सोमबार, ३० भदौ २०७६
samadhannews
विक्रमले सम्झिए अरुण थापा

विक्रमले सम्झिए अरुण थापा

आइतबार, १५ भदौ २०७६
1030 पटक पढिएको

विकास रोकामगर
पोखरा

‘गायक अरुण थापालाई अरुण थापा बनाउने मान्छे नै विक्रम गुरुङ हो,’ साहित्यकार सरुभक्तले भन्दै थिए, ‘भन्दा धेरै गुणगान गाको जस्तो हुन्छ होला । तर, ऊ प्रतिभा भएकै व्यक्ति हो । अहिले बाहिर गएर मेरो यत्रो गुणगान किन गाइस् भन्ला !’

सरुभक्त रोकिएनन् । ‘मलाई लाग्छ संसारमा २ प्रकृतिका मान्छे हुन्छन् । एउटा कम काम गर्छ र बढी प्रशंसाको भोको हुन्छ । अनि अर्को हुन्छ ‘काम गर्ने तर प्रशंसादेखि टाढा बस्ने,’ अघि भन्दै गए, ‘मलाई विक्रम दोस्रो प्रकृतिको मान्छे लाग्छ ।’

विक्रम गुरुङ अर्थात गीतकार, संगीतकार अनि गायक पनि । पछिल्लो पुस्ता प्राय यो नामसँग परिचित छैनन् । तर, एक समय उनले लेखेका र भरेका संगीतले संगीतिक बजार तताएको थियो भन्दा फरक नपर्ला । कुनैकुनै रिमेक भएर बजारमा आएका छन् त कुनै पुरानै धुनमा बजिरहन्छन् ।

गीतकार विक्रम गुरुङलाई नचिने पनि गायक अरुण थापाको नाम भने नेपाली पुराना आधुनिक गीत मन पराउने स्रोताका लागि नौलो होइन । ‘भूँलूँ लाग्यो मलाई’, आँखाको निद चोरी’ लाने लगायत गीतका गायक हुन् थापा । तर, धेरैलाई नहुन सक्छ यी गीत लेख्ने गीतकार हुन्, विक्रम गुरुङ । जो चर्चाबाहिर छन् ।

साहित्यकार सरुभक्त र गुरुङ मिल्ने साथी हुन् । उनीहरुबीच मित्रता गाँसिएकोमात्रै ५२ वर्ष भइसकेको छ । गुरुङ सरुभक्तलाई सरुभक्त होइन ‘भक्त’ मात्रै भन्न रुचाउँछन् । उनीहरुबीच मित्रता गाँसिदा भक्तबहादुर श्रेष्ठ ‘सरुभक्त’ भइसकेका थिएनन् । ‘विक्रम र मेरो भेट आदर्श आवासीय स्कुलको कक्षा ६ मा भएको थियो,’ सरुभक्तले सुनाए, ‘त्यसबेलादेखि युनिभर्सिटीसम्मको यात्रा सँगै ग¥यौं ।’ आदर्श अर्थात अहिलेको गण्डकी बोर्डिङ स्कुल ।

सरुभक्त र विक्रम स्कुले जीवनमा आफूपछि कुन क्षेत्रमा लाग्ने भन्ने निक्र्यौल गरिसकेका थिएनन् । तर, जब क्याम्पस आए त्यसपछि भने आफू हिँड्ने बाटो भेट्टाए । सरुभक्त साहित्यमा लागे विक्रम संगीतमा । सरुभक्त भन्छन्, ‘विक्रम मेरो पहिलो नाटकको पहिलो कलाकार पनि हो ।’

शनिबार पोखरा थियटरले तिनै गीतकार विक्रम गुरुङको जीवन गाथा सुन्ने बन्दोबस्त मिलायो, कार्यक्रम ‘जीवन वृत्तान्त’ मार्फत । उमेरको १ किनारमा उभिएर उनले सम्झिए, ‘बालापन, स्कुले जीवन, साथीसंगी, गुरु गुरुआमा, कला, संगीत, भारतदेखि पोखरा र पोखरादेखि हङकङसम्मको यात्रा…’

स्टेजमा उक्लिएर सबैभन्दा पहिले गुरुङले पर्दामा फेवातालको तस्बिर देखाए र भने, ‘यहीं किनाराबाट टाढाको एउटा पहाड देख्न सक्नुहुन्छ । हो, त्यही हो मेरो गाउँ ।’ उनको गाउँ अर्थात अहिलेको पोखरा २३ भदौरे तामागी । त्यसपछि उनले एउटा पुरानो घर देखाए र भने, ‘यही हो मेरो घर । तर, अहिले त्यो घर छैन । फेरि बनाउँछु भनेको सकिएन ।’

विक्रमका हजुरबा र बा दुवै भारतीय सेनामा जागिरे । बाको जागिरका सिलसिलामा उनको बालापन भारतको देहरादुनमै बित्यो । त्यहाँ उनले क्याम्ब्रिन हल स्कुलमा अध्ययन गर्ने मौका पाए । ‘भारतमै मैले नेपाली, अंग्रेजी र हिन्दी भाषा एकैचोटि जान्ने मौका पाएँ,’ उनले बालापन सम्झिए, ‘धेरै भाषा एकैचोटि सिक्दा पनि कुनै समस्या नहुँदो रहेछ ।’

क्याम्ब्रिन हलमा पढाइ ठीकै (उनकै भाषामा) र खेलकुद राम्रै हुँदै थियो । तर, त्यहीबेला बाको जागिरे जीवन सकियो । जागिर सकिएपछि उनीहरु नेपाल फिर्ता आउनुपर्‍यो । त्यतिबेला उनले कक्षा ५ पास गरिसकेका थिए । २०२३ तिरको कुरा हो, पोखरामा बाटो खुलिसकेको थिएन । जहाज चढेर पोखरा आए र पोखरामै बास बसेर अर्को दिनमात्रै फेवाताल पारि रहेको आफ्नो गाउँ पुगे ।

भारतमा राम्रो मानिने स्कुलमा पढेका विक्रमका बाले पोखरामा पनि राम्रै बोर्डिङ स्कुलमा भर्ना गर्ने सोच बनाएछन् । तर, त्यति बेला बोडिङ स्कुलको नाममा एउटा थियो, आदर्श आवासीय स्कुल । बासँगै हिँडेर पोखरा लामाचौरमा रहेको त्यो स्कुलमा पुगे । शिक्षक गोरो वर्णका थिए अर्थात विदेशी नागरिक ।

भारतमा अंग्रेजी माध्यम पढेका विक्रमलाई अलिअलि बोल्न आउँथ्यो । मास्टरको गोरो छाला देखेर बाले पनि तैं आफैं कुरा गर् भनेछन् । त्यसपछि उनी आफैं अघि सरेर अंग्रेजीबाट म यहाँ भर्ना हुन आएको भनेछन् । तर अचम्म ! अंग्रेजीबाट प्रश्न सोधेका सरले प्रष्ट नेपालीमै उत्तर दिएछन् । ‘पहिलो पटक कोही गोरे नेपाली बोलेको सुनें । कस्तो अचम्म लाग्यो,’ उनले सम्झिए, ‘पछि थाहा भो ती सर त कोलिन स्मिथ रैछन् ।’ (स्मिथ अहिले पुतली बाजेका नामले परिचित छन् ।)

कक्षा ६ मा भर्ना भए, त्यही कक्षामा पहिलो पटक भेटेका हुन् उनले साथी भक्तबहादुर श्रेष्ठलाई । अर्थात साहित्यकार सरुभक्तलाई । त्यही भेट नै उनीहरुबीच गहिरो अटुट मित्रता गाँस्ने माध्यम बन्यो । ‘त्यसपछि हामीले युनिभर्सिटीसम्म सँगै पढ्यौं । एउटै कोठा, एउटै ओछ्यान र एउटै भान्सा प्रयोग गर्‍यौं । अहिले पनि हामी एकदमै नजिकका साथी हौं,’ विक्रमबारे प्रकाश पार्न स्टेजमा उक्लिएका सरुभक्तले सम्झिए ।

अरुण थापासँगको त्यो भेट
बिएस्सी पढ्न काठमाडौं गएका विक्रमलाई त्यहाँको वातावरणले स्वीकारेन । गएको १ महिनामै फर्किए । पोखरा फर्किएको ६ महिनापछि १ दिन अचानक कसैले एउटा मीठो गीत गाइरहेको सुने, ‘हम दोनो दो प्रेमी….’

गीत मिठो थियो । कसले गाउँदैछ ? विक्रमलाई चिन्न उत्सुकता जागेछ । तर जब नजिक पुगे गीत बन्द भयो । ‘म नजिक पुग्दा किन गीत गाउन छोडेको होला भनेको त गाउनेले गीतको दोस्रो स्टान्जा नै बिर्सेको रहेछ,’ उनले सम्झिए । चोकमा उभिएर सुमधुर हिन्दी गीत गाउने अरुण थापा थिए । त्यही नै उनले पहिलो पटक अरुणलाई भेटेका थिए ।

अम्बर गुरुङसँग नजिक भए पनि विक्रममा संगीतको भोक जागेको थियो । त्यही भोकले पोखरेली सांस्कृतिक परिवार खोल्न मद्दत गर्‍यो । त्यही भोकले पाखराकै पहिलो ब्यान्ड अन्नपूर्ण ब्यान्ड खोल्न सघाउ पुग्यो । पछिका दिनमा पनि संगीतमा रुचि भएकै कारण अरुण र उनको भेट भइरहन्थ्यो । तर, दुवैको आफ्नै सिर्जना भने रेकर्ड भइसकेको थिएन ।

‘अरुण प्राय हिन्दी गीत गाउँथ्यो । जहिल्यै अरुको गाउने । आफ्नो गाऊ भन्नेबेला केही छैन । अरुले गीत गाउन रियाज गर्नुपथ्र्यो । तर, उसले गायकको भन्दा राम्रो गाउन सक्थ्यो,’ विक्रमले भने, ‘उसो त म पनि गीत लेख्थें, संगीत भर्थें । मेरो पनि रेकर्ड थिएन । उसको र मेरो भेट भएको धेरैपछि मात्रै मेरा गीत गाउन थालेको हो ।’

गीत संगीतमा जमिरहेकै बेला विक्रम हङकङको एउटा स्कुलमा शिक्षक भएर उडे । त्यहाँ उनले जीवनको लामो समय बिताए । हङकङमा अवकाश लिइसकेपछि नेपाल फर्र्किएका उनले केही समयअघि काठमाडौंमा प्लेंटीमा एकल प्रस्तुति दिइसकेका छन् । अहिले उनी भदौ २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुन लागेको तेस्रो एकल प्रस्तुतिको तयारीमा जुटेका छन् ।

जीवन वृत्तान्तमा यस अघि शिक्षाविद् जोर्ज जोन र कार्टुनिस्ट दुर्गा बरालले आफ्ना जीवन कथा सुनाइसकेका छन् । कार्यक्रमका परिकल्पनाकार तथा साहित्यकार तीर्थ श्रेष्ठले प्रत्येक महिना पोखरासँग सम्बन्धित व्यक्तित्वको कथा उनीहरुबाटै सुनाइने बताए । उनले भने, ‘हामीसँग आआफ्ना संघर्षका कथा छन् । तर ती डकुमेन्टेसनका रुपमा छैनन् । जीवन वृत्तान्तमा सुनिएका कथा हामीले कृतिका रुपमा प्रकाशन गर्ने योजना बनाएका छौं ।’

सम्बन्धित खबर