आइतबार, ०१ भदौ २०७६
samadhannews
e planet education.

पर्यटन विकासमा होमस्टे

मङ्गलबार, २८ साउन २०७६
2160 पटक पढिएको

लक्ष्मण गिरी

घरबास (होमस्टे) पछिल्लो समय पर्यटन विकासको नाममा तीव्र बृद्धि हुँदै गरेको एउटा नयाँ अभ्यास हो । नेपालमा पहिलो पटक पर्यटकीय मापदण्डसहितको व्यावसायिक घरबास स्याङ्जा जिल्लास्थित शिरुबारीको गुरुङ गाउँबाट सञ्चालन भएको थियो । तत्कालीन भारतीय सेनामा कार्यरत क्याप्टेन रुद्रमान गुरुङ सेवावाट निवृत्त भएपश्चात् उनको सक्रियतामा सुरु गरिएको शिरुबारी घरबासमा स्वदेशी तथा विदेशी थुप्रै पर्यटक पुगिसकेका छन् । पुरानो समयमा राम्रोसँग सहर बजारको विकास भईसकेको थिएन ।

मानिस एक ठाउँबाट अर्को ठाउँमा जाँदा बास बस्नु पर्दा कुनै होटल बनेका थिएनन् र बास बस्न कसैका घरमा पुगेर बास मागेर बस्ने चलन थियो । यसरी बास दिँदा र बस्दा कुनै व्यावसायिकता हुँदैनथ्यो । यसरी हेर्दा घरबास हाम्रो देशको संस्कृितअनुसार कुनै नयाँ अभ्यास हो भन्न नमिल्ला तर पर्यटकीय मापदण्डसहितको व्यावसायिक दृष्टिले यो नयाँ अभ्यासनै मान्नु पर्छ ।

घरबासलाई पर्यटकीय मापदण्डका आधारमा सञ्चानल गर्न सकियो भने पर्यटन प्रबद्र्धनमा यसको भूिमका महत्वपूर्ण रहन्छ । घरबास आफंैमा एउटा सांस्कृितक पर्यटन पनि हो भने अर्कोतर्फ यो पर्यावरणीय पर्यटन पनि हो । विशेष गरी ग्रामीण क्षेत्र जहाँ प्राकृतिक सौन्दर्यले रमरणीय होस्, जहाँ आफ्नो छुट्टै मौलिक संस्कृित बोकेको समुदायसहितको बस्ती होस् र समुदायस्तरबाट नै घरबास सञ्चालनका लागि मनैबाट तत्परता जागेको होस् तब पर्यटनमा घरबास सफलतापूर्वक सञ्चालन हुन सक्छ । अनि मात्र देशको पर्यटन प्रबद्र्धनमा घरबासको योगदान र घरबास प्रबद्र्धनमा पर्यटनको योगदान सकारात्मक गतिमा अगाडि बढ्ने कुरामा विश्वास बढ्छ ।

पछिल्लो समयमा देशका विभिन्न भूभागमा घरबास सञ्चालनको एउटा जागरण नै चलेको छ । पर्यटन प्रबद्र्धनका हिसाबले यो अत्यन्तै राम्रो पक्ष हो तर अर्को पक्ष हामीले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय के हो भने घरबास सञ्चालनको करिब यो ३ दशक लामो हाम्रो अनुभवमा यसका चुनौतीका पक्ष केके रहे ? सञ्चालनमा रहेका के–कति घरबासले आफ्ना सेवाको गुणस्तरमा थप बृद्धि गर्दै निरन्तरता दिन सकिरहे ? र कति घरबासले सेवा दिन नसकेर बन्द भए वा ह्रासोन्मुख गुणस्तरमा सेवा धानिरहेका छन् ।

घरबास सञ्चालनका विषयमा अर्को पनि अनुसन्धानको विषय के हुन सक्छ भने सञ्चालित घरबासमा पर्यटकको आगमन कस्तो छ ? स्वदेशी तथा विदेशी पर्यटकमध्ये घरबासमा बढी आर्कषण कसको पाइएको छ ? पर्यटकको बढी आगमन कुन समयमा हुने गरेको छ ? यस्ता खालका सवालमा अनुसन्धान गरी तथ्यपरक निचोड निकाल्न सकियो भने मात्र घरबासलाई व्यवस्थित र दीगो रुपमा संचालन गर्न सहज हुन सक्छ ।

सञ्चालित केही घरबासमा स्वयं आफू पुग्दा गरेको अनुभवका आधारमा घरबास सुरुआत गर्न जति सजिलो छ यसको निरन्तरता त्यत्तिकै चुनौतीपूर्ण छ । मानव संशाधन व्यवस्थापन यसको प्रमुख चुनौती बन्दै गइरहेको सेवा प्रदायक बताउँछन् । युवा शक्ति सहर हुँदै विदेशिने अनि बाँकी रहेको बृद्ध मानव संशाधनले घरबास सञ्चालन गर्नमा मुस्किल परेको प्रमुख समस्याका रुपमा लिन सकिन्छ । नेपालमा सञ्चालित अधिकांश होमस्टेमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन अत्यन्तै न्यून छ ।

अर्को स्मरणीय पक्ष के छ भने घरबासमा विभिन्न पेसा, व्यवसाय गरेर सहरमा बस्नेहरु, बिदाका दिन वा शुक्रबार साँझ बास बस्ने गरी जानेहरु लोकल उत्पादित वस्तु सुकुटी, कोदोको मदिरा तथा अन्य स्थानीय परिकार खाने र बिहान फर्किने सोचका साथ जाने गर्छन् । तर यस्तो पर्यटन प्रबद्र्धनबाट घरबासको व्यापार त राम्रै होला, के पर्यावरणीय र सांस्कृतिक मौलिकतासहितको ग्रामीण पर्यटनकोे मर्म जोगिएला कि नजोगिएला ? घरबासमा आधारित पर्यटन प्रबद्र्धनलाई कसरी दीगो बनाउने र यसको मौलिकतामा ह्रास आउन नदिने भन्ने सन्दर्भमा १ तहमा छलफल चलाउनुपर्ने बाञ्छनीय हुन्छ ।

नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन संघीय सरकारको पर्यटन मन्त्रालयले देशभरिमा १ सय पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटन प्रबद्र्धनमा सहयोग गरिरहेको छ । सरकारको यो कदम स्वागत योग्य छ तर सय गन्तव्य पहिचान गर्दा कतै राजनीतिक आस्थाको जगमा, कतै पहुँचका आधारमा, कतै त व्यक्तिको निजी मन्दिरलाई समेत छनौटमा पारेर खास पर्यटकीय गन्तव्यलाई नजरअन्दाज गरेका खबर केही सञ्चार माध्यमले उठाएकै हुन् । हुन त विरोधका लागि विरोध गर्ने हाम्रो चलनबाट थोरै टाढा रहनै पर्छ ।

मुलुक संघियतामा प्रवेश गरेसँगै घरबास प्रबद्र्धन, विकास र संरक्षणमा प्रदेश स्तरीय मन्त्रायलयबाट नै प्रत्येक्ष निगरानी गरिने प्रावधानले घरबास सञ्चालनमा थप राहतको महसुस भएको छ । पछिल्लो समयमा कम्तीमा १० घरधुरी मिलेर घरबास सञ्चालन दर्ता गरेका समुदायलाई घरबास सञ्चालनका लागि भनेर प्रदेश स्तरीय मन्त्रालयबाट केही रकम विनियोजन गरिएको छ ।

आग्रह पूर्वाग्रह नराखी घरबासमा आधारित पर्यटन प्रबद्र्धन गर्ने ध्येयले स्रोत परिचालन गरियो भने यो दीगो रहन्छ । एउटै समुदायभित्र आफ्ना निकटस्थ १० घर तयार पार्ने, दर्ता गर्ने र फरक उद्देश्य राखेर स्रोत वितरण गर्न थालियो भने यसको परिणाम पक्कै पनि राम्रो हुँदैन । घरबासका लागि तयार नभइसकेको समुदाययलाई कुनै भित्री आशयका साथ घरबास सञ्चालन गर भनेर स्रोत विनियोजन गरियो भने भोलि हामीलाई पर्यटक पनि पठाइदेऊ भनेर समुदायले भन्यो भने यो अनौठो नहोला ।

घरबासमा आधारित पर्यटन व्यवसाय सञ्चालन गर्ने कुरा सहरका होटल लजमा आधारित पर्यटन व्यवसाय सञ्चालन गरे भन्दा पनि जटिल छ भन्ने कुरा बुझ्न जरुरी छ । सम्बन्धित निकायले जटिलतालाई मनन गरेर घरबास विकास, प्रबद्र्धन र सम्बद्र्धनमा ध्यान दिन सकोस् शुभकामना ।

गिरी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित खबर