आइतबार, २९ मङि्सर २०७६
samadhannews
आमाबुबाको सक्षमताः स्तनपानको सफलता

आमाबुबाको सक्षमताः स्तनपानको सफलता

बुधबार, २२ साउन २०७६
1790 पटक पढिएको

कविता पौडेल

बालबालिकाको उचित वृद्घि र विकासका लागि पोषणको आवश्यकता पर्छ । जसमा आमाको दूधलाई सर्वोकृष्ट मानिन्छ । स्तनपानले आमा र बच्चा दुवैलाई स्वस्थ राख्न मद्दत गर्छ । आमाको विगौती दूध बच्चाको पहिलो खुराक हो । आमाले आफ्नो बच्चालाई जन्मेको १ घन्टाभित्र स्तनपान सुरु गराई कम्तीमा ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु पर्छ र ६ महिनापश्चात कम्तीमा २ वर्षसम्म थप पोषिलो खानाको साथै आमाको दूध पनि खुवाउनु पर्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्यसर्वेक्षण, २०१६ अनुसार नेपालमा बच्चा जन्मेको १ घन्टाभित्र दूध खाने बच्चाको संख्या जम्मा ५५ प्रतिशत देखाएको छ । जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खाने ६६ प्रतिशत छ । ग्रामीण भेगका महिलाभन्दा सहरी भेगका महिलाले कम स्तनपान गराउने तथ्यांकले देखाउछ । नेपालमा बोतलको प्रयोग गरी आमाको दूध बाहेक गाई–भैंसीको दूध, कृतिम दूध (ल्याक्टोजेन) खुवाउने विगतका वर्षको तुलनामा अत्यधिक बढेको छ । ५ वर्षमुनिका बालबालिकामा करिब ३६ प्रतिशत पुडुका रहेका र १० प्रतिशत बालबालिका ख्याउटे रहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ ले देखाउछ । त्यसैकारण बालबालिकाको पोषण स्थितिलाई सुुधार गर्न सन् २०३० को दीगो विकास लक्ष्यलाई सफल बनाउन सबै अभिभावक, परिवारका सदस्य, समाज र राष्ट्रकै सहयोग अपरिहार्य देखिन्छ । यसका लागि स्तनपान नै सबैभन्दा महत्वपूर्ण उपाय हो ।

विश्व स्तनपान सप्ताह
सन् १९९२ देखि हरेक वर्ष छुट्टाछुट्टै नाराका साथ विश्व स्तनपान सप्ताह, अगस्ट १ देखि ७ गतेसम्म विश्वव्यापी रुपमा विभिन्न जनचेनामुलक कार्यक्रम गरी मनाइन्छ । विश्व स्वास्थ्य संगठन, युनिसेफ लगायत विभिन्न संघसंस्थाको समन्वयमा हरेक वर्षकाझैं यस वर्ष पनि ‘आमाबुबाको सक्षमताः स्तनपानको सफलता’ भन्ने मूल नाराको साथ स्तनपानमा आमा, अभिभावक, घर, समाज र राष्ट्रलाई नै सक्रियरुपमा सहभागी गराई सबैले आ–आफ्नो तहबाट सहयोग गरी स्तनपानलाई प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।

स्तनपान
सही स्तनपानका लागि स्तनपान सम्बन्धी ज्ञान हुनु जरुरी छ । स्तनपान भन्नाले आमाको स्तनबाट निस्केको दूध बच्चाले खाई उसलाई चाहिने सम्पूर्ण पोषणतत्व प्राप्त गर्ने प्रक्रियालाई बुझिन्छ । बच्चाले दूध चुस्ने क्रममा २ प्रकारका दूध आउँछन् । सुरुमा आउने दूध अग्र अंश दूध हो, जुन हेर्दा पातलो र पहेंलो रङको भएता पनि यसमा प्रशस्त मात्रामा प्रोटिन तथा गुलियो पदार्थ र प्रशस्त मात्रामा पानी हुने भएकाले बच्चाको वृद्धि र विकासमा मद्दत पु¥याउनुका साथै प्यास मेटाउने काम गर्छ । बच्चाले दूध चुस्न थालेको मध्यतिरबाट आउने दूधलाई पृष्ठ अशं दूध भनिन्छ । जुन दूध बाक्लो र सेतो रङको हुन्छ । यो दूध बच्चाका लागि बढी पोषिलो मान्निछ । आमाले आफ्नो शिशुलाई १ पटकमा कम्तीमा १० देखि १५ मिनेटसम्म पूरा दूध निख्रने गरी खुवाउनुपर्छ । दिनमा (६–८पटक) तथा रातमा (४ पटक) गरी कम्तीमा १० देखि १२ पटकसम्म स्तनपान गराउनु पर्छ ।

स्तनपानको सही तरिका
स्तनपानको सही आसन र सम्पर्क अभिभावकले जान्नु अत्यन्त जरुरी छ । सर्वप्रथम आमा र बच्चा दुवै सजिले आसनमा हुनुपर्छ । आमाको स्तन र बच्चा नाकको सतह समान सतहमा हुनुपर्छ । बच्चाको आमाको स्तनतिर रहेको हात च्यापिन नदिनका लागि आमाको पछाडि ढाडतिर लैजानु पर्छ । बच्चाको गर्धन आमाको कुहिनोमुनिको सम्मो भागमा राखी हातको तल्लो भाग र हत्केलाले पछाडिबाट बच्चाको पिँठ्युसम्म राम्ररी समाइएको हुनुपर्छ । आमाले दूध समाउँदा अंग्रजी ‘सि’ आकारमा विपरीत हातले समाउनुपर्छ । जसमा बुढी औंला माथि र अरु औंला स्तनको तल्लो भागमा हुन्छन् ।

त्यस्तैगरी बच्चाको मुख पूरै खोलिएको हुनुपर्छ । तल्लो ओठ बाहिरतिर फर्की र तल्लो ओठले चिउडोलाई छोएको हुनुपर्छ र चिउडोले दूधको तलतिरको भागलाई छोएको हुनुपर्छ । धेरैजसो दूधको कालो भाग बच्चाको मुखभित्र पसेको हुनुपर्छ । चुस्दा बच्चाको गालामा खाल्डो पर्छ र बच्चाले दूध निलेको महसुस आमालाई हुन्छ । दूध चुसाइसकेपछि बच्चालाई ठाडो गरी आमाको गर्धनेर राखी डकार (ढ्याउ) गराउनुपर्छ । १ पटक दूध चुस्दा आमाको एकापट्टिको दूध चुसेर सकी नअघाएको खण्डमा अर्को दूध पनि चुस्छ, बच्चा निरोगी शान्त एवं धेरैजसो सुतिरहेको हुन्छ र दिनमा कम्तीमा ६ देखि ८ पटक पिसाब गरेको छ भने बच्चालाई आमाको दूधले पुगेको छ भनी थाहा पाउन सकिन्छ ।

महत्व
बिगौती दूधमा विभिन्न रोगसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकाले बालबालिकालाई धेरै रोग लाग्नबाट बचाउँछ । आमाको दूधमा बच्चालाई चाहिने आवश्यक पोषणतत्व हुने भएकाले उनीहरुको उच्चतम वृद्घि र विकासका लागि चाहिने कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा प्रदान गर्छ । झाडापखला तथा श्वासप्रश्वास सम्बन्धी संक्रमण विरुद्घ लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्छ । सधैं तयारी अवस्थामा, किन्नु नपर्ने र उपयुक्त तापक्रममा सफा र सुरक्षित हुने भएकाले आमा तथा परिवारलाई कम झन्झटिलो हुन्छ । स्तनपान बालबालिकाका लागि पूर्ण खाना हो । आमाको दूध बालबालिकाले सजिलै पचाउन सक्छन् र बच्चाको आन्द्राका समेत रक्षा गर्छ । यसले अनुहारको मांसपेशी, गिजा तथा दाँतको विकास गर्न सहयोग गर्छ । स्तनपानले शिशुलाइ कुपोषणबाट जोगाउँछ ।

समग्रमा बालबालिकाको शारीरिक, मानसिक तथा समाजिक विकास गर्न सहयोग गरी बालबालिकाको बिरामीदर तथा मृत्युदर घटाउनमा उल्लेखनीय भूमिका निभाउछ । जन्मनेबित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्न मद्दत गर्छ र बढी रगत बग्ने खतरालाई घटाउँछ । यसले आमाको बिरामीदर तथा मृत्युदरलाई घटाउँछ । जन्मनेबित्तिकै दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ र तुरुन्तै वा पटकपटक दूध चुसाउने गरेमा स्तन गानिनबाट जोगाउँछ । स्तनपानले आमा र बच्चाबीचको सम्बन्ध र माया गाढा बनाउँछ । महिलालाई हुँने स्तन तथा अण्डासयको क्यान्सर, मधुमेह तथा मुटु रोगको खतरालाई घटाउँछ । ६ महिनासम्म पूर्ण स्तनपान गराएमा गर्भ निरोधकको रुपमा समेत काम गर्छ । समग्रमा स्वस्थ नागरिक निर्माण गरी देशको उत्पादकत्व बढाउन मद्दत गर्छ ।

स्तनपनसँग जोडिएका तथ्य
अझैं पनि समाजमा स्तनपान सम्बन्धी केही गलत धारणा छन् । ती गलत धारणलाई सुधार गर्दै जानु अहिलेको आवश्यकता हो । भएका गलत धारणालाई न्युनीकरण गर्नका लागिः आमाको स्तनबाट आउने पहिलो दूध (बिगौती दूध) बच्चालाई खुवाउनु पर्छ । सुरुको अवस्थादेखि नै कुनै धाइ आमाको खोजी नगरिकन आमाकै दूध खुवाउनुपर्छ । बच्चालाई सुरुमा मह तथा अन्य गुलियो पदार्थ चटाउनु जरुरी हुँदैन ।

अति दुब्लो तथा कुपोषित आमाले समेत स्तनपान गराउन सक्षम हुन्छिन् र आफ्नो बच्चालाई आवश्यकपर्ने दूध उत्पादन गर्न सक्छिन् । स्तनको मुन्टो सानो भएको महिलाले आफ्नो शिशुलाई आवश्यकपर्ने दूध उत्पादन गर्न सक्छिन् । स्तनपानले आमाको शारीरिक बनावटमा कुनै असर गर्दैन, बिरामी वा संक्रमित महिलाले समेत स्वास्थ्यकर्मीको सल्लाह बमोजिम स्तनपान गराउन सक्छिन् । स्तनपान गराइरहेको आमालाई सबै प्रकारका थप खानाको आवश्यकता पर्छ । सुत्केरी अवस्थामा हरियो सागपात, तथा पहेंला फलफूलको खानु झनै राम्रो हुन्छ । यस्तो खानाले बच्चा र आमालाई स्वस्थ बनाउन मद्दत गर्छ । स्तनपान गराइरहेकी आमाले साविकभन्दा २ पटक थप खाना खानु पर्छ । ६ हप्तासम्म स्वास्थ्यकर्मीको सल्लाह बमोजिम आमाले आइरन तथा क्यालसियम चक्की खानु पर्छ ।

विश्व स्तनपान सप्ताह केबल ७ दिनको पर्वे कार्यक्रमको रुपमा मात्र नभई सम्पूर्ण (व्यक्ति, परिवार, समाज र राष्ट्र) ले यसलाई वर्षभरी नै महत्वको विषयका रुपमा लिई आ–आफ्नोतर्फबाट योगदान पु¥याउन सक्यौ भने यसले जीवन्तता पाउँछ । स्तनपानलाई हामी सबै मिली प्रवद्र्धन गर्नुनै यस सप्ताहको मूल मर्म हो ।
पौडेल पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा नर्सिङ् अधिकृत हुन् ।

सम्बन्धित खबर