आइतबार, २९ मङि्सर २०७६
samadhannews
ढुक्कले दर खानुस्

ढुक्कले दर खानुस्

सोमबार, २७ साउन २०७६
3470 पटक पढिएको

९ साउन २०७६ मा जिल्ला प्रशासन कार्यालय कास्कीले तीज पर्वलाई परम्परागत रुपमा मनाउन आग्रह गर्दै एउटा सूचना जारी गर्‍यो । शान्ति सुरक्षाको जिम्मा पाएको प्रशासन कार्यालयले होहल्ला नगर, तडकभडक नगर, फजुल खर्च रोक भनेर नागरिकसँग आग्रह गर्नुलाई सामान्य मान्न सकिन्छ । तर उक्त सूचनामा त तीज मौलिक पर्व भएकाले यसलाई सोही अनुसार मनाउन यदि त्यसो नगरिए सुक्ष्म निगरानी राखी कारवाही गर्ने धम्की दिइएको छ । जुन सूचनाले अहिले कास्की मात्र नभएर मुलुकभर तरंग फैलाएको छ ।

कास्कीको सिको गर्दै, रुपन्देही, काभ्रे र पर्वतका प्रशासन कार्यालयले पनि त्यसै व्यहोराको सूचना जारी गरेका छन् । जसको चौतर्फी रुपमा चर्को आलोचना भएको छ । जिल्ला प्रशासन कास्कीले आफ्नै पहल र सोचले यो सूचना जारी गरेको पनि होइन । सूचनामै प्रस्ट उल्लेख गरिएको छ कि नारी जागरण अभियान पोखरा लगायत संघसंस्थाले तीज पर्वको मौलिकता संरक्षणका लागि ध्यानाकर्षण पत्र बुझाएको भन्ने । सीमित व्यक्ति र संस्थाको लहैलहैमा लागेर सूचना जारी गर्न प्रशासन किन बाध्य भयो भन्ने बारेमा सर्वसाधारण सोच्न बाध्य छन् ।

जसरी जनैपूर्णिमा हिन्दू पुरुषको पर्व हो, त्यसैगरी तीज पनि महिलाको मात्रै पर्व हो । अहिले आएर हिन्दू महिलाको मात्रै पर्व हो भनेर साँघुरो घेरामा राख्नु नै उपयुक्त हुँदैन । किन कि यसमा हिन्दू बाहेकका महिला पनि सहभागी हुन्छन्, रंग–रमाइलो गर्छन् अनि सुखदुख साटासाट गर्छन् । अनि मौलिक परम्परा भनेको चाँहि के रहेछ ? पुरानै चलन जसरी दिदीबहिनीलाई लिन दाजुभाइ जाने, सबै एउटा घरमा जम्मा हुने, अनि घरका बुहारी माइत जान नपाएकोमा मुुर्मुरिँदै दर पकाएर नन्द अमाजुलाई खुवाउने । सासु बुहारीले एकअर्काको कुरा काट्ने अनि फरकफरक समूहमा गएर बुहार्तनका गीत गाउने । यदाकदा सासुबुहारी मिलेका उदाहरण पनि नभएका होइनन् ।

यही त हो नि परम्परा हैन र ? तर जमाना फेरिएको छ । त्यो सँगै हाम्रा रिति, परम्परा पनि बिस्तारै फेरिँदै गएको छ । आमसञ्चारका माध्यम नहुँदा सबै सुखदुखको पोको तीजका गीतमार्फत् पोखिन्थ्यो । वर्षभरि भेट नभएका दिदीबहिनी पनि त्यही अनुसार रमाउँथे । अहिले त्यस्तो कहाँ छ र ? टेलिफोन मात्र नभएर इन्टरनेटले विश्वलाई नै सानो गाउँमा परिणत गरिदिएको छ । निम्न आम्दानी हुनेहरु पनि यी माध्यममार्फत् आफन्तसँग सम्बन्ध स्थापित गरेकै हुन्छन् । सबै कुरामा परम्परा र मौलिकता खोजेर बसिरहुनु भनेको परिवर्तनलाई आत्मसात नगर्नु नै हो ।

जहाँसम्म होटेल, रेस्टुरेन्ट अनि पार्टी प्यालेसमा दर खाने कुरालाई रोक लगाउन खोजिएको छ, यो त खुला बजार अर्थनीतिको पूर्णत विरोधी काम हो । पहिलो त महिला घरबाट बाहिर निस्केर साथीसंगीसँग रमाउने उपयुक्त मौका हो यो । अर्को अर्थतन्त्र चलायनमान बनाउने अर्को तरिका पनि । हो, यसलाई कुनै संस्था र व्यक्ति विशेषले टिकट बेचेर रकम आर्जन गर्ने माध्यम बनाउनु हुँदैन । तर विकृति नियन्त्रण गर्ने नाममा बजारमाथि नै हस्तक्षेप गर्ने अधिकार प्रशासनले पनि राख्दैन ।

प्रशासनको यो सूचनाले व्यावसायीमा एकखालको ‘आतंक’ नै फैल्याएको छ । सामुहिकरुपमा दर खाने सोच बनाएका दिदीबहिनी पनि आतंकित भएका छन् । कुनै पनि चाडबाडलाई जोसुकैले आफू अनुकूल मनाउन पाउनुपर्छ । दिदीबहिनी आफ्नो हैसियत अनुसार मन लागेको ठाउँमा ढुक्कले दर खानुस्, दर खाँदा कुनै कानुन लाग्दैन ।

सम्बन्धित खबर