बुधबार, २७ कार्तिक २०७६
samadhannews
दर्ता भयो पोखरेली जेठोबुढो

दर्ता भयो पोखरेली जेठोबुढो

आइतबार, ०८ भदौ २०७६
12840 पटक पढिएको

समाधान संवाददाता
पोखरा

पोखरेलीको प्रिय खान्की नै जेठोबुढो धान हो । यो पोखरा आसपासका क्षेत्रमा उत्पादन हुँदै आएको छ । परम्परागत रुपमा उत्पादन हुँदै आए पनि यो प्रजातिको धान व्यावसायिक भने हुन सकेको थिएन । व्यावसायिक नहुँदा राष्ट्रियस्तरमा पुग्न सकेको थिएन ।

पुर्खौंदेखि पोखराका फेवा, बिरौटा, कुँडहर, पामे, ठूलाखेत लगायत फाँटमा किसानले लटरम्मै जेठोबुढो धान फलाए पनि अरु जिल्लामा खेती फैलन सकेको थिएन । कारण थियो, जेठोबुढोमा भएको केही कमजोरी । कीरा लाग्ने, बासना नआउने र चाँडै बोट ढलेर राम्रो उत्पादन नहुनेजस्ता अवगुणले जेठोबुढो धान स्थानीय उत्पादन भए पनि किसानको रोजाइबाट बाहिरिने क्रममा थियो ।

कमजोरीकै कारण स्थानीय उत्पादन जेठोबुढो धान बिस्तारै हराउँदै गएपछि सरोकारवालाले यसबारे चासो दिन थाले । फलस्वरुप १९९८ देखि २००६ सम्म पोखरा विभिन्न फाँटमा फलेका ३ सय ३६ बोट लिएर नयाँ धान विकास गर्न अनुसन्धान थालियो । यसको अगुवाइ गरे, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) सहित अन्य ३ संस्थाले ।

‘बासना कम आयो । बासना नआउँदा आयातित धानले ठाउँ लियो,’ लिबर्डका कार्यक्रम सञ्चालन निर्देशक पीताम्बर श्रेष्ठले भने, ‘हामीले जेठोबुढो धानमा भएको कमजोरी हटाउन विभिन्न ठाउँका नमुना लिएर अनुसन्धान सुरु गर्‍यौं ।’ नमुना संकलन गरिएका ती जेठोबुढो प्रजातिको धानबाट अन्तिममा ६ वटा छनोट गरेको उनले जानकारी दिए ।

‘अनुसन्धान थालेको करिब ३ वर्षमा कीरा कम लाग्ने, बासना आउने छनोट गर्‍यौं । त्यसलाई हामीले दर्ता गर्न प्रक्रिया पनि थाल्यौं,’ श्रेष्ठले भने, ‘छनोट भएका धानबाट राम्रो नमुनालाई पोखरेली जेठोबुढो धान दिएर दर्ता गर्न सफल भयौं । जेठोबुढो धान अहिले पोखरेली जेठोबुढो नामबाट नेपाली बालीमा दर्ता गर्‍यौं ।’ कमजोरी हटेर आएको जेठोबुढोलाई अरु ठाउँतिर फैलाउने काम भएको छ । श्रेष्ठका अनुसार तत्कालीन जिल्ला कृषि विकास समितिको सहयोगमा पोखराका विभिन्न ठाउँमा वितरण गरिएको छ ।

लिबर्डले विभिन्न संस्थासँग सहकार्य गरी जेठोबुढो धानजस्तै हालसम्म ६ वटा धानलाई राष्ट्रिय बालीका रुपमा दर्ता गर्न सफल भएको छ । नयाँ दर्ता हुने धानको प्रजातिमा पोखरेली जेठो बुढो धानका २ प्रजाति, सुनौलो सुगन्धाका ३ प्रजाति छन् । लिबर्डका कार्यकारी कार्यक्रम विकास निर्देशक भरत भण्डारीका अनुसार एउटा प्रजाति दर्ता गर्न ५ देखि ७ वर्षसम्म लाग्ने गर्छ ।

‘पञ्जीकरण र दर्ता भन्ने हुन्छ । पञ्जीकरण गर्न ५० वर्षसम्म लाग्न सक्छ,’ भण्डारीले भने, ‘तर दर्तामात्रै गर्दाचाहिँ समय कम लाग्छ । त्यसले नेपाली उत्पादनलाई पनि चिनाउने काम गर्छ । संस्थाले मकैका २ प्रजाति, लट्टे सागको एउटा प्रजाति उन्मोचन र दर्ता गरेको छ । भण्डारीले अन्य धानको प्रजाति, कोदो, कागुनो, सिमी र चिनो बालीका ८ प्रजातिका दर्ता प्रक्रियामा रहेको जानकारी दिए ।

लिबर्डको २५ औं वार्षिकोत्सवको अवसरमा शनिबार उपेक्षित बालीको बिउ खोजी गरी उपलब्धता बढाइरहेको जानकारी दिएको हो । कार्यक्रममा भण्डारीले देशबाहिरका बालीलाई पनि परीक्षण गरी नेपालका किसानमाझ विस्तार गरिरहेको दाबी गरे । ‘राजमा, स्वर्णा मसुली, हर्दिनाथ नामक धान सन् १९९० तिर नेपालमा हामीले नै परीक्षण र विस्तार गरेका हौं,’ उनले दाबी गरे, ‘त्यसबाट अहिले लाखौं किसान लाभान्वित भइरहेका छन् ।’

लिबर्डको सहजीकरणमा स्थापना भएका सामुदायिक बीउ बैंकले ७० किसिमका बालीका विभिन्न स्थानीय जातको संरक्षण गरिरहेको संस्थाको दाबी छ । ‘लोप हुन लागेका हजारभन्दा बढी स्थानीय जात संरक्षण गरिरहेका छौं,’ भण्डारीले भने, ‘सामुदायिक बीउ बैंकहरुले स्थानीय किसानका आवश्यकता अनुसार बर्सेनि २०० टनको हाराहारीमा स्थानीय तथा उन्नत जातका बीउ उत्पादन तथा बिक्री गरिरहेका छन् ।’

संस्थाले विपन्न ग्रामीण किसानको जीविकोपार्जन सुधार गर्न विभिन्न परियोजनामार्फत विभिन्न जिल्लाका करिब २० हजार जना विपन्न वर्गको जीवनोस्तर उकास्न मद्दत पुर्‍याएको दाबी गरेको छ । १२ जल्लाका ६६ हजार घरपरिवारलाई नियमित कृषि कार्यमा फर्किन कृषि औजार, बीउ, सिँचाइ कुलो तथा खानेपानी मर्मत तथा प्राविधिक सहयोग उपलब्ध गराइएको कार्यकारी कार्यक्रम विकास निर्देशक भण्डारीले सुनाए ।

सम्बन्धित खबर