आइतबार, ०१ भदौ २०७६
samadhannews
e planet education.

मुस्ताङको कोसेली मुस्तांगी ब्रान्डी

शनिबार, २५ साउन २०७६
960 पटक पढिएको


मार्फा शीतोष्ण बागवानी विकास केन्द्रमा फलफूल प्रशोधन गर्दै कर्मचारी । फलफूल प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर तयार गरिन्छ । तस्बिर ः एसके थकाली÷समाधान

एसके थकाली, जोमसोम

मुस्ताङलाई समृद्ध तुल्याउने २ आधार हुन् कृषि र पर्यटन । यी दुवैसँग यहाँ उत्पादन हुने वस्तुको उत्तिकै सम्बन्ध छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्र र उपल्लो मुस्ताङको लोमान्थाङ दरबार जस्तै मार्फामा उत्पादन हुने स्याउले पनि मुस्ताङको समग्र परिचय दिएको छ ।

मुस्ताङका ९६ गाउँबस्तीमध्ये मार्फा गाउँ कृषि र पर्यटन दुवैले प्रसिद्ध छ । मुस्ताङ आउने पर्यटकको ध्यान मुक्तिनाथ र लोमान्थाङजस्तै मार्फा गाउँले पनि आकर्षित गर्छ । मार्फा नामै काफी छ किनकि यहाँ लटरम्म फलेको स्याउ र अन्नबालीसँग झुम्न चाहन्छन् पर्यटक । त्यसो त मार्फा गाउँको परिचय स्याउमात्र हैन, मार्फा आफैंमा सांस्कृतिक रुपले पनि धनी छ । यसैले पनि मार्फाबारे गीतसमेत बनेको हो, ‘क्या राम्रो मार्फा गाउँ…… ।’

मार्फाली समुदाय कृषि र पर्यटन व्यवसायमा आबद्ध छन् । समय र मौसम अनुकूलका व्यवसाय र कृषि गर्छन् । मार्फामा समय फलफूल पाक्ने सिजन सुरु हुँदै छ । स्याउभन्दा २ महिनाअघि पाक्ने खुर्पानी, चिली र आरुबखडा टिप्ने बेला भइसकेको छ । स्याउजस्तै सहज रुपमा बिक्री हुन नसक्ने फलफूललाई यहाँका किसानले प्रशोधन गर्छन् । मार्फामा खेर जाने र बजारमा सहज बिक्री गर्न नसकिने फलफूललाई सामुदायिक तथा व्यक्तिगत रुपमा ब्रान्डी, जुस, वाइन, साइडर लगायत पेय पदार्थ बनाएका हुन्छन् । स्याउ टिप्ने सिजनमा व्यापारी बगैंचामै आएर बगान ठेक्का लिन्छन् । स्याउले यहाँका किसानको जीवनस्तरमा टेवा पु¥याएको छ ।

मार्फा तथा समग्र मुस्ताङलाई खेतीको पाटो सिकाउने केन्द्र हो शीतोष्ण बागवानी विकास केन्द्र । केन्द्रले नै यहाँका किसानलाई खेती गर्न प्रोत्साहित गरेको छ । फलफूल तथा तरकारीको बीउ, उपलब्ध तालिमका अवसर र सेवामुखी निकायका रुपमा रहेको मार्फा स्वयं तरकारी र फलफूल उत्पादन केन्द्र पनि हो ।

बागवानीले फर्ममा उत्पादित विभिन्न फलफूलको प्रशोधन गरी ब्रान्डी, जुस, वाइन, साइडर, जाम र सुकुटी बनाउने केन्द्रका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । स्याउबाहेक खुर्पानी, चिली र आरुबखडा लगायतका फललाई बोटबाट टिपेर धोई पखाली हावा नछिर्ने ड्रममा १ सातासम्म भण्डारण गरिन्छ । भण्डारण गरिएको फलफूल १ सातापछि निचोरेर छोक्रा निकाली तरल पदार्थ ठूलो भाँडोमा राखेर २ घन्टासम्म आगोमा पकाइन्छ । पकाइएको तरल पदार्थ पुन ल्याबमा राखेर ग्यास जारबाट बाहिर निकालिन्छ । ग्यास निस्क्रिय भएपछि स्वत वाइन तयार हुन्छ । वाइनमा चिनी मिलाइन्छ ।

वाइन बनाउँदा निकालिएका छोक्रालाई पुन ब्यारेलमा राखेर २ सातासम्म हावा नछिर्ने गरी भण्डारण गरिन्छ । भण्डार गर्दा मर्चा (केमिकल) मिसाइन्छ । यसरी भण्डार गरिएको स्याउ तथा अन्य फलफूलको छोक्रा र रसलाई ब्यारेलमा राखेर कुहाइन्छ । निश्चत अवधिपछि उक्त जाँडलाई भट्टामा पकाइन्छ । यसबाट उठेको बाफ नै ब्रान्डीको रुपमा पाइपमार्फत बाहिर निकालिन्छ र ब्रान्डी तयार हुन्छ ।

बागवानी विकासले वार्षिक बजेट तथा कच्चा पदार्थ उत्पादनलाई मध्यनजर गरी फलफूल प्रशोधन गर्ने गरेको वरिष्ठ अधिकृत अधिकारीले बताए । कच्चा पदार्थ र बजेट अनुपात अनुसार प्रशोधनको लक्ष्य रहने उनको भनाइ थियो ।

उनले यो वर्ष साइडर, वाइन र ब्रान्डी गरी २ हजार ८ सय लिटर, स्याउको जाम १ सय ५० केजी र स्याउको सुकुटी १ क्विन्टल तयार गर्ने लक्ष्य रहेको बताए । उनले बागवानीले उत्पादन गर्ने फलफूल तथा प्रशोधित सामग्री नाफामूलक नभई सेवामुखी भएको बताउँदै माग अनुसारको आपूर्ति गर्न नसकेको सुनाए ।

मार्फामा मात्रै बागवानीबाहेक ५ वटा ब्रान्डी उत्पादन गर्ने निजी डिस्टिलरी छन् । समुदाय तथा व्यक्तिले पनि स्याउका विभिन्न परिकार बनाएर बिक्री गर्ने गरेका छन् । मार्फा लगायत अन्य गाउँपालिकाका किसानले पनि स्याउ खेती गर्ने र यसका विभिन्न प्रोडक्ट बनाएर बिक्री गर्छन् । पछिल्लो समय मुस्ताङ आएका पर्यटकले यहाँ उत्पादित सामग्री कासेली लिएर फर्कन्छन् । मुस्ताङका स्याउ र प्रशोधित सामग्री देश विदेशमा समेत निर्यात हुने गरेको छ ।

सम्बन्धित खबर