मङ्गलबार, ३१ भदौ २०७६
samadhannews
कारागारको कन्तविजोग

कारागारको कन्तविजोग

शुक्रबार, ३१ साउन २०७६
840 पटक पढिएको

कास्की कारागारमा ८ सय बन्दी छन् । यो कारागारको क्षमता त्यति होइन । त्यसको आधा हो । तर अटाइनअटाइ कैदीबन्दी कारागारमा थुनिएको छ । कैदी नै भए पनि राम्रोसँग खान, बस्न र सुत्न पाउनुपर्छ । अहिलेको समाज मध्ययुगीन समाज होइन ।

मध्ययुगमा जसले जस्तो अपराध गर्छ उसलाई उस्तै सजाय दिइन्थ्यो । मानौं क भन्ने व्यक्तिले ख भन्नेको आँखा फुटाइदियो । कलाई सजाय बापत उसको पनि आँखा फुटाइन्थ्यो । जघन्य अपराध गर्दा खुला ठाउँमा सबैका सामु ढुंगाले हानेर मानिरन्थ्यो । अहिलेको समाज सभ्य समाज हो, जसले अपराधीको पनि मानवअधिकारको सम्मान गर्छ । नेपाल मानवअधिकारको अन्तर्राष्ट्रिय अभिसन्धिको १ पक्ष राष्ट्र हो । यसले मानवअधिकारका तमाम मान्यतालाई स्वीकार्छ र व्यवहारमा उतार्नु यसको कर्तव्य हुन आउँछ ।

जसरी सामान्य नागरिकलाई स्वास्थ्योपचारको हक हुन्छ, त्यस्तै कारागारमा थुनिएकालाई पनि त्यस्तो हक हुन्छ । तर कास्की कारागारमा स्वास्थ्योपचारको हक प्रत्याभूत भएको छैन । ८ सय ९ जना कैदीबन्दीका लागि १ जना स्वास्थ्य कर्मीले सेवा दिनुपर्ने अवस्था छ । ४० जनाका लागि १ स्वास्थ्यकर्मी व्यवस्था गरिएकोमा अहिले पनि उही दरबन्दी र उस्तैमात्रै सेवा छ । देशका ठूलाठूला नेता कारागारमा थुप्रै वर्ष बिताएका व्यक्ति छन्, तर तिनीहरुले कारागार सुधारमा कहिल्यै माखो मारेनन् । त्यसको एउटा उदारहण कास्की कारागारको स्वास्थ्य सेवा हो । कास्की कारागारमा त झन् अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत कैदी जीवन बिताएका थिए । तर उनले न कास्की न अन्त कतैको कारागार सुधारमा ध्यान दिएका छन् ।

कारागारलाई सुधारगृह बनाइनुपर्छ । अपराध गरेको व्यक्तिमा नैतिकता र इमान्दारी ब्युँताउने थलो कारागार हुनुपर्छ । मान्छे हुनुको कर्तव्य बोध कारागार पुगेपछि सिर्जना हुने वातावरण त्यहाँ चाहिन्छ । ध्यान, योग, अध्ययन, सीपमूलक तालिमको व्यवस्था कारागारमा भइदिने हो भने मान्छेमा सुधार आउन बेर लाग्दैन । तर अहिलेको अवस्था त मान्छेलाई झन्झन् बिगार गर्ने खालेको छ । त्यसैले त एकपटक कारागारको सजाय भुक्तान गरेको व्यक्ति फेरि पहिलेको जस्तै वा झन् नयाँनयाँ र ठूलो अपराधमा लाग्ने गरेको देखिन्छ । यो हाम्रो समग्र कारागार व्यवस्थाकै उपज हो । न कि मानवीय प्रवृत्तिमात्रै ।

चैनसँग बस्न पाउने, चैनसँग निदाउन पाउने र पढ्ने–लेख्ने अनि खेलकुदमा लाग्न पाउने अनि सीपमूलक तालिम लिन पाउने व्यवस्था भइदिने हो भने कोही किन फेरि अपराधका लागि उक्सिन्थ्यो होला र ? सकारात्मक सोचका प्रवचनका कक्षा कारागारमा प्रत्येक साता राख्न केको छेकबार छ ? पुस्तकालयमा भरिभरि पुस्तक राख्न केको व्यवधान छ ? योग र ध्यान सिकाउने र गराउने इच्छाशक्ति कारागार प्रशासनसँग हुन्छ भने त्यसमा स्वयंसेवा गर्न तयार हुने जमात ठूलो छ ।

कास्कीको क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपरेको छ भने अन्त किन स्थानान्तरण नगर्ने जहाँ कैदीबन्दी कम छन् ? वा क्षमता नै किन नबढाउने ? जनसंख्याको वृद्धिसँगै समाजमा अपराध बढेको यथार्थ लुकाएर कारागारको क्षमता बढाउनु हुन्न भन्ने आदर्शले काम गर्दैन ।

पोखरामा किन प्रदेशस्तरीय कारागार नबनाउने ? जुन नमुना होस्, मान्छेलाई सुधारेर असल मान्छे बनाएर बाहिर ल्याओस् । सम्बन्धितको ध्यान यी कुरामा पुगोस् भन्ने हाम्रो कामना । फेरि पनि मान्छेलाई कारागारमा थुन्ने र सुधार्ने प्रयासभन्दा अघिचाहिँ समाजमा मूल्यमान्यता, मर्यादा, नैतिकता र असल चरित्रको विकास गर्ने प्रयास गर्नैपर्छ ।

सम्बन्धित खबर