सोमबार, ३० भदौ २०७६
samadhannews
लाइब्रेरी अटोमेसन

लाइब्रेरी अटोमेसन

बिहिबार, १२ भदौ २०७६
1840 पटक पढिएको

खिम लामिछाने काजी

सामान्य रुपमा हेर्दा स्वतः चल्ने प्रक्रियालाई स्वचालीकरण भन्न सकिन्छ । पुस्तकालय स्वचालीकरण भन्नाले पुस्तकालयभित्र गरिने कार्य कम्प्युटर तथा अन्य उपकरणको माध्यमबाट छिटो छरितो गर्ने भन्ने हुन्छ । स्वचालीकरणलाई अंग्रेजीमा ‘अटोमेसन’ भनिन्छ । बोलीचालीको भाषामा पनि स्वचालीकरण भन्दा ‘अटोमेसन’ शब्द नै बढी चलनमा पाइन्छ । अटोमेसन शब्द ग्रीक भाषाको ‘अटोमस’ बाट आएको हो । जसको अर्थ स्वाभाविक गति भन्ने हुन्छ । उक्त शब्दको प्रयोग सर्वप्रथम सन् १९४६ मा अमेरिकाको जनरल मोटर कम्पनीका इन्जिनियर म्यानेजर डिएस हार्डरले प्रयोगमा ल्याएका थिए । उनले उक्त कम्पनीमा उत्पादन बढाउन अटोमेसनको प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

पुस्तकालय स्वचालीकरणले पुस्तकालयभित्रका सम्पूर्ण सेवामा मेसिन तथा उपकरणको प्रयोग गरी छिटोछरितो र उत्कृष्ट सेवा दिन मद्दत गर्छ । त्यसैगरी पाठकले आफूले चाहेको पुस्तक वा पाठ्यसामग्री सजिलै प्राप्त गर्न सक्ने, समयको बचत र द्रूत सेवा पाउँछन् ।

पुस्तकालय प्रयोगकर्ता एवं पाठकले कमभन्दा कम समयमा धेरैभन्दा धेरै सूचना प्राप्त गर्न सकिने प्रणालीको विकास यस पुस्तकालय स्वचालीकरणको उद्देश्यको हो । वर्तमान समयमा पुस्तकालयभित्र कम्प्युटरको साथसाथै दूरसञ्चार प्रविधि, इन्टरनेट तथा रेप्रोग्राफी (फोटोकपी, डिजिटल स्क्यानर, प्रिन्टर, बारकोड) लगायतले पुस्तकालय स्वचालीकरणमा ठूलो भूमिका खेलेको छ । सामान्यतया सूचनाको संकलन, प्रशोधन, भण्डारण र सम्प्रेषण तथा पुस्तकालयसँग सम्बन्धित अन्य कार्यमा मानवीय हस्तक्षेप न्यूनीकरण गरी सम्पूर्ण कार्यमा यन्त्रको प्रयोग गरिनु नै पुस्तकालय स्वचालीकरण हो ।

लाइब्रेरी अटोमेसनको इतिहास केलाउँदा सन् १९६० तिर कम्प्युटरको विकाससँगै सुरु भएको पाइन्छ । अटोमेसन प्रणाली प्रयोग गरी सूचना सम्प्रेषण गर्ने उद्देश्यले सन् १९५९ मा नभल आर्डिनेन्स ल्याबोरटरी, सिल्भर स्प्रिङमा, सन् १९६० मा वेस्टर्न रिजर्भ युनिभर्सिटी अमेरिकामा, सन् १८५९ देखि १९६३ सम्म आम्र्ड सर्भिस टेक्निकल इन्फरमेसन एजेन्सीमा, सन् १९६२ मा नेसनल एरोनेटिक्स एन्ड स्पेस एड्मिनीस्ट्रेसनमा र सन् १९६२ मा नेसनल लाइब्रेरी अफ मेडिसिन, मेडिकल लिटेरेचर एनालाइसिस एन्ड रिट्रिभल सिस्टम सर्भिसमा कम्प्युटरको प्रयोग गरिएको थियो । यी एजेन्सीले कम्प्युटरको प्रयोग गरी संयुक्त राज्य अमेरिकामा सूचना सम्प्रेषणको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यसैगरी भारतमा सन् १९७९ देखि नेसनल इन्फरमेसन सिस्टम फर साइन्स एन्ड टेक्नोलोजीबाट सुरु गरिएको पाइन्छ ।

नेपालमा लाइब्रेरी अटोमेसन गर्न युनेस्कोले सन् १९८६ तयार गरिएको सफ्टवेयर (सिडिएस÷आइएसआइएस) निशुल्क वितरण गरी महत्वपूर्ण भूमिका खेलेको छ । जब सन् ९० को दशकमा कम्प्युटरको व्यापक प्रयोग हुन थाल्यो, बिस्तारै इमेल÷इन्टरनेटको प्रयोग बढ्न सुरु भयो । सन् १९७१ मा जनगणनाको डाटा तालिकीकरण गर्न कम्प्युटरको प्रयोग भएको पाइन्छ । सन् ८० को दशकमा राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना भयो र उक्त केन्द्रलाई सरकारी तथा संस्थागत डाटा प्रशोधनको काम सुम्पियो । एसएलसीको रिजन्ट प्रकाशित गर्न यही केन्द्रको प्रयोग गरिन्थ्यो । सन् १९९१ को जनगणनाको डाटा तालिकीकरण गर्ने, सम्पादन, कोडिङ र प्रशोधन यही केन्द्रमा गरियो । समयसँगै माग बढ्दै जाँदा कम्प्युटरको उपयोगिता पनि बढ्दै गयो । वर्तमान समयमा हरेकको घरदेखि कार्यालय, उद्योगदेखि करखाना, स्कुलदेखि विश्वविद्यालय हरेक क्षेत्रमा कम्प्युटरको प्रयोग भइरहेको छ । यसैगरी पुस्तकालयमा स्वचालीकरण प्रक्रियाको विस्तारै सुरुआत हुँदै गयो र हाल नेपालका थुप्रै पुस्तकालयमा कुनैमा सम्पूर्ण रुपमा त कुनैमा अर्थ स्वचालित रुपमा स्वचालीकरण प्रकियाको विस्तार भइरहेका छन् ।

सन् २००५ तिर नेपालमा पुस्तकालय स्वचालीकरणको सुरुआत भएको देखिन्छ । नेपाल राष्ट्रिय पुस्तकालय, ब्रिटिस परिषद् पुस्तकालय, काठमाडौं विश्वविद्यालय केन्द्रीय पुस्तकालय, अमेरिकी पुस्तकालयमा लाइब्रेरी अटोमेसनको प्रयोग सुरु गरिएको थियो । सन् २००९ तिर आइपुग्दा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पुस्तकालय, मार्टिन चौतारी पुस्तकालय, सोसल साइन्स बहाः पुस्तकालय र पाटन मेडिकल कलेज पुस्तकालयले आफ्नो पुस्तकालयमा स्वचालीकरणको विकास गरेका थिए ।

सन् २०१० तिर राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको पुस्तकालय, सन् २०११ मा नर्सिङ क्याम्पस पुस्तकालय, चिकित्सा अध्ययन संस्थान महाराजगन्ज पुस्तकालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस्तकालयमा स्वचालीकरणको सुरुआत गरियो । त्रिभुवन युनिभर्सिटी अन्तर्गतको पब्लिक क्याम्पसमा बारकोडसहितको पुस्तकालय स्वचालीकरणको सुरुआत गरिएको थियो । अहिले देशमा विद्यमान स्कुल पुस्तकालयदेखि सार्वजनिक, क्लब तथा संस्थाका पुस्तकालयहरु, कलेज तथा युनिभर्सिटीका पुस्तकालय, सामुदायिक पुस्तकालय सबैमा पूर्णरुपमा तथा अर्थ स्वचालित रुपमा पुस्तकालय स्वचालीकृत युक्त अवस्थामा रहेर पाठकलाई सेवा दिइरहेका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा पुस्तक खरिद, वर्गीकरण, सूचीकरण लगायत कार्य पुस्तकालय स्वचालन प्रणालीद्वारा गर्ने गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि पुस्तक लेनदेन गर्न मेसिन रिडेबल कार्ड वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय नेपालको ठूलो स्वचालित पुस्तकालयको रुपमा चिनिने पुस्तकालय हो । देशभरका अर्थ स्वचालिकृत तथा स्वचालीकरण नगरिएका पुस्तकालय पनि स्वचालीकरण उन्मुख छन् ।

स्वचालीकरण कै फलस्वरुप पुस्तकालयमा विभिन्न मोड्युल प्रयोगमा छन् । जस्तै क्याटलग मोड्युल, क्लासिफिकेसन, सर्कुलेसन, सिरियल म्यानेजमेन्ट, व्यक्तिगत सदस्यता, सिस्टम एड्मिनीस्ट्रेसन, ओप्याक मोड्युल लगाएत विभिन्न मोड्युल चलनमा छन् । नेपालका पुस्तकालयहरुमा विनाइसिस, सिडियस आइएसआइएस, एलिस, मिडास सफ्टवेयर, मलोलस, लिबसिस, कोहा, इनसफ्ट लाइब्रेरी म्यानेजमेन्ट लिब्रा, सियोल, सियो, सिटमेटिक, पिएमबी, मैत्रैयी, डेलम्स, डेलसिस, विलसिस, ग्रन्थालय लगायत छन् ।

पुस्तकालय स्वचालीकरणका विभिन्न फाइदा हुन्छन् । जस्तैः द्रूतगतिको सेवा, पाठकको समयको बचत, खर्चको बचत, ठाउँको बचत, लागत कम, पुस्तकालयभित्र धेरै कर्मचारीको आवश्यकता नपर्ने, मानवीय त्रुटि कम हुने, सूचना संकलनकर्तालाई सजिलै भरपर्दो र सुविधा हुने, पुस्तकालय सञ्चालकलाई नयाँ–नयाँ सस्करण प्रकाशित भए नभएको जानकारी तुरुन्त पाइहाल्ने, नयाँ पुस्तक तथा पठ्य सामग्री खोज्दै हिँड्नु नपर्ने । सूचना संकलन गर्न भिन्न ठाउँमा धाइरहनु नपर्ने, २४ सै घण्टा सूचनाको उपलब्ध हुने छन् ।

आवश्यक सूचनाको लेखाजोखा सजिलै गर्न सकिने, सूचनाको खोज गर्न निकै सजिलो हुने, कम समयमा नै सन्दर्भ सामग्री उपलब्ध हुने, संकलन गरिएका सूचनालाई सन्दर्भ र विषय मिलाएर सुरक्षित तवरले सजिलै लामो समयसम्म राख्न मिल्ने, सबैभन्दा महत्वपूर्ण भनेको ठाउँ निकै कम भएता पनि निकै ठूलो संख्यामा सूचना संकलन गर्न सकिने, सूचनाको विश्वसनीयता जाँच्न सकिने जस्ता अनेकौं फाइदा पुस्तकालय स्वचालीकरणद्वारा भइरहेको हुन्छ ।

लाइब्रेरी अटोमेसनकालाई केही पूर्वाधार आवश्यक हुन्छन् । जस्तै कम्प्युटर वा ल्यापटप त भइहाल्यो । लाइब्रेरी डाटाबेस व्यवस्थापन गर्ने सफ्टवेयर चाहिन्छ । बारकोड प्रिन्टर, स्क्यानर र कार्ड रिडेरको आवश्यक पर्छ । इन्टरनेट सुविधा सम्पन्न पनि हुनै प¥यो । ल्यान, वान अथवा वाइफाइको माध्यमबाट पुस्तकालयभित्रका सम्पूर्ण कम्प्युटर, ल्यापटप, आइप्याड, मोबाइल अथवा पढ्न मिल्ने सबै उपकरणमा इन्टरनेट जडान गरिएको हुनुपर्छ । सुरुमा पुस्तकालय स्वचालीकरण गर्दा खर्च भएको जस्तो लागेता पनि कालन्तरमा स्वचालीकरणले धेरै भन्दा धेरै खर्च घटाइदिएको हुन्छ ।

हाम्रो जस्तो विकासोन्मुख देशमा पुस्तकालय स्वचालीकरण गर्ने काम आफैँमा चुनौतीपूर्ण छ । विशेषगरी पूर्वाधारको व्यवस्थापन गर्न निकै नै गाह्रो छ । नेपालका अधिकांश दूरदराजका गाउँमा विद्युत सेवाको पहुँच नै पुगेको छैन । त्यस्ता गाउँमा कम्प्युटर जस्ता प्रविधिको लगेर पो के गर्नु ? फेरि स्वचालीकरणलाई आवश्यक पर्ने मानवीय शक्ति प्राप्त गर्न पनि गाह्रो हुन्छ । एद्यपी विभिन्न चुनौती र समस्या भएतापनि समयको माग अनुसार हाम्रो जस्तो देशका सम्पूर्ण पुस्तकालय स्वचालीकरण गर्न जरुरी देखिन्छ ।

सम्बन्धित खबर