सोमबार, ३० भदौ २०७६
samadhannews
साहित्यका ज्योतिः युवाकवि मोती

साहित्यका ज्योतिः युवाकवि मोती

शुक्रबार, १३ भदौ २०७६
1000 पटक पढिएको

सूर्य खड्का बिखर्ची

वर्तमान नेपाली साहित्यको अध्ययन गर्दा मेरो मन ज्यादै कुँडिन थालेको छ । झन् केही स्वयम् घोषित युवाकविको लेखनशैली हेर्दा वाक्कदिक्क लागेर आउँछ । उनीहरूले घिउमा पिँडालु र दुधमा पानी मिसाएझैँ नेपाली भाषामा पर्याप्त शब्द हुँदाहुँदै विदेशी भाषाका शब्द जस्तै आमाबाबुलाई मम्मीड्याडी, विद्यार्थीलाई स्टुडेन्ट, पहिलोलाई फस्ट, गृहकार्यलाई होमवर्क, मिठाईलाई चक्लेट, समयलाई टाइम, जन्मदिनलाई वर्थडे, शौचालयलाई ट्वाइलेट आदि प्रयोग गरेको पाइन्छ । प्रयोगको आधारमा आगन्तुक शब्दलाई भित्र्याउन पाइए अलि सौम्य तरिकाले प्रयोग नगरी विदेशी भाषाका अनावश्यक शब्दलाई घुसाएर आफूलाई महान् साहित्यकार ठानेको देख्दा ज्यादै दुःख लाग्छ । तर महान् साहित्यकार बन्न त्यति सजिलो छैन । किनभने आमाले पकाएर दिएको दूधभात खाए जस्तो साहित्य लेखन कदापि होइन ।

यो प्रसङ्गमा म ३० वर्षकै कलिलो उमेरमा नेपाली साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने युवाकवि मोतीराम भट्टलाई सम्झन्छु र म आफैँलाई समेत ६३ वर्ष पुग्दासम्म देशका लागि केही गर्न सकिनँ कि भन्ने चिन्ता बोध हुन्छ । वास्तवमा भट्टले कलिलै उमेरमा नेपाली साहित्य क्षेत्रमा जुन योगदान पुर्‍याएका छन्, वर्तमानका युवा वर्गले त्यसको अनुकरण गर्ने हो भने साँच्चै नेपाली साहित्य विश्वसाहित्यको हाराहारी पुगी नोबेल पुरस्कारका लागि प्रतिस्पर्धी हुन सक्ने थियो भन्न सकिन्छ । यस आलेखमा उनै भट्टको सङ्क्षिप्त परिचय दिने जमर्काे गरिएको छ ।

युवाकवि मोतीराम भट्टको जन्म वि.सं. १९२३ भदौ २५ गते कुशेँऔसीका दिन पिता दयाराम आमा रिपुमर्दिनी देवीको सन्तानका रुपमा काठमाडौँको भोसिटोलमा भएको थियो । उनी नेपाली साहित्यको माध्यमिक कालका साहित्यका ज्योति हुन् । ६ वर्षको उमेरमा नै उनी आमासँग काशीको बनारसमा गएपछि भट्टले पढ्ने अवसर पाए । उनी आठ वर्ष पुग्दा काशीमा नै उनको व्रतबन्ध भएको थियो । उपनयन संस्कारपछि उनी उतै बसेर संस्कृत र फारसी भाषा पढ्न थाले । १९३७ सालमा उनी काठमाडौँमा फर्के । काठमाडौं फर्किएपछि उनी पत्नीसहित काशीको बनारसमा नै गए । त्यहीँ बसेर उनले अङ्ग्रेजी शिक्षा पढ्न थाले । मसिनो र सुरिलो स्वर भएका मोतीरामले बनारसमा बस्दा गितार बजाउन थाले । त्यहीँ बसेर गीत गाउन पनि सिक्न थाले । त्यसको सात–आठ वर्षपछि उनी काठमाडाँै फर्किएर त्यहीँ बसी पढ्न थाले ।

कवि मोतीराम भट्टले अध्ययन गरेको विद्यालयमा काशीको हरिश्चन्द्र स्कुल र काठमाडौँ दरबार हाइस्कुल त्यतिबेलाका नाम चलेका स्कुल हुन् । शिक्षामा तत्कालीन एफ.ए. हालको प्रमाणपत्र तहसम्मको अध्ययन गरेका युवाकवि मोतीराम भट्टले नेपाली भाषाबाहेक संस्कृत, अङ्गे्रजी र फारसी पढेका थिए । उर्दू, हिन्दी, बङ्गाली र नेवारी भाषामा समेत उनी निपूर्ण थिए । किशोर अवस्थादेखि नै साहित्यमा रूचि राख्ने युवाकवि मोतीलाई नेपाली साहित्यको मोती नै मानिन्छ ।

उनै कवि मोतीराम भट्टले नेपाली साहित्यमा भक्तिधारालाई बिदा दिएर श्रृङ्गारिक धारालाई आमन्त्रण, प्रवर्तन र प्रवद्र्धन गर्ने काम गरे । उनका गद्य तथा पद्य विधा गरेर तीन दर्जन प्रकाशित कृति र आधा दर्जन बढी अप्रकाशित साहित्यिक कृति छन् । भट्टको कृतिमध्ये केही उनको जीवनकालमा र केही जीवनकालपछि पनि प्रकाशित भएका छन् । जसमा पञ्चक प्रपञ्च (कवितासङ्ग्रह–१९४५), पिकदूत (खण्डकाव्य–१९४५), प्रल्हाद भक्तिकथा (खण्डकाव्य–१९४८), गजेन्द्रमोक्ष (खण्डकाव्य–१९४८), उषाचरित्र (खण्डकाव्य–१९५५), मनोद्वेग प्रवाह (कविता सङ्ग्रह–१९५७), मोतीराम भट्टका गजल (गजल सङ्ग्रह–२०३८), मोती ग्रन्थावली (२०४५), प्रियदर्शिका नाटिका, भानुभक्त आचार्यको जीवन चरित्र रहेका छन् । उनका सबै कृति उत्तिकै लोकप्रिय छन् ।

कवि मोतीराम ज्यादै सरल, शान्त र सहृदयी प्रवृत्तिका थिए । उनले १९४८ सालमा सबभन्दा पहिले भानुभक्तलाई आदिकवि भनेर सम्बोधन गरेका थिए । उतिबेला नै उनको गद्य लेखन ज्यादै राम्रो, परिष्कृत र उच्चस्तरीय थियो भन्न सकिन्छ । जसको एउटा उदाहरण–“गोर्खा भाषामा हुन त धेरै नामका कवि, भानुभक्तभन्दा पहिला भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविमा आदिकवि भानुभक्त नै हुन् ।” यसरी मोतीराम भट्टले सर्वप्रथम भानुभक्तको जीवनी लेखेर अन्धकारमा लुकेका भानुलाई सारा नेपाली जनसमक्ष उज्यालोमा ल्याएका थिए । हुन त युवाकवि मोतीराम भट्टले भक्तिधारामा पनि कविता लेखेको पाइन्छ , जस्तै–
“यता हेर्‍यो यतै मेरो नजरमा राम प्यारा छन् ।
उता हेर्‍यो उतै मेरा नजरमा राम प्यारा छन् ।।”

तैपनि पछि यिनले नेपाली साहित्यमा श्रृङ्गारिक धारालाई नै आत्मसात् गरी युग नै परिवर्तन गरेका थिए । हिन्दी साहित्यकार हरिश्चन्द्रको प्रेरणाबाट मोतीराम भट्टको पद्य लेखन अझ सुन्दर र निख्खर बनेको पाइन्छ । त्यसको प्रमाणका लागि उनका केही कविता यहाँ प्रस्तुत गरिन्छ–
“अचल् झन्डा फर्काेस् फरफर गरी कान्तिपुरीमा ।
रिपूको मन थर्काेस् थरथर गरी छिन घडीमा ।।
यवन्ले राज् गर्दा कति पतित हिन्दूस्थल भयो ।
फगत् यो नेपाल्को मुलुक बीच कञ्चन् रहि गयो ।।”
प्रस्तुत कवितामा मातृभूमिप्रतिको मोहलाई स्पष्ट पारिएको छ ।

नेपाली काव्य जगत्मा मोतीराम भट्टले सर्वप्रथम नेपाली साहित्यमा गजल र समस्या पूर्ति जस्ता नौला काव्य विधाको प्रवेश गराएको पाइन्छ । शृङ्गार रसमा यिनले लेखेको एक टुक्रा गजलको नमूना यसमा उद्धृत गरिन्छ–
“दुई आँखिभौँ तयार छन्, तरबार पो किन चाहियो ।
तिमी आफू मालिक भै गयौ, सरकार पो किन चाहियो ।।”

युवाकवि मोतीराम भट्टका कवितामा नारी सौन्दर्यको मात्र होइन, प्राकृतिक सौन्दर्यको वर्णन पनि ज्यादै राम्रो पाइन्छ, जस्तै–
“घनो क्वै एक जङ्गल रूख–रूख चढ्याका ति लहरा ।
नजर्गर्दा अल्गा गढिसरि खडा जो छ पहरा ।।
झरक् झर्झर्झर्झर्झरझर गरी झर्छ छहरा ।
चुटुक्का भूचुक्का गरी झुलिझुली बोल्दछ चरा ।।”
यसका साथै उनका कवितामा समाज सुधारको सन्देश पनि पाइन्छ, जस्तै ः–
“गाली गर्नुहोस् बरु म सहुँला, अपशोच् नमानी रति ।
जुन् जूवाकन खोलि श्रेय नहुन्या, क्या खेल्नु घुडाँ घसी ।।”

यसरी युवाकवि मोतीराम भट्टले गीत, गजल र कविता लेखे । नाट्यकृति पनि लेखे । साथै नेपाली साहित्यमा सर्वप्रथम समीक्षाको श्रीगणेश पनि गरे । उनले नै आफ्ना पालामा सर्वप्रथम मोतीकृष्ण पुस्तकालयको स्थापना गरेका थिए । यसका साथै पाशुपत् छापाखाना खोले र नेपाली भाषाको पहिलो गोरखा भारत जीवन नामक पत्रिका निकाले ।

यस्ता नेपाली भाषा–साहित्यका साधक युवाकवि मोतीराम भट्टको निधन काठमाडौँमा १९५३ सालमा अर्थात् उनी जुन दिन जन्मिएका थिए ठीक त्यहीँ भदौ कुशेऔँसीका दिन ३० वर्षको अल्पायुमै काठमाडौँमा भयो । आफूले संसार छाड्ने बेलामा उनले आफ्नी ममतामयी आमालाई भनेका थिए रे “मेरा सन्तान भएनन् भन्ने हजुरलाई ठूलो अपशोच थियो । यसमा पनि गजेन्द्रमोक्ष, प्रल्हादभक्ति आदि गरिएका मदेखि पैदा भएका जति ग्रन्थ छन् ती नै मेरा अमर सन्तान हुन् । …. तिनीहरू ता कल्पान्तजीवी हुन् । …मैले पढेका जति किताब छन्, तिनबाट कसैको उपकार हुन्छ भने उपकारै गरी बक्सिएला, …कुनै लाइबे्ररीमा राखी दिने बन्दोबस्त हुन सक्दछ भने त्यसै गरिदिएपनि हुन्छ, …जसबाट मैले अनेक ज्ञान पाएँ, तिनलाई बिक्री गरी खानु तिनको बेइज्जती गर्नु हो ।” यसका साथै उनले आमालाई आफ्ना कृति दिँदै भनेका थिए रे “पर्छे यी कविता शरण् सकलका पालन् गरून् प्रीतिले ।”

हाम्रो भाषाको मूल फुटाउन र हाम्रो राष्ट्र एवं हाम्रो संस्कृतिलाई माथि उठाउन सघाउ पुर्‍याएकाले युवाकवि मोतीराम भट्ट हाम्रा राष्ट्रिय विभूति हुन् । आज उनी भौतिक रूपमा हामी माझ नभए पनि, उनी आफ्ना कृतिले गर्दा बाँचिरहने छन्, नेपाल र नेपालीले उनलाई कहिल्यै बिर्सने छैनन् ।

नेपाली भाषा साहित्यलाई युवाकवि मोतीराम भट्टले धनी बनाएर गए । उनलाई बिर्सनु भनेको हामी कृतघ्न बन्नु हो । त्यसैले हामी उनीप्रति कृतघ्न नबनौँ, बरु कृतज्ञ बनौँ । वर्षको एकपटक जयन्ती मनाएर झारा टार्ने काम नगरौँ, सधैँभरि उनीप्रति हार्दिकताका साथ उनको योगदानको कदर गर्दै सम्मान गरौँ । जबसम्म आकाशमा सूर्य र तारा रहन्छन्, र नेपाल रहन्छ तबसम्म उनलाई सम्झिराखौँ ।

सम्बन्धित खबर