधिन्, ‘के माग्यौ ?’
तिमी ।
पागल मागेको कुरा पनि भन्छन् ।
सायद यही पागल शब्दले निकै कम्पित ग¥यो मन ।
सुनायो भने त पूरा हुँदैन थाहा छैन ?
ईश्वरसँग नसुनेको कुरा पनि के नै पो पूरा भाको छ र ? अनि सोध्ने पागल कि भन्ने पागल ?
प्रतिउत्तरमा मुसुक्क हासिन् मात्र । एकाएक मेरो जीवनमा हरियाली छायो । उजाड जीवनमा आस्था थिइन्, जो पानीको बुँद बनेर बर्सिएकी, मेरो श्यामश्वेत जीवनमा मायामोहको रङ पोतेकी । परिस्थितिले ओइलाएको म, फुल्न थालेको थिएँ । अनि जीवनमाझ आशाका भमरा डुल्न थालेका थिए ।

एक दिन आस्थाले उसैको घरमा निम्तो गरिन् । मायाको अगाडि हार्न पनि जान्नु पर्दाेरहेछ । डेट फिक्स भो । गएँ उनको घर । अलिसान रहेछ । मेरो बाइकको आवाज सुनेर उनको घरको कुकुर नमीठो गरी रिसायो । आस्था आइन् गेटमा मुस्कानसहित स्वागत गर्न । प्रतिउत्तरमा एउटा आँखा झिमिक्क पारिदिएँ । गलामा खाल्टा पर्ने गरी मुस्कुराइन् उनी ।

उनकी दिदी आएकी रहिछन् बेलायतबाट । मलाई परिचय गराइन् आस्थाले । अलि लाज भो हुनेवाला सासु दिदीसँग बोल्न । त्यसै त नखुल्ने मान्छे म, झन् उसको दिदीको अघि त साँपअघि अरुण भएजस्तो पो भो । सायद दिदीसँग भेट्टाउन निम्तो गरेको हुनुपर्छ आस्थाले । अन्तर्वार्ताकारले झैं प्रश्न गर्न थालिन् दिदीले । केही कूटनीतिक जवाफ दिन बल गरें । तर खै किन मेरो क्षमता मास प्रिजेन्टेस भएर पनि म उसको दिदी अगाडि लल्याकलुलुक् भएँ । आफ्नै क्षमतामाथि अविश्वास पैदा भो ।

आस्था बीचमा बसेर सुनिरहेकी थिइन् हाम्रो संवाद । घरी मतिर, घरी दिदीतिर हेर्दै । केही रिर्पोट बनाउनुछ भनेर बाहना बनाएँ । खासमा त्यहाँबाट भाग्ने चाहना थियो । धन्न बीचमा अफिसबाट फिल्ड सुपर भाइजरले फोन ग¥यो र । नत्र त कहाँ फुत्किन पाउनू । आस्थाले खाजाका लागि अनुरोध गरिन् तर बोल्न त लाज लागेको अवस्थामा झन् खाने पो कसरी ? हिम्मत गरेरै भनिदिएँ, ‘अर्काे पटक आउने बाटो नि राख्नु पर्‍यो नि आस्था ।’

बाइक स्टार्ट नगर्दै आस्था आइपुगिन् गेट खोल्नलाई । नमीठो गरी हेरी मलाई । थाहा छैन किन त्यसरी हेरी ? त्यसपछि केही दिन नियमित फोन संवाद चल्यो । रंगहीन होली जस्तै सुनिन्थ्यो उनको आवाज । पहिले उनी कल या मिसकल गर्थिन् तर आजभोलि समय फेरिएछ । मैले कल गर्नुपथ्र्यो । तर उनको आवाजमा कुनै चमाक सुनिएन । परिर्वतनको आभास पाईहालें म जस्तो लठ्ठुले पनि ।

उनको आवाज मेरो लागि नशा भएछ । म अम्मलमा फसेछुँ । नसुनी बस्नै नसकिने । तर विस्तारै उनको आवाज मेरो कानमा पातलिन थालेको थियो । उनको माया घट्दै गएको थियो । मेरो माया बढ्दै गयो । किन उनलाई भन्दा बढी मलाइ दुखिरहेको थियो । थाहा भएन । आखिर जानेको थिएँ मैले पो उनलाई माया गर्दाे रहेछु । त्यसपछि फोन उठ्न छाड्यो । उनको आवाज सुन्न दुव्यर्सनी जसरी छट्पटाउन थाले । अहँ ! उनको फोन उठेन । भारीभारी उनलाई टेक्स्ट गरें, त कुनै रेस्पोन्स भएन ।

आस्थाले मन फेरिन् । फगत म पागल । प्रेमप्रति आस्था राखिरहें । भगवानप्रति आस्था राखिरहें । थाहा थियो यी सब बकवास हुन् भनेर । आस्था थिई जीवन जिउनलाई आस्था जगाई । भगवानप्रति आस्था जगाई तर आफै गद्यर बनेर गइन् । तर खै अझै पनि उनी मेरै हुन भनेर सोचिरहन्छु । बस मलाई यति थाहा छ । यसको कारण मसँग छैन ।

सम्बन्धित खबर