सोमबार, ३० भदौ २०७६
samadhannews
को पत्रकार ?

को पत्रकार ?

बिहिबार, १९ भदौ २०७६
6960 पटक पढिएको

रिना थापा(तानी)

‘त्यो कन्टेन्टले डलरै झरेन यार । अब अर्को भिडियो खोज्नुपर्छ,’ अचानक कानमा २ जना गफिइरहेको सुनें । त्यो प्रायः मिडियाकर्मीको बाक्लै जमघट हुने चिया पसल थियो । संयोगले म पनि त्यहाँ पुगेकी थिएँ । यस्सो चियाएँ । डलर झार्ने कन्टेन्ट खोजिरहेका चिने जानेकै दाजु रहेछन् । उनको त्यो डलर झार्ने कन्टेन्ट के होला ? सोधिनँ ।

केही दिनअघि एक जना दाइले मलाई रिपोर्टिङको इस्यु दिँदै थिए । भन्दै थिए, ‘भिडिओ हामीसँग छ । त्यो प्रयोग गर । रिपोर्टिङका लागि राम्रो हुन्छ । ती प्रोग्राममा गएर केही हुँदैन । विषय भनेको खोज्नुपर्छ ।’

त्यसपछि ती दाइको युट्युब च्यानल नियालें । युट्युबलाई पत्रकारिता नमाने पनि उनको च्यानलले थुप्रै विषय उठान गरेको थियो । जुन सामान्यभन्दा सामान्य मान्छेका जीवनसँग जोडिएका छन् । उनका भिडियोले मिडियाकै ‘इथिक्स’ पूरा गरेका थिए ।

त्यसपछि लाग्यो, युट्युब पत्रकारिता राम्रो पनि रहेछ । नराम्रो पनि रहेछ । बिगार्ने र सपार्ने हामीमै भर पर्दो रहेछ । म मिडिया क्षेत्रमा लागेको धेरै भएको छैन । यसको अर्थ मैले सिक्नुपर्ने त थुप्रैथुप्रै कुरा छन् ।

अहिले सामाजिक सञ्जालको प्रयोग अत्याधिक छ । सूचना छिटोछरिटो सबैमा पु¥याउने माध्यमनै हातका फेसबुक, युट्युब, ट्विटर बनेका छन् । हुन सक्छ निकट भविष्यमै सामाजिक सञ्जाल साँच्चिकैल सूचनाको एउटा भरपर्दो माध्यम बन्न सक्ला । तर, कसरी ? त्यो हामीमै भर पर्ने कुरा हो ।

केही समयअघि न्युरोडको एउटा पसलमा आगलागी भएको थियो । बेलुका युट्युब हेर्दा शीर्षक हेरेर जिब्रै टोक्नु पर्ने अवस्था थियो । ‘न्युरोड जल्यो, पोखरा जल्यो’ यिनै र यस्तै शीषकले युट्युब भरिएका थिए । कमेन्ट बक्स नियाँल्दै जाँदा अधिकांशले पत्रकारलाई गाली दिएका रहेछन् ।

कोही पत्रकारलाई पत्रुकार भन्न उद्यत थिए त कोही समग्र पत्रकारिताकै बारे नकारात्मक विचार पोस्ट गरिरहेका थिए । त्यसबेला मैले सोचें, नक्कली अनलाइन र युट्युब च्यानलले अपवाह फैलाउँदै हिट भइरहेका छन् । तर, गाली खाइरहेछन् इमान्दार पत्रकार । जो यो गलत व्यवस्थाप्रति आवाज उठाइरहेका छन् ।

अनाधिकृत खुलेका ब्रगेल्ती अनलाइन र युट्युब च्यानलले भ्रम फिँजाइरहेका छन् । तर, त्यसमा आम नागरिकको पनि दोष छ भन्ने मेरो ठम्याइँ छ । अधिकार बाहिर गएर चिच्याउने र चियाउने व्यक्तिलाई उनीहरु आफैं पत्रकार भनिरहेका छन् र दोषचाहिँ सारा मिडिया जगतलाई दिइरहेका छन् ।

एक जना दाइ भन्नुहुन्छ, ‘बौद्धिक मान्छे बौद्धिक खुराकको खोजमा हुन्छ । उसले बौद्धिक मिडिया नियाल्छ । निम्नस्तरका मान्छे निम्नस्तरकै मिडिया चहार्छन् र राम्रा मिडियालाई गाली गरेर बस्छन् ।’ उहाँको यो भनाइप्रति म पनि सहमत छु ।

दैनिक रुपमा निस्कने पत्रिका पोखरामा छ्याप्छ्याप्ती छन् । मान्छेहरु त्यस मिडियाले कुन विषय र मुद्दा उठाएको छ भन्नेमा ध्यान दिँदैनन् । तर समाजका कथित बौद्धिक भन्नेहरु नै भ्रामक समाचार सम्प्रेषण गर्ने अनलाइन र युट्युबका लिंक सेयर गर्दै बसिरहेका छन् । यसको जिम्मेवार उनीहरुले पनि लिनु पर्छ कि पर्दैन ?

आजभोली त सामाजिक सञ्जाललै पुग्दैन व्यक्तिलाई । एक व्यक्ति एक अनलाइन पोर्टल । त्यो पनि सम्भव नभए युट्युब च्यानल त पक्का । प्रेस काउन्सिलमा दर्ता भएर आधिकारिक रुपमा चलेका मिडियाबाट समाचार संकलन गर्न हिँड्यो भने सरकारी कार्यालयका कर्मचारी नै सोध्छन्, ‘यस्तो नामको मिडिया पनि छ र ?’ यो धेरै डरलाग्दो समय हो ।

मैले यसो भनिरहँदा सम्पूर्ण मिडिया जगत दूधले नुहाएको हुन्छ भन्ने पनि होइन । १÷२ त्यस्ता व्यक्तिले गर्दा सम्पूर्ण मिडिया र मिडियाकर्मी नै गलत छन् भन्ने भ्रममात्र हो । युट्युब च्यानलतिर बौद्धिक विचार विमर्श र अन्र्तक्रियाका भिडियो पनि हुन्छन् । तर त्यसमा अत्यन्तै थोरै दर्शक हुन्छन् । यसको जिम्मेवारी दर्शक आफैंले उठाउनुपर्छ ।

सबै युट्युब च्यानल गलत छन् भन्ने अर्थ पनि नलागोस् । केही राम्रा युट्युबर पनि छन् जो सही र तथ्यगत सूचना पस्किरहेका हुन्छन् । तर, ती औंलामा गन्न सकिने छन् । भ्रामक समाचार र विषय वस्तु हिट भइरहनुमा दर्शक, पाठक र स्रोताको पनि कमजोरी छ । तर त्यसलाई नियमन गर्न सम्बन्धित निकाय नै जागरुक हुनुपर्छ भन्ने मलाई लाग्छ ।आम व्यक्तिमा पत्रकारिता गलत होइन भन्ने दृष्टिकोण बनाइराख्न पनि उनीहरु नै लाग्नुपर्छ ।

यही लेख लेख्दै गर्दा पनि एकजना साथीले म्यासेज गरेको थियो, ‘पत्रकारिता मन पर्छ । तर, पत्रकार किन हो मनै पर्दैनन् ।’ उसको म्यासेज पढेर बुझ्न केही समय पनि लागेन । ऊ भ्रामक समाचार र भिडियोको शिकार भइरहेको छ ।

आज युट्युब च्यानल खोलेर भ्रामक र अतिरञ्जित समाचार दिने व्यक्ति तुरुन्तै पत्रकारको ट्याग पाउँछन् । तर यो क्षेत्रमा लामो समय सेवा गरिसकेको इमान्दार पत्रकार कहीं गुमनाम छन् । जो घामपानी नभनी रिपोर्टिङ हिँडे उनीहरुनै समाजको नजरमा पत्रुकार कहलिएका छन् ।

विद्वान र बुद्धिजिवीकै नजरमा इमान्दार पत्रकारभन्दा सस्ता अनलाइन र युट्युबर पत्रकारका रुपमा उभिन थालेपछि हामीजस्ता पत्रकारितामा केही गरौं भनेर लागेकाले के गर्ने ? के हाम्रो भविष्य साँच्चै नै अन्योल छ भन्ने विचार पैदा हुन्छ । अनुज पुस्ता कुनलाई पत्रकारिता मान्ने र कुनलाई नमान्ने यही दुविधामै अड्किरहने हो त ? सोचनीय कुरा छ ।

मेरै आमा पनि त्यति धेरै पढे लेखेको हुनुहुन्न । उहाँ पनि फेसबुकमा आउने ‘कन्टेन्ट’लाई नै विश्वास गर्नुहुन्छ । उहाँको सूचनाको स्रोत नै सामाजिक सञ्जाल हो । मलाई लाग्छ यो समस्या मेरी आमाको मात्रै होइन ।

अब आधिकारिक सूचना प्रदान गर्ने मिडिया छनोट गर्ने जिम्मा कसको ? भ्रामक र अतिरञ्जित समाचार गलत हो भन्ने छुट्याउने जिम्मा कसको ? यो प्रश्न मलाई पनि हो र ती पाठक, दर्शकलाई पनि हो । दर्ता नभइ गलत सूचना प्रदान गर्ने अनलाइन नियमन कहिले हुन्छ ? अनि पत्रकारिता क्षेत्रमा सही सूचना प्रदान गर्न होमिएका हामीले पत्रुकारको बिल्ला भिर्ने कहिलेसम्म ?

सम्बन्धित खबर