आइतबार, ०१ भदौ २०७६
samadhannews
e planet education.

सुरु भयो सफल एग्रो उद्योग

सोमबार, २७ साउन २०७६
470 पटक पढिएको

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नं. ५, पस्र्याङमा सफल एग्रो उत्पादन तथा प्याकेजिङ बिक्री केन्द्र सुरु भएको छ । पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रमको सहयोगमा पोखरा ५ को सफल महिला विकास केन्द्रले उद्योग सञ्चालन गरेको हो ।

२०७४ सालमा स्थापित यो उद्योगमा अहिले १ सय २० महिला आवद्ध छन् । पोखरा महानगरको ४ लाख र समूहमा आवद्ध सदस्यबाट संकलित ६ लाख गरी १० लाख लगानीमा सफल एग्रो सञ्चालन भएको हो । उद्योग शनिबार पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले शुभारम्भ गरिन् । उपप्रमुख गुरुङले चुलोचौकामा सिमित महिला बाहिर निस्किएर उद्यमशीलतामा लाग्नु महत्वपूर्ण भएको बताइन् । उनले उद्योग पारदर्शी ढंगले सफलतापूर्वक सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

नाफामात्र नहेरी स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाई विशेष महत्व दिन उनले आग्रह गरिन् । उपमेयर गुरुङले महिला चुलोचौकोबाट बाहिर आउनुपर्छ भन्ने उद्देश्यले नै महिलासँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । वडाध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपालीले वडाकै शिर ठाडो हुने गरी उद्योग सञ्चालन गर्न आग्रह गरे । उनले उद्योगका लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

वडा सदस्य उज्ज्वल खत्रीले उद्योग खोल्नुमात्र ठूलो कुरा नभएको भन्दै उद्योगलाई दीगो रुपमा सञ्चालन गर्नु अबको चुनौती भएको बताए । उनले उद्योग खोलिसकेपछि प्रतिस्पर्धात्मक ढंगले अघि बढ्न आग्रह गरे । उद्योगमा आर्थिक पारदर्शिता, सञ्चालक तथा कर्मचारीमा नम्र व्यवहार र मीठो बोली हुनुपर्ने खाँचोसमेत उनले औंल्याए । पोखरा महानगरअन्तर्गत सहकारी समिति संयोजक तेजनारायण अधिकारीले महिलाले चलाएका कार्यक्रम तथा उद्योग सफल हुने गरेको बताए । पस्र्याङ टोल विकास संस्थाका अध्यक्ष डिल्लीराम भट्टराईले गुणस्तरीय र शुद्ध अर्गानिक सामग्री उत्पादान गर्नुपर्नेमा जोड दिए ।

समितिका अध्यक्ष सृजना शाहको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरकी कार्यपालिका सदस्य राधिका शाही, उद्योगकी कार्यक्रम संयोजक एवं वडा सदस्य हरिमाया विक, वडा सदस्य अञ्जु केसी, प्रेमदेवी परियार, धर्मस्थली आमा समूहकी अध्यक्ष इन्दिरा पराजुली, समाजसेवी शुभद्रा कोइराला, समितिकी उपाध्यक्ष धनमाया पण्डित, उमा कोइराला, सचिव पवित्रा शर्मा लगायतले बोलेका थिए ।

सम्बन्धित खबर